फ्रान्सको एक अदालतले सोमबार पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेलमुक्त गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय सुनाउने अपेक्षा गरिएको छ ।
गत सेप्टेम्बरमा तल्लो अदालतले सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रप्रमुख रहनुभएका दक्षिणपन्थी नेता सार्कोजीलाई लिबियाका तत्कालीन नेता मोआमर गद्दाफीबाट चुनावी अभियानका लागि अवैध आर्थिक सहयोग खोजेको अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
७० वर्षीय सार्कोजी गत अक्टोबर २१ मा जेल प्रवेश गर्नुभएको हो । योसँगै उहाँ युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूमा जेल परेका पहिलो पूर्व राष्ट्रप्रमुख बन्नुभएको छ । उहाँका वकिलहरूले तुरुन्तै रिहाइको माग गर्दै अपिल दायर गरेका थिए ।
पेरिस अपिल अदालतले आज बिहान ८ः३० जिएमटीबाट उक्त अपिलको सुनुवाइ सुरु गर्नेछ । सार्कोजी भिडियो कलमार्फत उपस्थित हुनुहुनेछ र दिनभित्रै अदालतले फैसला गर्ने अपेक्षा गरिएको छ । यदि अदालतले उहाँको अपिल स्वीकार गर्यो भने तत्कालै उहाँलाई जेलबाट रिहा गरिनेछ ।
सेप्टेम्बर २५ मा तल्लो अदालतले ‘असाधारण गम्भीरता’ का आधारमा सजाय तत्काल कार्यान्वयन गर्न आदेश दिएको थियो । आदेशअनुसार अपिल दायर गरे पनि जेल जानुपर्ने भनिएको थियो । तर अपिल विचाराधीन रहेकाले कानूनी रूपमा सार्कोजीलाई अहिले निर्दोष मानिएको छ, त्यसैले अदालतले पूर्व–परीक्षण हिरासतको आवश्यकताको पुनर्मूल्याङ्कन गर्दैछ ।
फ्रान्सेली कानूनअनुसार प्रमाण नष्ट हुने जोखिम, साक्षीहरूसँग छेडछाड, अभियुक्तको भाग्ने वा पुनः अपराध गर्ने सम्भावना अथवा उहाँको सुरक्षाका लागि अन्य उपाय सम्भव नभएमा मात्र जेलमा राख्न सकिन्छ । अन्यथा, उहाँलाई न्यायिक नियन्त्रणमा बाहिर जान अनुमति दिइनेछ र सम्भवतः इलेक्ट्रोनिक एङ्किल ट्याग सहित नजरबन्दमा राखिनेछ ।
गायिका तथा मोडल कार्ला ब्रुनीसँग वैवाहिक सम्बन्ध रहेका पूर्वराष्ट्रपतिले दुई हप्ताभन्दा बढी एकान्तवासमा बिताइरहनुभएको छ । उहाँको सुरक्षाका लागि दुई अङ्गरक्षक नजिकैको कोठामा तैनाथ गरिएको बताइएको छ ।
कारागारका कर्मचारीहरूले यस कदमलाई पेशागत अपमान भनेका छन्, तर गृहमन्त्री लरेन्ट नुनेजले ‘सार्कोजीको स्थिति र उहाँविरुद्धका सम्भावित धम्कीहरू’ का कारण यो आवश्यक रहेको स्पष्टीकरण दिनुभएको छ ।
फ्रान्सका शीर्ष अभियोजक रेमी हेट्जले अपिल प्रक्रियामा ‘मजिस्ट्रेटहरूको स्वतन्त्रतामा असर पर्ने’ जोखिम रहेको चेतावनी दिएका थिए । यद्यपि सार्कोजीले गत महिनाको अन्त्यतिर न्याय मन्त्री जेराल्ड डार्मानिनको भेट पनि प्राप्त गर्नुभएको थियो ।
दोस्रो विश्वयुद्धपश्चात् जेल परेका नाजी सहयोगी नेता फिलिप पेटाइनपछि जेलमा परेका पहिलो फ्रान्सेली राष्ट्रप्रमुख सार्कोजी हुनुहुन्छ ।
गत हप्तामा उहाँको सामाजिक सञ्जाल खाताबाट पत्र, कार्ड र उपहारहरूको भिडियोहरू सार्वजनिक गरिएका थिए, जसमा समर्थकहरूले पठाएका पुस्तक, चकलेट र शुभकामना सन्देशहरू समावेश थिए ।
उहाँको खातामा लेखिएको थियो, “कुनै पनि पत्र उत्तरविहीन रहनेछैन । कथा अझै समाप्त भएको छैन ।” जेल प्रवेशको दिन उहाँको निवासबाहिर ठूलो भिड जम्मा भई फ्रान्सको राष्ट्रिय गीत गाउँदै उहाँलाई ‘छिट्टै फर्कनुहोस्’ भनेर स्वागत गरेको थियो ।
सन् २०१२ मा पुनःनिर्वाचनमा पराजित भएपछि सार्कोजी निरन्तर कानूनी विवादहरूमा फँसिरहनुभएको छ । उहाँ पहिले नै दुई छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भइसक्नुभएको छ ।
एक मुद्दामा, न्यायाधीशबाट अनुग्रह लिन खोजेको अभियोगमा उहाँलाई भ्रष्टाचारको सजाय दिइएको थियो र इलेक्ट्रोनिक ट्याग सहित नजरबन्दमा राखिएको थियो । उक्त ट्याग मे महिनामा हटाइएको थियो । अर्को मुद्दामा, सन् २०१२ को अवैध चुनावी खर्चसम्बन्धी प्रकरणमा फ्रान्सको शीर्ष अदालतले यसै महिनाको अन्त्यमा फैसला सुनाउने तयारी गरेको छ ।
तथाकथित ‘लिबियन मुद्दा’ मा अभियोजन पक्षको दाबी अनुसार सार्कोजीका निकट सहयोगीहरूले सन् २००५ मा गद्दाफीसँग उहाँको राष्ट्रपति अभियानका लागि अवैध आर्थिक सहयोग गर्ने सम्झौता गरेका थिए । अनुसन्धानकर्ताहरूको विश्वास अनुसार यस सम्झौताबाट गद्दाफीले सन् १९८८ को स्कटल्याण्डको लकरबी र सन् १९८९ को नाइजरमा भएको विमान बम विस्फोटपछि कलङ्कित आफ्नो अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास गर्नुभएको थियो ।
अदालतले सार्कोजीलाई यस षड्यन्त्रमा संलग्न आपराधिक गतिविधि गरेको अभियोगमा दोषी ठहर गरे पनि उहाँले प्रत्यक्ष रूपमा अवैध रकम प्राप्त गर्नुभयो वा प्रयोग गर्नुभयो भन्ने प्रमाण भने पत्ता लाग्न सकेको छैन ।-पेरिस(रासस/एएफपी)