उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ जनाउँदै दुई कोरियाबीच ‘सैन्य विश्वास’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो अभिव्यक्ति उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने कुनै चासो नभएको भनेको एक दिनपछि आएको हो ।

जुन महिनामा निर्वाचित भएका राष्ट्रपति लीले उत्तर कोरियासँग सम्पर्क पुनःस्थापना र बिना शर्त वार्ताको प्रस्ताव गर्दै आउनुभएको छ । यसलाई उहाँका कट्टरपन्थी पूर्ववर्तीहरूको नीतिबाट पूर्णतया विपरीत मानिन्छ ।

जापानी शासनबाट कोरियाको मुक्ति भएको दिन अगस्ट १५ को अवसरमा आयोजित समारोहमा बोल्दै राष्ट्रपतिले लीले भन्नुभयो, “दक्षिण कोरियाली सरकारले उत्तर कोरियासँगको तनाव उल्लेखनीय रूपमा घटाउने र विश्वास पुनःस्थापना गर्ने उपायहरू निरन्तर खोज्नेछ ।”

सियोलको राष्ट्रिय एकीकरण शिक्षा संस्थानका अनुसार यो वार्षिकोत्सव उत्तर कोरिया र दक्षिण कोरियामा एकैसाथ मनाइने एकमात्र सार्वजनिक बिदा हो ।

राष्ट्रपतिले भन्नुभयो, “हामी उत्तर कोरियाको वर्तमान प्रणालीप्रति सम्मान जनाउँछौँ र दक्षिण कोरियाले कुनै पनि शत्रुतापूर्ण गतिविधिमा संलग्न हुने मनसाय राख्दैन ।”

उहाँको अभिव्यक्तिमा उत्तर कोरियाले पनि विश्वास निर्माण र वार्ता पुनः सुरु गर्ने दक्षिण कोरियाको प्रयासलाई सकारात्मक रूपमा लिनेछ भन्ने आशा प्रकट गरिएको थियो ।

लीको अभिव्यक्ति उत्तर कोरियाली नेता किम जोङ उनले बहिनी किम यो जोङमार्फत दिनुभएको कडा प्रतिक्रियापछि आएको हो । जोङले उत्तर कोरियाको दक्षिण कोरियासँग ‘सम्बन्ध सुधार गर्ने कुनै इच्छा छैन’ भन्नुभएको थियो । साथै उहाँले उत्तर कोरियाले सीमामा रहेका प्रचार लाउडस्पिकरहरू हटाइरहेको भन्ने रिपोर्टलाई अस्वीकार गर्नुभएको थियो ।

यसअघि, दक्षिण कोरियाली सेनाले जुन महिनामा दुवै देशले सीमावर्ती क्षेत्रमा प्रचार प्रसारण रोकेको जनाएको थियो । गत हप्ता सेनाले उत्तर कोरियाली सेनाले सीमामा लाउडस्पिकरहरू हटाइरहेको देखिएको पनि बताएको थियो ।-सियोल(रासस/एएफपी)

Facebook Comments