नेपाली गजल एल्बम ‘मतला’ सार्वजनिक

काठमाडौँ/नेपाली गजल एल्बम ‘मतला’ सार्वजनिक गरिएको छ । दार्जिलिङको ‘रिदम रेकर्डिङ्स’ले प्रस्तुत गरेको ‘मतला’ त्यहाँकै सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा तयार भएको हो ।

गजलकारहरू राधा कणेलका ३ तथा रश्मि असफल र घनेन्द्र ओझाका दुई÷दुई गजल समेटिएको ‘मतला’मा दार्जिलिङका ३ र नेपालका दुई गायक÷गायिकाले स्वर दिएका छन् । उक्त एल्बममा दार्जिलिङका रजनी ऋदम राई, इस्माइल दास र सृष्टि आचार्य प्रधान तथा नेपालका शिव परियार र निशा देशारले स्वर दिएका छन् ।

गजल एल्बम ‘मतला’माथि समिक्षा गर्दै सङ्गीतकार सन्तोष श्रेष्ठले ‘नेपाली गजल गायनको स्वर्ण दशक, विसं २०८०–२०९०’ अभियानअन्तर्गत भारतबाट समेत नेपाली गजल आउनुले अब नेपाली गजल लेखनसँगै गायनले पनि व्यापकता पाएको बताउनुभयो । उहाँले ‘मतला’ साङ्गीतिक हिसाबले पनि सुन्दर र सशक्त भएको उल्लेख गर्नुभयो ।

“सङ्गीतको भाषा, भूगोल हुँदैन । व्यक्तिको संवेदना छुने हरेक सङ्गीत विश्वव्यापी बन्छ”, उहाँले भन्नुभयो । ‘मतला’ एल्बमले नेपाली गजल गायनलाई अन्तर्राष्ट्रियकरण गरेको श्रेष्ठको भनाइ थियो ।

अर्का समिक्षक गजलकार, गीतकार एवं सङ्गीतकार करुण थापाले गजलले सङ्गीतको श्वास पाएपछि मात्र जीवन्त बन्ने बताउनुभयो । उहाँले ‘मतला’ एल्बममा समावेश गजल शब्द, सङ्गीत र गायन तीनै कोणबाट सशक्त रहेको बताउनुभयो ।

गजलकार राधा कणेलले ‘मतला’ रेकर्ड गर्दाको सन्दर्भ उल्लेख गर्दै सङ्गीतकार प्रधान परिष्कृत साधक रहेका र अत्यन्त मिहिनेतपूर्वक एल्बम तयार भएको बताउनुभयो । यस्तै गजलकार रश्मि असफलले दुई दशकभन्दा लामो समयदेखि गजल लेखिरहे पनि सङ्गीतमा भर्खरै आउन थालेको बताउनुभयो । गत पुस २७ गते गजलकार असफलकै शब्दमा सन्तोष श्रेष्ठले कोशी प्रदेशको झापामा एकल गजल गायन ‘रश्मि गजल गुञ्जन’ सम्पन्न भएको थियो ।

गजलकार एवं गजल अभियन्ता घनेन्द्र ओझाले सङ्गीतकार सन्तोष श्रेष्ठ र आफूले घोषणा गरेको ‘नेपाली गजल गायनको स्वर्ण दशक, विसं २०८०–२०९०’ अभियानले देशको सीमा पार गरेको उल्लेख गर्दै यस अभियानमा सबैलाई जोडिन अनुरोध गर्नुभयो ।

सङ्गीतकार प्रधानले आफू ४० वर्षदेखि सङ्गीतमा समर्पित भए पनि सधैँ विद्यार्थी जस्तै भएको उल्लेख गर्दै निरन्तर साधनाले गजल सङ्गीततर्फ मोडेको बताउनुभयो । सार्वजनिकीकरण कार्यक्रममा प्रा डा कृष्णहरि बरालले ‘मतला’ले नेपाली गजल सङ्गीतका क्षेत्रमा विशेष अर्थ र महत्त्व राख्ने बताउनुभयो । शब्द र सङ्गीतको उपयुक्त संयोजन तथा स्वरको सही छनोटले गजल उत्कृष्ट बन्ने भएकाले ‘मतला’भित्रका गजलमा यी विशेषता रहेका उहाँको भनाइ थियो । अनाममण्डलीले आयोजना गरेको उक्त कार्यक्रममा अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कार, गजलकार ज्ञानु विद्रोहीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Facebook Comments