आवल्र्ड टेनिस : नेपालका सलोनी र सर्भानी फाइनलमा भिड्ने

‘आइटिएफ गल्र्स/ब्वाईज यू–१८ वल्र्ड -याङकिङ टेनिस टुर जे–५ सर्किट–२’ अन्तर्गत महिला एकलतर्फ नेपालका सलोनी तामाङ र सर्भानी श्रेष्ठले फाइनलमा प्रतिस्पर्धा गर्नुहुने भएको छ । अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ)सँगको सहकार्यमा कास्की जिल्ला टेनिस सङ्घले पोखरा रङ्गशाला स्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज सम्पन्न सेमिफाइनलमा तामाङले भारतका रीया दुगडलाई ६–३ र ६–२ अङ्कको सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभएको हो ।

यसैगरी महिलाएकलतर्फ नेपालको १ नं बरियताका अभिलाषा विष्ट ‘रिटार्यड हर्ट’ हुँदै खेलबाट बाहिरिँदा श्रेष्ठले फाइनल पुग्ने अवसर प्राप्त गर्नुभयो र तामाङसँगको भेट पक्का गर्नुभएको छ । महिला ‘डबल्स’को आज सम्पन्न फाइनल खेलमा भारतका नियती कुक्रेती र हाना नागपालको जोडीले उपाधि जितेको छ । उहाँहरूको जोडीले आफ्नै देशको रीया दुगर र तनुश्री पाण्डेको जोडीलाई ६–१, र ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पुरुष एकलतर्फको सेमिफाइनलको खेलमा स्विडेनका इमिलियो जियलकोस्कीले अमेरिकाका सिद्धार्थ लामालाई ६–२ र ६–४ अङ्कको सोझो सेटमा पराजित गर्नुभयो । फाइनलमा उहाँले हङ्गेरीका लोरान्ट ग्योरीसँग प्रतिस्पर्धा गर्नुहुनेछ । लोरान्टले सेमिफाइनलमा अमेरिकाका मिथ्रे ब्यारोटलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्नुभएको थियो । पुरुष ‘डबल्स’तर्फ अमेरिका र भारतका सिद्धार्थ लामा र मिथ्रे ब्यारेटको जोडीले भारतका कविर र दक्षप्रसादको जोडीसँग फाइनल खेल्नेछ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा दुई सातादेखि जारी प्रतियोगिता अन्तर्गतको सर्किट २ को फाइनल खेल शनिबार हुने सङ्घका सचिव नविन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित १० देशका ८८ जना खेलाडीको सहभागिता छ ।

Facebook Comments