असल चत्रिरका दुई गजल

गजल

आजकाल कामरेडहरूको हामीसँग संगत हुँदैन
पसिना बाहेक हामीसँग धन हुँदैन, दौलत हुँदैन ।।

 

 

स्वतन्त्रता, गणतन्त्र आएर पनि खै त हामीलाई
अझैसम्म पनि सिंहदरबार छिर्ने इजाजत हुँदैन ।।

 

 

भोको पेट भुल्याउन माटो कोतर्छौँ सालन्य हामी
प्यास लाग्छ पसिना नै पिउँछौ तयारी सर्वत हुँदैन ।।

 

 

हाम्रो पनि त प्यास एउटै होला भोक एउटै होला
कसैलाई घरमै मार्सी बियर आउँछ अवगत हुँदैन ।।

 

 

हरेक साल हामीलाई असार आउँछ, साउन आउँछ
बारी खनिन्छ, कोदो रोपिन्छ माड खाने फुर्सद हुँदैन ।।

 

 

२.

गरेरै खा’को देख्छु पक्का ऊ चोर हैन
यसकै आधारमा त ऊ कमजोर हैन ।।

 

 

कैल्यकाही पिडाहरुले कलेजो खान्छ
ऊ पनि त मान्छे नै हो कुनै इश्वर हैन ।।

 

 

धरातल र हैसियतको तराजुमा राख्दा
ऊ गरिब र दरिद्र हो अवश्य कठोर हैन ।।

 

 

पधेँरोमा छुट्टै भर्न राखिएको घैँटो जस्तै
अपहेलित भएको छ ऊ तर फोहोर हैन ।।

 

 

आफू अडेको भूगोलले बन्दी बनाएको छ
उसको पनि त घर छ कुनै वस्तुको खोर हैन ।।

–साँझा बस्ती, खोटाङ

Facebook Comments