झापाको पाँचवटा पालिकालाई अँध्यारोमुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले जनाएको छ ।
केन्द्रले भद्रपुर नगरपालिकासहित कचनकबल र हल्दिबारी गाउँपालिकालाई अँध्यारोमुक्त बनाउन गत वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ । मेचीनगर र विर्तामोडको आंशिक क्षेत्र र बाह्रदशी गाउँपालिकाको केही वडामा यो अभियान सञ्चालित छ ।
आगामी एक महिनाभित्र आफ्नो कार्यक्षेत्रभित्रका पालिकाको सबै घरमा विद्युत् सुविधा पुगिसक्ने केन्द्रका प्रमुख इन्जिनीयर सञ्जीवकुमार साहले बताउनुभयो । उहाँले हालसम्म ३० हजारभन्दा बढी ग्राहकको घरमा बिजुली बत्ती पुगिसकेको जानकारी दिनुभयो । प्राधिकरणले आर्थिक अभावका कारण विद्युत् जडान गर्न नसक्ने विपन्न समुदायका परिवारको घरमा निःशुल्क मिटर बक्स जडान गरिदिने कार्य गर्दै आएको छ । एक वर्षभित्र ६०० भन्दा बढी अति विपन्न परिवारलाई स्थानीय तहको सिफारिसका आधारमा विद्युत्को मिटर बक्स निःशुल्क जडान गरिदिएको प्राधिकरणले जनाएको छ ।
“सरकारको लक्ष्य नै सबैको घरमा विद्युतको पहुँच पुर्याउने हो”, उहाँले भन्नुभयो, “विपन्न समुदायले आर्थिक अभावमा उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर स्थानीय सरकारको सिफारिसका आधारमा विपन्नको पहिचान गरी निःशुल्क विद्युत् जडान गरिरहेका छौँ ।” उहाँले विगतमा जस्तो ग्राहकले निवेदन दिएर एक महिनासम्म मिटर बक्स जडान गर्न कुर्नुपर्ने प्रथाको अन्त्य भएको बताउनुभयो । “निवेदन दिएकै दिन वा भोलिपल्ट सम्बन्धित व्यक्तिको घरमा बत्ती बल्छ,” कार्यालयका प्रमुख साहले भन्नुभयो, “अब अँध्यारोमा कसैले बस्नु पर्दैन ।”
कर्मचारी अभावमा समेत उपभोक्ताको चाहनाअनुरुप भरपर्दो र छिटोछरितो सुविधा प्रदान गरिरहेको उहाँको भनाइ छ । प्राधिकरणको भद्रपुर वितरण केन्द्रमा १०४ जना कर्मचारी (प्राविधिकतर्फ ७० र प्रशासनतर्फ ३४) को दरबन्दी छ । तर हाल प्राविधिकतर्फ २६ र प्रशासनतर्फ १९ गरी कूल ४५ कर्मचारीले मात्र काम गरिरहेका छन् ।
मेचीपारिको नेपाली बस्तीमा विद्युत् पुर्याइँदै
मेचीनगर नगरपालिका–१५ का तीनवटा गाउँ मेची नदीपारि छन् ।
प्राधिकरणले त्यहाँ विद्युत् पुर्याउने कार्य थालिसकेको केन्द्रका प्रमुख साहले बताउनुभयो । उहाँका अनुसार सिसौडाँगी, होपना बस्ती र ग्वाल बस्तीका ५५ घरमा विद्युत् पुगेको छैन । त्यति सङ्ख्याका घरमा सौर्य विद्युत् सुविधा पुगेको छ । “मेचीनगरका नगरप्रमुख र सम्बन्धित वडाका अध्यक्षसँग कुराकानी गरेर त्यहाँका विपन्नहरुको पहिचान भइसकेको अवस्था छ”, उहाँले भन्नुभयो, “केही दिनभित्रैमा मेचीपारिको नेपाली बस्ती अँध्यारोमुक्त हुनेछ ।”