श्रीराम राईलाई संसाक भवानी–शंकर लघुकथा सम्मान

खोटाङका साहित्यकार एबं पत्रकार श्रीराम राईले संसाक भवानी–शंकर लघुकथा सम्मान पाएका छन् । नेपाली वाङ्मय जगतमा आख्यान विद्याको साथै साहित्यिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै राईलाई संसाक भवानी–शंकर लघुकथा सम्मान प्रदान गरिएको हो ।

लुनार बोर्डिङ स्कुल टोखा, काठमाण्डौंमा शुक्रबार भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यपक जगत उपाध्यय प्रक्षितले राईलाई सम्मान–पत्र प्रदान गरेका हुन् । संसाक मासिक काठमाण्डौंले प्रदान गर्ने संसाक भवानी–शंकर लघुकथा सम्मान यसपल्ट नागरिक दैनिकमा कार्यरत पत्रकार एबं साहित्यकार राईले पाएका हुन् ।

१० वर्षे शिक्षण पेशा छाडेर काठमाण्डौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका राईको बालकथा संग्रह ‘टोली नेता’ २०७५, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित छन् । बिशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाईकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै शसक्त छन् ।

संसाक मासिकले रामप्रसाद पन्त (काठमाडौं)लाई संसाक यात्री नियात्रा सम्मान, सरिता अर्याललाई संसाक बहु–प्रतिभा साहित्य सम्मान, ध्रुवकृष्ण ताम्राकार (पनौती)लाई संसाक तेज–शोभा गीत/गजल सम्मान, सरस्वती चिमोरिया (काभ्रे)लाई संसाक खड्गध्वज(बलराम)–गङ्गादेवी सिग्देल लेख/रचना सम्मान र वासुदेव गुरागाई (नुवाकोट)लाई संसाक अनामणि समीक्षा सम्मान प्रदान गरेको छ ।

यस्तै, राजेन्द्र घिमिरे सागर (नुवाकोट)लाई संसाक भद्रकुमारी के.सी. मुक्तक/हाइकु सम्मान, सदीक्षा वाग्ले (काठमाडौं)लाई संसाक कौशिक बालप्रतिभा सम्मान, निबन्ध आचार्य (काठमाडौं)लाई संसाक शुक्रमाया–मन्दिर जङ्ग राई स्मृति साहित्य पत्रकारिता सम्मान र प्राज्ञ माया ठकुरी (ललितपुर)लाई संसाक गोपालराज–मैयादेवी पाण्डे स्मृति सम्मान प्रदान गरिएको संसाक मासिकले जनाएको छ । संसाक सम्मान एबं पुरस्कार समर्पण समारोहमा भवानी मैयाँ पन्तको कविता संग्रह ‘देश रोएकोबेला’को लोकार्पण गरिएको छ ।

Facebook Comments