एक थोपा सुराले

छायाँ उस्को परपर भयो जो म भुल्दै गएको
कस्तो प्यारो रमझम थियो प्रेममा मौलिएको
मेरा आँखा गगनभरको दृष्य जो देख्न सक्छ
टाढा जाओस् मनमुटु उतै संझना लेख्न सक्छ ।।१।।

जूनै सानो अब त झुलमा देखियो तार झिल्को
तारा चम्के तरपनि अझैं साँझको नै छ झल्को
निन्द्रा लाग्यो वरपर कुनै छैन सानो कटेरो
बाँचाैं भन्थेँ चयनसँगले रोकियो सास मेरो ।।२।।

बाटो टाढा मनमुटु उतै याद बन्दै गएको
आँखा खुल्दा पनि नजरमा देख्छु रातै भएको
माया के हो रहर मनको चाहना जो हरायो
आफैं भोगेँ दुखसुख सबै आज आफै डरायो ।।३।।

तारा झर्थे कतिपय अहाँ लाग्दथ्यो भान यस्तो
छाडी यादै दिनदिन बढेँ पुग्नु टाढा छ जस्तो
मेरो सारा तनमन लियो एक सानो कुराले
धर्ती सारा डगमग भयो एक थोपा सुराले ।।४।।

मेरो तारा अबत घरको पूर्ण सूर्यै उदायो
खोजेँ काँ काँ सब तिर उसै अन्तमा उ करायो
के के खान्छौ भनभन तिमी देख्छु मिष्ठान्न सारा
जे जे छुन्छ्यौ सब तिर अहो झिल्मिले यी सितारा ।।५।।

        (मन्द्राकान्ता)

Facebook Comments