कवि तथा पत्रकार राजेन्द्र तारकिणीको सहयोगार्थ सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग सङ्कलन अभियान चलाएको छ । अभियानअन्तर्गत हालसम्म रु चार लाख ५० हजारभन्दा बढी सङ्कलन भएको छ ।
हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाउनुभएका तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय हुनुहुन्छ । उहाँको हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ ।
उपचार सफल भएमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकले बताउनुभएको छ । ‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै रु १८ लाखदेखि रु २० लाखसम्म खर्च हुने बताइएको छ । अभियान संयोजकसमेत रहनुभएका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरका अनुसार हालसम्म १२१ जनाबाट सहयोग रकम सङ्कलन भएको हो ।
“एक प्रतिभाशाली स्रष्टा, जो श्रवण अपाङ्गताका बाबजुद साहित्य–कला र पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान दिइरहनुभएको छ, उहाँको उपचार गर्ने दायित्व राज्यको हुनुपर्ने हो”, अध्यक्ष मगरले भन्नुभयो, “राज्यको नजरबाट वञ्चित तारकिणीजस्ता स्रष्टाका लागि हामी हातेमालो गर्दै सहयोग रकम सङ्कलन गरिरहेका छौँ ।”
विभिन्न संस्था–समूहबाट सहयोग सङ्कलन भइरहेको प्रतिष्ठानका केन्द्रीय महासचिव डिजी शर्माले बताउनुभयो । अनेसास जापान शाखाका साथै किराँत–राई यायोख्खा शाखा युनाइटेड अरब इमिरेटस् (युएई)ले सहयोग सङ्कलन गर्न लागेको शाखाका उपाध्यक्ष सरुशीतल राईले जानकारी दिनुभयो । प्रतिष्ठानले तारकिणीको उपचारका लागि सबै क्षेत्र, तह र तप्कालाई आर्थिक सहयोग गर्न आह्वान गरेको छ ।