काठमाडौँमा पहिलोपटक आयोजना गरिएको ‘चीन चलचित्र दिवस’ मा चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङ, अभिनेत्री यु हङ, वितरक कम्पनि टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङसहित १४ चलचित्रकर्मी सहभागी थिए।
चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले सुन्दरसहर काठमाडौँ आउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो वर्ष दुई देशको कूटनीतिक सम्बन्धको ६०औँ वर्ष पुगेको सन्दर्भमा चीन चलचित्र दिवस मनाइनु र चलचित्र देखाइनु सुखद् पक्ष हो । हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ । यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वाश लिएको छु ।”
यहाँस्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ जीनले पहिलोपटक मनाउन लागेको ‘चीन चलचित्र दिवस’ले नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दुई देशका चलचित्रकर्मीलाई जोड्ने काम यो महोत्सवले गरेको छ । चीन विश्वकै चलचित्रका लागि ठूलो बजार मानिन्छ, अब नेपालले त्यहाँ आफ्नो उपस्थिति जनाउनुपर्छ । हामीले आज नेपालमा समेत छायाङ्कन गरिएको चलचित्र प्रदर्शन गरेका छौँ, जहाँ सुन्दर नेपालको सुन्दरता देखिएको छ । हामी यहाँको पर्यटन प्रवद्र्धन गर्न पनि तत्पर छौँ ।”
पहिलोपटक नेपाल आउनुभएकी विश्व प्रसिद्ध अभिनेत्री यु हङले नेपालको सत्कार र आतिथ्यता निकै मन परेको बताउनुभयो । “म यहाँको सत्कारले निकै खुसी छु । हामीले हाम्रो चलचित्र देखाउन पाउँदा र नयाँ दर्शकसँग साक्षत्कार गर्न पाउँदा केही सिक्ने विश्वास लिएकी छुँ”, उहाँले भन्नुभयो ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनाको ढोका यस कार्यक्रमले खोलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भारतीय चलचित्रले पनि चीनको बजारबाट मनग्य फाइदा लिएको छ । हामीले त्यहाँ केही चलचित्रलाई पु¥याउन सकेमा नयाँ युगको सुरुआत हुनेछ । नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ ।”
कार्यक्रममा अभिनेता नीर शाह, निर्देशक नवल नेपाल, दीपेन्द्र गौचन, कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ लगायत उपस्थित हुनुहुन्थ्यो ।