काठमाडौँ/एउटा चलचित्रमा भिन्नभिन्न भूमिकामा धेरै कलाकार हुन्छन् । कोही मुख्यमा, कोही सहायकमा र कोही नकारात्मक (भिलेन) भूमिकामा दर्शकले बुझ्ने गरेका छन् । विशेषतः कथालाई अगाडि बढाउने र सकारात्मक रुप दिने पात्रलाई ‘हिरो’ भन्ने गरिन्छ । तर, नाटकमा यस्तो हुँदैन, सबैको समान भूमिका हुन्छ ।
त्यसो भए चलचित्रमा कलाकारिता गर्ने कलाकारलाई किन विभाजन गरिन्छ ? निर्देशक दीपक रौनियारले थापागाउँस्थित मण्डला नाटकघरमा चलिरहेको ‘तेस्रो नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)’ मा आयोजित अन्तरक्रियामा नेपाल र भारतमा बन्ने चलचित्रमा मात्र मुख्य, सहायक जस्ता शब्द अभिनेता वा अभिनेत्रीको अघि जोडिने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले नेपाल र भारतमा बनेकाभन्दा बाहिरका चलचित्रमा अभिनेताको वर्गीकरण देखेको छैन । यसलाई बढाउन अवार्डको पनि भूमिका हुन्छ जस्तो लाग्छ । अवार्डमा हास्य, सहायक, मुख्य भनेर दिने गरिन्छ । त्यसले विस्तारै हामीलाई अभिनयको वर्गीकरणबारे प्रभाव पारेको हुनसक्छ ।”
नाटक र चलचित्र दुवैमा अभिनय गर्नुभएका अभिनेता आशान्त शर्माले अभिनयलाई चलचित्रमा वर्गीकरण गर्नु गलत भएको बताउनुभयो । कथामा सबै पात्रको महत्त्वपूर्ण प्रभाव रहेने भन्दै सहायक वा सहयोगी भनेर कुनै कलाकारलाई सीमित र कसैलाई मुख्य भनेर असिमित दृश्य दिन नहुने उहाँले धारणा राख्नुभयो ।
“छोटो समयका लागि चलचित्रमा देखिने कलाकारलाई सहायक बनाएर प्रस्तुत गरिन्छ । यो प्रचलन सही हो जस्तो लाग्दैन, नाटकमा सबै समान हुन्छन् भने चलचित्रमा किन हुनसक्दैनन् ? यसमा लेखकसँगै निर्देशकको कमजोरी हुनसक्छ । चलचित्रमा सबैले उत्तिकै मेहिनतका साथ काम गरेका हुन्छन् तर मुख्य र सहायकको नाममा विभाजन गरिन्छ”, अभिनेता शर्माले भन्नुभयो ।
उहाँले यसको प्रभाव पारिश्रमिकमा पारिरहेको भन्दै यो दुःखद विषय हो भननुभयो । अन्तरक्रियामा निर्देशक निश्चल बस्नेतले कुनै कलाकारले सङ्घर्ष गर्दै आफ्नो बजार प्रभाव तयार गरेर मुख्य पात्र बन्नु गलत नरहेकामा जोड दिनुभयो । उहाँले बजारमा माग हुँदै गएपछि कलाकारको दृश्य चलचित्रमा बढ्ने बताउनुभयो ।
“स–साना भूमिका देखिएर प्रमुख भूमिकामा अभिनय गर्ने कलाकार धेरै हुनुहुन्छ हामीसँग । यो हामीले दिएको भन्दा पनि कलाकारले गरेको अभिनयको उपलब्धि हो । म कथा लेख्दा होस् वा पात्र सिर्जना गर्दा त्यसको प्रभावसँगै कथा अगाडि बढाउन चाहिने तत्वलाई जोड्ने गर्छु । आवश्यकता अनुसार कथामा कलाकार राखिने हुँदा मेरा लागि सबैको सहभागी उत्तिकै महत्त्वपूर्ण हुन्छ, तर बजारका कारण कोही अगाडि वा मुख्य बन्ने गरेका छन्”, निर्देशक बस्नेतले भन्नुभयो । उहाँले आफूले कलाकारलाई पारिश्रमिक दिँदा पनि उक्त कलाकारले दिने समय र चलचित्रमा गर्ने कामका आधारमा निर्धारण गर्ने गरेको बताउनुभयो ।
निर्देशक रौनियारले चलचित्रमा सबैको भूमिका महत्त्वपूर्ण भए पनि दर्शकको ध्यान कुनै एउटा पात्रमा जानु स्वाभाविक रहेको बताउनुभयो । “जसरी फुटबल खेल्दा सबैको सहभागिता महत्त्वपूर्ण भएपनि कुनै खेलाडी विस्तारै आफूलाई अगाडि ल्याउँदै धेरैको रोजाइमा पर्नुहुन्छ, चलचित्रमा पनि त्यस्तै हुन्छ । त्यसलाई हामीले अन्यथा बुझ्नु हुँदैन्”, उहाँले भन्नुभयो ।
अन्तरक्रियामा सहभागी अभिनेत्री केकी अधिकारीले महिला कलाकार सधैँ सहयोगी वा सहायकको रूपमा चलचित्रमा प्रस्तुत हुने भन्दै नयाँ पुस्तामा यो विस्तारै कम हुँदै गएको बताउनुभयो । कतिपय आफूले गरेका कामहरू अहिले हेर्दा ती महिला कलाकारको रूपमा मुख्य भए पनि कथाका हिसाबले सहायक वा सहयोगी भएको उहाँको बुझाइ छ ।
“धेरै चलचित्रमा महिला कलाकारको काम भनेकै मुख्य अभिनेतालाई सहयोग गर्ने किसिमको हुन्छ । कथालाई अगाडि बढाउन एउटा महिला पात्र चाहिने भएकाले त्यहाँ अभिनेत्री हुन्छन्, उनीहरूको आफ्नै कथा वा उपस्थिति निकै कम चलचित्रमा पाइन्छ । त्यसकारण मलाई अधिकांश महिला कलाकारहरू अभिनेत्री भए पनि सहायक भूमिकामा हुन्छन्, मेरो हकमा मैले गरेका कामको मूल्याङ्कनका आधारमा यो भनिरहेकी छु”, अभिनेत्री अधिकारीले भन्नुभयो ।
झन्डै एकदशक अगाडि ‘चारुमती’ नामक नाटकमा अभिनय गर्नुभएकी अभिनेत्री अधिकारी त्यसपछि रङ्गमञ्चमा प्रस्तुत हुनुभएको छैन । चलचित्रमार्फत अभिनय प्रारम्भ गरेकाले नाटकमा दिनुपर्ने समय र चाहिने धर्यताका कारण आफू रङ्गमञ्चको अभिनयमा फर्किन नसकेको उहाँले बताउनुभयो ।
बाह्र देशका १७ नाटक सहभागी निटफेस्टमा कला प्रदर्शनी, सङ्गीत, नृत्यलगायत गतिविधिसँगै परम्परागत संस्कृति तथा लोकसंस्कृतिको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको महोत्सव निर्देशक अभिनेता दयाहाङ राईले जानकारी दिनुभयो । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित लोकनृत्य, लोकसङ्गीतदेखि चित्रकलासम्मका अन्य गतिविधि समावेश भएको महोत्सव यही चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।