काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउँदा ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले आज ऊर्जा मन्त्रालयमा आयोजना गरेको सार्वजनिक–निजी साझेदारीअन्तर्गत निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागिता गराउन आयोजित सम्झौता कार्यक्रममा उहाँले उक्त सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासमा ऐतिहासिक भएको बताउनुभयो ।
निजी क्षेत्रबाट प्रसारण लाइन निर्माणका लागि आरपिजिसिएलले निजी क्षेत्रको लगानी रहेका रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिसँग समेत सम्झौता गरेको छ ।
कार्यक्रममा ऊर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रबाट बन्न लागेको प्रसारण लाइन कोसेढुङ्गा सावित हुने बताउनुभयो । “निजी क्षेत्रको साझेदारीमा यस्ता प्रसारण लाइन बनाउँदा निजी क्षेत्रलाई उत्साहित गर्ने मात्र होइन, खर्च कटौती र लक्ष्यप्राप्तिलाई पनि योगदान पुर्याउनेछ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो ।
निजी क्षेत्रको सहभागिता बिना कुनै पनि क्षेत्रको विकास सम्भव नभएको मन्त्री खड्काको भनाइ थियो । उहाँले प्रसारण गुरूयोजना दिगो खालको बनाउन सरकार लागेको बताउनुभयो । मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता सम्झौताले सहयोग पुग्ने बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत् उत्पादन र प्रसारणका क्रममा देखिएका वनका समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले ऊर्जा उत्पादनमार्फत देशको विकास सम्भव भएकाले यसको विकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले निजी क्षेत्र प्रसारण लाइनको निर्माणमा लाग्नु सरकारको लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले निजी क्षेत्रबिना सरकार एक्लैले ऊर्जा क्षेत्रको विकास गर्न नसक्ने उल्लेख गर्नुभयो ।
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारीले मुलुकको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा जोड्नु उपलब्धीमूलक कुरा भएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढिलै भए पनि प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई जोड्नु उपलब्धीमूलक कुरा भएको बताउनुभयो ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत आरपिजिसिएलले निर्माण गर्न लागेको प्रसारण लाइनमा आरपिजिसियलाई आवश्यक पर्ने ऋण लगानी हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)ले गर्ने सम्झौता भएको छ ।