‘फौजदारी कानुन र फौजदारी न्याय’ पुस्तक सार्वजनिक

भक्तपुर/प्रा डा रञ्जितभक्त प्रधानाङ्ग र सोमकान्ता भण्डारीद्वारा संयुक्त रूपमा लिखित ‘फौजदारी कानुन र फौजदारी न्याय’ पुस्तक विमोचन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गर्नुभएको हो ।

सो अवसरमा संविधान र कानुनलाई राज्यले पालना गराउन सके जनताले न्याय पाउने अध्यक्ष बिजुक्छेँ बताउनुभयो । पुस्तकले फौजादारी कानुन र न्यायका विषयमा चिरफार गरेको उल्लेख गर्दै उहाँले पुस्तकमा प्रकाशित लेखले समाजलाई कानुनी बाटोमा डोहोर्याउन मद्दत पुग्ने बताउनुभयो । राजनीतिक आडमा कानुन मिच्ने प्रवृत्ति बढ्दै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

लेखक प्रधानाङ्गले २०५९ देखि २०७७ सालसम्म लेखिएका लेखको सँगालो उक्त पुस्तक हो । कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेल, उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) का निर्मला शाक्य, भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश वासुदेव नेपाल, नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, पुस्तक प्रकाशन गर्ने ‘पैरबी बुक हाउस’का अध्यक्ष अधिवक्ता चन्द्र शिवाकोटीलगायतले पुस्तकका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।

Facebook Comments