लेखक तथा थुलुङभाषाविद् हेमन्तकला राई थुलुङ राईको सम्झनामा छापिएको ‘हेमन्तकला थुलुङ’ स्मृति ग्रन्थको लोकार्पण भएको छ। किरात राई यायोक्खाको सुम्निमा हल कोटेश्वरमा बम थुलुङ स्मृति फाउन्डेसनको आयोजनामा कोभिड महामारीको कारण निधन भएकी थुलुङ राईको वार्षिक पुण्य तिथिको अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्राडा ध्यानेन्द्र राईले स्मृति ग्रन्थको लोकार्पण गरेका हुन् । कोभिडको कारण अल्पायुमै मृत्युवरण गरेकी थुलुङ राईका श्रीमानका साथमा ५ बर्से छोरा छन् ।

समालोचक डा. धनप्रसाद सुवेदी ‘श्रमिक’ ले स्मृति गन्थ्र हाम्रो पुस्ताले कोभिड महामारीको कारण खेपेको पीडाको इतिहास भएको बताए। पुस्तकमा कोभिड महामारीको तीव्र पीडा छ । पुस्तकले महामारीको कारण आफन्त गुमाएको सबैलाई सम्झना दिलाउँछ । पुस्तक वेदनाको सुन्दर भण्डार मात्रै होइन चाडपर्व,अर्मपर्म, उकालीओरालीको प्रसंगमा सोलुखम्बू, खोटाङ, भोजपुर जस्ता ठाउँ आएकाले स्मृति गन्थ्र आञ्चलिक उपन्यासजस्तै बनेको छ। समालोचक तथा कवि पुरण राईले निश्चित सीमामा रहेर पुस्तक सम्पादन गरेको बताए। हामीले निश्चित सीमामा रहेर पुस्तक सम्पादन गर्यौ।
सम्पादनको क्रममा कोभिडले आफन्त गुमाउनेहरू सम्झेर म पटकपटक स्तब्ध भएको छु। राईले छोडेर जानेहरू शब्द र सम्झना बाँचिरहने प्रसंग औल्याउँदै ‘मुन्धुमले देखाएको बाटो’ कविता सुनाएका थिए। प्राडा नारायणप्रसाद गड्तौलाले हेमन्तकलाले थोरै समयमा धेरै काम गरेको बताए। थोरै समयमा हेमन्तकलाले भाषा,कला र साहित्य क्षेत्रमा धेरै काम गरेकी रहेछिन् । उनी जुझार र सक्रिय प्रतिभा रहेछिन्। उनी उल्लेखीय कामको माध्यमबाट बाँचेकी छिन्। दिदी पूजा थुलुङले बहिनी हेमन्तले जीवन साथीको रूपमा भूमिका निर्वाह गरेकी बताइन् । उनले जस्तोसुकै असहज अवस्थामा जीवन साथीको भूमिका निर्वाह गरिन् । उनले भावुक हुँदै भनिन्, ‘मैले हेमन्तकलाको सल्लाहसुझावबिना केही गरिनँ । तर, उनको सुझावबिनै उनको स्मृति गन्थ्र लाउनुपर्दा अत्यन्तै दुखित छु ।
कोभिड महामारीले धेरैको जीवनलाई तहसनहस बनाएको छ । भोग्नेलाई मात्रै पीडा थाहा हुने रहेछ । बम थुलुङ स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा आङबाबु थुलुङ, केशव थुलुङ, खुक्सङ खम्बु, जसिहव थुलुङ, पाँचवीर थुलुङ, निर्कुधन राई, लालकुमार राई र साहस राईले शोक मन्तव्य दिएका थिए। फाउन्डेसका अध्यक्ष बम किरातको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डा. सुकराज राईले गरेका थिए। पाँचवीर थुलुङ र घना थुलुङले (पुज्जा) छापेको पुस्तकको सम्पादन डा. सुकराज राई, खुक्सुङ खम्बु र पुरण राईले गरेका हुन् । कृतिमा संस्मरण, हस्तलिखित दस्तावेज, उनका तस्वीर र विभिन्न लेखका गीत, गजल र कविता रहेका छन् ।