काठमाडौँ/प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
वसन्त श्रवण
यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । शुक्रबार बिहान १०ः२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।
वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।
-श्रीपञ्चमीः मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा-
महोत्तरी/मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी छ । चन्द्रमास गणनाको माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी मिथिलामा कृषि नववर्ष उत्सवका रूपमा मनाइने परम्परा छ । वसन्तपञ्चमी पनि भनिने यो पर्व यसपालि आज मनाउँदैछन् ।
मिथिला मुख्यत कृषिकर्म थलो मानिन्छ । यहाँका धेरैजसो धार्मिक तथा सांस्कृतिक पर्वहरू कृषिसँग जोडिन्छन् । श्रीपञ्चमी त कृषि क्षेत्रको नयाँ वर्ष प्रारम्भ हुने दिनकै रूपमा मानिने मैथिल परम्परा रहेकोे मिथिला संस्कृ तिका जानकारहरू बताउँछन् ।
“श्रीपञ्चमी किसानका लागि नववर्षको प्रारम्भ हो, यसै दिन किसान अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको वरण गर्छन्”, जलेश्वर–५ का बासिन्दा मिथिला संस्कृतिविद् ध्रुव राय भन्नुहुन्छ, “यसै दिन किसानले वर्षभरि हलोफाली पिट्ने, हँसिया÷कचियाँ उद्याउने र अन्य कृषि ज्यावल मर्मत गर्ने लोहार (यी काम गर्ने मिथिलाका खास जातिविशेष) तय गर्छन् ।” श्रमिक र लोहार वरणको यो परम्परामा किसानले वर्षभरि दिने पारिश्रमिकको टुङ्गो गरेर यिनलाई दोसल्ला ओढाएर वरण गर्दै मिष्टान्न भोजन गराई दक्षिणा दिने चलन रहेको अवकासप्राप्त सहप्राध्यापक रहनुभएका राय बताउनुहुन्छ ।
यसरी नै यसै पर्वको दिन किसानले खेतबारीमा गोरु नारेर हलो जोत्छन् । यो परम्परामा हलो जोतेर वर्षभरि खेतीपातीको अनुकूल समय रहोस् भन्ने कामना किसानको हुने जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८५ वर्षीय कृष्णचन्द्र झाको भनाइ छ । यस दिन हलो नारेर खेत जोतेपछि वर्षभरि कृषिकर्मको राम्रो प्रतिफल पाइने मैथिल जनविश्वास रहेको पूर्वप्रशासक रहिसक्नुभएका झाले बताउनुभयो ।
मिथिलामा यस दिन हलो, कुटो/कोदालोसहितका कृषि ज्यावल धोइपखाली पूजा गर्ने चलनसमेत रहेको झाले सम्झनुभयो । यसरी कृषि ज्यावलको पूजा गरिँदा यी सामान टिकाउ हुने र शुभ फलदायक हुने विश्वास रहेको उहाँ बताउनुहुन्छ ।
मिथिलामा श्रीपञ्चमी पर्वसँगै वसन्त ऋतु सुरु हुने विश्वास गरिन्छ । यस दिनसँगै जाडो घटेर दिन लामो हुँदै जाने हुँदा यो मौसमी परिवर्तनले चैती फसल गहुँ, चना, मुसुरो, रहरी र सस्र्यूँलाई अनुकूलता हुने किसान विश्वास गर्छन् । यसै पर्वका दिन मिथिलामा आउने सिजनको खेती लगाउने विभिन्न बालीको बीउका लागि राम्रो दाना छान्ने, सुकाउने र सुरक्षित भण्डारण गरिने परम्परा रहेको गौशाला–१० बटुवाका ७५ वर्षीय किसान लक्ष्मीप्रसाद सिंह कुशवाहाको भनाइ छ । यसै दिन शुद्धीकरण गरिएको बीउलाई धूपआरती देखाइने चलनसमेत रहेको कुशवाहा बताउनुहुन्छ । यसैगरी यसै दिन गोबर मलको भकारो व्यवस्थापन गर्ने पनि चलन रहेको उहाँको भनाइ छ ।
मिथिला क्षेत्रका किसानले यसै दिन आउने वर्षभरिको खेतीपातीको योजना बनाउने र छरछिमेकका बूढापाकाहरू खेतीपाती र मौसमको पूर्वानुमान गर्ने पुरानो चलन छ । यस पर्वलाई हरियाली र सम्पन्नताको प्रतीकका रूपमा परम्परादेखि मानिँदै आइएको मिथिला क्षेत्रका प्रख्यात साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ ।
मिथिलामा कृषिक्षेत्रको मुख्य पर्व रहेर पनि पछिल्ला केही दशकयता भने मौसमको पूर्वानुमान भने मिल्न छाडेको यहाँका पाका किसान बताउँछन् । बर्खा, हिउँद र गृष्मकालीन वर्षा र मौसमीय छाँट निकै फेरिएका औरही–७ भोइलटिम्कियाका ७५ वर्षीय किसान मोहन महतोको पछिल्लो अनुभव छ । मौसम तथा वातावरणविज्ञहरू भने यो विश्वव्यापी जलवायु परिवर्तनको असरले भएको बताउँछन् ।
यसैगरी कृषि नववर्ष मानिने परम्पराको यो पर्वमा सबैभन्दा मुख्यपक्ष कृषि श्रमिकको छनोट र वरण गर्न नपाइएको कैयौँ वर्ष भइसकेको भङ्गाहा–४ रामनगरका ६० वर्षीय किसान गोविन्दलाल खाँ थारू बताउनुहुन्छ । कृषिकर्मका युवा श्रमिक कामका लागि भारतको हरियाणा र पञ्जाव जाने लहरले यहाँ यस्तो जनशक्ति पाइन छाडिएको थारूको भनाइ छ । यसबाहेक तीनै तहका सरकारबाट वास्तविक किसानले कृषिसम्बद्ध सुविधा र सहुलियत पाउन नसक्दा पनि अब यो पर्व परम्परा थेग्नसमेत गाह्रो पर्न थालेको आम किसान बताउँछन् ।