हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर, २६ मङ्सिरः हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । आज बाराको सिमराबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेशको ०३–०३१ प ६९९० नं को मोटर साइकलसहित दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवैध लागुऔषधको कारोबारमा संकलन रहेको अभियोगमा पर्साको वीरगञ्ज महानगरपालिका–३१ निवासी २१ वर्षीय शिव पासवान र सोही स्थानका २३ वर्षीय निरज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजुप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

“निजहरूले जुत्ताको भित्रपट्टी राखी ल्याएको अवैध खैरोहिरोइन १६० मिलीग्रामसहित पक्राउ गरी अनुसन्धान थालिएको छ”, उहाँले भन्नुभयो । निजहरूले सवारीका रूपमा प्रयोग गरेका मधेश प्रदेशको ०३–०३१ प ६९९० नं को मोटरसाइकललाई पनि रातोमाटे प्रहरीले नियन्त्रणमा लिएको प्रहरी कक्षले जनाएको छ ।

यसैगरी लागुऔषध खैरो हिरोइनको कारोबार गर्न वीरगञ्जबाट हेटौँडा बजारतर्फ आएका एक जनालाई स्थानीय सानोपोखराका प्रहरीले आज पक्राउ गरेका सूचना अधिकारी कुर्मीले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका–९ त्रिवेणीमा डेरा लिई बस्ने २२ वर्षीय सुमित थापाको साथबाट खैरोहिरोइन चार ग्राम २७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । निजले प्रयोग गरिएको ना २३ प ४३४ नं को मोटरसाइकललाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ/ उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २२ गतेको निर्णयअनुसार नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा विशेष बढुवा हुनुभएका क्षेत्रीलाई प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

नेपाली सेनाको जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति हुनुभएका एक–एक जना महासेनानी तथा प्रमुख सेनानीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत पदोन्नति हुनुभएका रथीवृन्त तथा अधिकृतहरूका परिवारजनको पनि उपस्थिति थियो ।

Facebook Comments