कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली क्षेत्रसम्म महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूलनहर निर्माणको काम सकिँदैछ । कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्गको उत्तर र चुरे क्षेत्रको दक्षिण क्षेत्रबाट निर्माण भइरहेको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहलमा पानी बग्ने एकिन छैन् ।
गत असारमा महाकाली नदीबाट भारतीय पक्षले पानीको परीक्षणका साथै कञ्चनपुरलाई धान दिवस मनाउन पानी उपलब्ध गराए पनि त्यसयता भारतले नियमित पानी छाड्न मानेको छैन् । महाकाली सिँचाइ आयोजना मूलनहर निर्माणसँगै शाखा नहर निर्माणको प्रक्रिया अघि बढाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने सिँचाइ आयोजनाले शाखा नहर बनाउने क्षेत्र र वरपर गरी कराडौँका ट्युबेल सिँचाइका लागि भनेर स्थानीयलाई बितरण गरेको छ ।
ब्रह्मदेवदेखि चुरे फेद र सिँचाइको मूल नहर दक्षिण लगायतका क्षेत्रमा बितेको चार वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा तीन सय ५० ठाउँमा सिँचाइ सुविधाका लागि ट्युवेल जडान गरिएको छ ।
उक्त क्षेत्रमा चालू आर्थिक वर्षमा रु १४ करोड ट्युवेल जडानका लागि बजेट विनियोजन भएको छ । महाकाली सिँचाइको मूल नहरको उत्तरतर्फ करिब ८० प्रतिशत ट्युबवेल जडानको काम सकिएको छ । राजमार्गबाट उत्तर भीमदत्त नगरपालिकाका– ८ वटा र बेदकोट नगरपालिका–८ मा गरी साढे तीन सय ट्युबवेल जडान गरिएको हो ।
त्यसैगरी प्रदेश सभाको उक्त क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका– २, १७ र १९ मा २ सय ट्युबवेल जडान गरिएका छन् । राजमार्गबाट माथिल्लो क्षेत्रमा जडान गरिएका ट्युबवेलमा जडानमा प्रति ट्युबवेल रु दुईदेखि सात लाखसम्म खर्च भएको र साथै ६० बिघा क्षेत्रलाई सिँचाइ पुग्ने ठूला ट्युबवेल तीन वटा समेत जडान भएका छन् । सोही स्तरका चार वटा ट्युबवेल बोर गराउन बजेट आइसकेको छ । ठूला ट्युबवेल बोर जडान गर्न प्रति ट्युबवेल रु ७० लाखदेखि एक करोडसम्म लागन लाग्ने गरेको छ । महाकाली सिँचाइ आयोजानाअन्तर्गत दोस्रो चरणमा सम्पन्न भएका नहरबाट यहाँ सिँचाइ सुविधा किसानले उपभोग गर्न पाएको भए पनि तेस्रो चरणको गति भने सुस्त छ ।