समाजको विश्रृङ्खलित मानसिकतालाई अनुशासित बनाउने उद्देश्यले आध्यात्मिक कवि गोष्ठीको शुरुवात् गरिएको छ । कान्तिभैरव गुरुकुल र भूगोल साहित्य समाजको आयोजनामा आज गोकर्णेश्वर नगरपालिका–४ उत्तरवाहिनीस्थित गुरुकुुल परिसरमा भएको कार्यक्रममा करिब डेढ दर्जन कविले रचना पाठ गर्नुभएको छ । सो अवसरमा गुरुकुलका विद्यार्थीबीच प्रतियोगितात्मक कविता वाचनसमेत गरिएको थियो । प्रतियोगितामा गुरुकुलको कक्षा १० मा अध्ययनरत राधाकृष्ण न्यौपाने पहिलो, कक्षा १० कै छात्र देवेन्द्र अधिकारी दोस्रो र कक्षा १० कै गोपाल दाहाल तेस्रो हुनुभएको थियो । प्रतियोगितामा कक्षा नौ का छात्रद्वय ध्रुवप्रसाद खनाल र प्रज्ज्वल ढुङ्गेलले शान्त्वना पुृरस्कार पाउनुभएको छ । पुरस्कृत छात्रलाई नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक एवं आध्यात्मिक साहित्यकार प्रा दुर्गाप्रसाद दाहालले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पहिलो हुनेलाई रु एक हजार, दोस्रो हुनेलाई रु ८००, तेस्रो हुनेलाई रु ६०० र शान्त्वना हुने दुवैलाई रु ३००/३०० प्रोत्साहनस्वरुप प्रदान गरिएको थियो । नगद पुरस्कारका लागि राधे राधे परिवारका अध्यक्ष मुकुन्द अर्यालले सहयोग गर्नुभएको जनाइएको छ । उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहयोग गरिने प्रतिबद्धतासमेत जनाउनुभयो । गुरुकुलका अध्यक्ष प्राडा ऋषिराम पोखरेलले समाजलाई सभ्य र सुसंस्कृत बनाउन आध्यात्मिक कवि गोष्ठीले भूमिका खेल्ने बताउनुभयो । गुरुकुलका आचार्य डा श्रीराम अधिकारीले अध्यात्म विना भौतिक सुख पनि प्राप्त गर्न नसकिने भएकाले आध्यात्मिक साधनाको महत्व जीवनमा सधैँ महत्वपूर्ण हुने बताउनुभयो । भूगोल साहित्य समाजका उपाध्यक्ष दीनेशविक्रम थापाले राष्ट्रिय वाणिज्य बैङ्कमा ३० वर्ष काम गरी सेवा निवृत्त भएका साहित्यानुरागी पूर्व कर्मचारीको समूहले संस्था बनाई साहित्यिक कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । आजको कार्यक्रम समाजको नवौँ श्रृङ्खला भएको जानकारी पनि सो अवसरमा दिइएको थियो । समाजले धर्म, कला, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको जनाइएको छ । कोभिडका बेला जुम प्रविधिबाट कार्यक्रमबारे जानकारी पनि समाजले दिएको थियो । प्रतियोगितामा देवेन्द्र अधिकारी, आशीष आचार्य, गौरव पराजुली, रुपेश पराजुली, गणेश अधिकारी, गणेश पराजुली, शिशिर खनाल, भुवन दाहाल र हरिश्चन्द्र गौतमलगायतले कृष्ण भक्तिधारामा रचिएका आ–आफ्ना रचना पाठ गर्नुभएको थियो ।
Facebook Comments