बेलायत सरकारको सहयोगमा निमार्ण सम्पन्न भएको यहाँको एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहँुच कार्यक्रम (-याप–थ्री) ले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुको चङ्खेलीदेखि हुम्लाको देउलीसम्म निर्माण सम्पन्न गरेको सडक खण्ड शनिबार एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।
हुम्लाको चङ्खेली गाउँपालिका–१ बोहोरा गाउँमा रहेको चङ्खेली आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा ग्रामीण पहँुच कार्यक्रम मुगु हुम्ला लिङ्क रोडका टोलीनेता विष्णुराम विष्टले कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीलाई निर्माण सम्पन्न भएको ३० किलोमिटर उक्त सडक हस्तान्तरण गर्नुभएको थियो ।
ग्रामीण पहुँच कार्यक्रमले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको देउलीसम्म कूल ६७ किलोमिटर सडक निर्माण सम्पन्न गरे पनि मुगु खण्डको ३७ किलोमिटर सडकमध्ये गमगढी–दर्खे २६ किलोमिटर र दर्खे–चङ्खेली ११ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको थियो । गमगढीदेखि देउलीसम्म सडक निर्माण सम्पन्न हुँदासम्म रु एक अर्ब ५७ करोड ८८ लाख ४६ हजार ८३३ लागत लागेको र यो लागतलाई प्रतिकिलोमिटरमा हेर्दा प्रतिकिलोमिटर रु दुई करोड ३५ लाख ६४ हजार ८७८ लागत खर्च भएको बताइएको छ ।