सामाजिक विकासका क्षेत्रमा लामो समय काम गरेर आफ्नो छुट्टै पहिचान बनाउनु भएको र समाजलाई केही गर्नु पर्छ भन्ने उर्जा बोकेका व्यक्ति हुनुहुन्छ छविराज पोख्रेल । उहाँ हाल जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको कार्यकारी अधिकृतको रुपमा काम गरिरहनु भएको छ । यस भन्दा पहिले उहाँले गरिबी निवारण कोषको उपकार्यकारी निर्देशकको रुपमा काम गरिसक्नु भएको छ । यसका साथै वासलगायत अन्य धेरै संंघ संस्थामा समेत काम गर्नु भएको अनुभव उहाँसँग छ । यसरी सामाजिक क्षेत्रमा काम गरिरहनु भएका पोख्रेलसँग हाल उहाँ कार्यरत रहेको संस्था र जल विद्युत उत्पादन, यसमा भएका समस्या, सुधार गर्नु पर्नेपक्षहरु र आजको युगमा जल विद्युतमा लगानीको औचित्यका बारेमा जलस्रोत डटकमले गरेको कुराकानी :
१. जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको स्थापनाको मुख्य उद्देश्य के–के थिए ?
कम्पनी आज भन्दा करिब ९ वर्ष पहिले २०६८ सालमा स्थापना भएको हो । नेपालमा जलविद्युत विकासको सम्भावना प्रशस्त हुँदा हुँदै पनि यसको विकास सोचे अनुसार हुन सकिरहेको थिएन । साथै यस सम्बन्धी अन्य समस्याहरुको साथ लगानी परिचालनको भरपर्दो माध्यम नहुँदा जलविद्युत क्षेत्रको विकासको लागि चाहिने आवश्यक पुँजीको अभाव नै प्रमुख समस्याको रुपमा रहेको महसुस गरी सो समस्याको दिर्घकालिन समाधान खोज्ने उद्देश्यले यस कम्पनीको स्थापना गरेको देखिन्छ । यसका प्रमुख तीन उद्देश्यहरु छन् ।
(क) पहिलो
जलविद्युत आयोजनाहरुको तिव्र विकासको लागि सरकारी निकायबाट मात्र भएका प्रयासहरु सम्भव नहुने हुँदा प्राइभेट सेक्टर लाई पनि अगाडी बढाउनु पर्ने हुँदा उनीहरुबाट प्रबद्र्धन गरिएका आयोजनाहरुमा लगानीमा सहकार्य गरी अगाडी बढ्न मद्दत गर्ने र देशलाई ऊर्जाको संकटबाट जति सक्दो चाँडै बाहिर ल्याउने ।
(ख) दोस्रो
उर्जा क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय बहुर्राष्ट्रिय कम्पनीहरुसँगको सहकार्यलाई उपयोग गरी आफ्नो रणनीतिक उद्देश्य पुरा गर्न ठुला आयोजनाहरुको विकास गरी अन्तराष्ट्रिय पुँजी भित्रयाउन भूमिका खेल्ने ।
(ग) तेस्रो
जलविद्युत क्षेत्रको तिव्र विकासको लागि ठूलो पुँजी परिचालन हुनुपर्नेछ र सो कार्य स्वदेशी लगानी बाट मात्र समन्वय नहुने हुँदा, बैदेशिक बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियत ऋण वा अनुदान लिई यस क्षेत्रमा परिचालन गर्ने ।
२. कम्पनीले स्थापनाकालको उदेश्य अनुसार निर्देशित लक्ष्य प्राप्ति तर्फ सफलता प्राप्त गरेको छ त ?
कम्पनी निर्देशित लक्ष्य प्राप्तिको दिशामा सहि दिशामा बढिरहेको छ । पहिलो उद्देश्य प्राप्ती तर्फ कम्पनीले हाल सम्म निजी लगानीकर्ताहरुबाट प्रबद्र्धन गरिएको करिब ५१५.४ मेगावाट क्षमताको १३ वटा आयोजनाहरुमा १०.८ अर्व नेपाली रुपैया ऋण लगानी गरी सकेको छ । त्यस्तै स्वपुँजी लगानी तर्फ कम्पनीले हाल सम्म ७८७.३ मेगावाट क्षमताको ५ वटा आयोजनाहरुमा ८.३ अर्व नेपाली रुपैया र ५ वटा सरकारी कम्पनीहरुमा १.१अर्व रुपैया गरी जम्मा ९.४अर्व नेपाली रुपैया स्वपुँजी लगानीगरी सकेको छ ।
यसरी हालको लगानी तर्फ कम्पनीको आकार २०.२ अर्व नेपाली रुपैया पुगेको छ । अर्कोतर्फ कम्पनीले यस क्षेत्रको लागि आवश्यक बैदेशिक पुँजी भित्र्याउने उद्देश्यका साथ बैदेशिक बैंक तथा वित्तीय संचालक सँगको सहकार्यलाई तिब्रता दिएको छ ।
त्यस्तै दोस्रो उद्देश्य प्राप्ती तर्फकम्पनीले उर्जा क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय बहुर्राष्ट्रिय कम्पनीहरुसँगको सहकार्यलाई उपयोग गरी आफ्नो रणनीतिक उद्देश्य पुरा गर्न ठूला आयोजनाहरुको विकास गर्ने कार्यलाई औपचारिकरुपमा अघि बढाएको छ । कम्पनीले १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत आयोजना र ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत आयोजना विकास गर्ने कार्यलाई औपचारिक रुपमै सुरु गरिसकेको छ ।
कम्पनीले १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत आयोजनाको लागि विद्युत विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरीसकेको छ । त्यसैगरि ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत आयोजनाको लागि लगानी बोर्डसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । कम्पनीले यी दुवै आयोजनाहरु POwewr Construction Corporation Of China (POWERCHINA) सँगको साझेदारीमा विकास गर्ने सम्बन्धमा दुवै पक्ष वीच समझदारी पत्रमा हस्ताक्षर भई सकेको छ । त्यसैगरि भारत सरकारको स्वामित्व भएको NHPC Limited सँग संयुक्त रुपमा ठूला आयोजना विकास गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ र यो वर्ष कम्पनीले NHPC Limited संगको सहकार्यमा विकास गरिने ठुला सम्भाव्य आयोजनाको पहिचान गरि आयोजना कम्पनी बनाउन मिलेर कार्य गर्ने छ । यसका अतिरिक्त कम्पनीले बिदेशमा कामगर्ने नेपालीहरुमार्फत रेमिट्यान्सबाट प्राप्त हुने रकमलाई जलविद्युत आयोजना विकासमा उपयोग गन र उनीहरुलाई लगानीको अवसर उपलब्ध गराउन आफ्नो सहायक कम्पनीको रुपमा रेमिट हाइड्रो लिमिटेड र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड कम्पनी स्थापना गरेको छ । रेमिट हाइड्रो लिमिटेड मार्फत ७७.५ मे.वा. क्षमताको घुन्साखोला जलविद्युत आयोजना र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड मार्फत ७१.५ मे.वा. क्षमताको सिम्बुवाखोला जलबिद्युत आयोजनाको निमार्ण कार्यलाई अगाडि बढाईरहेका छौ ।
तेस्रो उद्देश्य प्राप्ती तर्फ कम्पनीले हाल सम्म विश्व बैंक मार्फत ४० मिलियन यू.एस.डलर सहुलियत ऋण लिई लगानी गरिएको छ भने एशियाली विकास बैंक मार्फत ५० मिलियन यू.एस.डलर बराबरको सहुलियत ऋण लिने कार्य अगाडि बढाईरहेको छ । यसको अलावा कम्पनीले अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरुसँग सहुलियत ऋण वा अनुदान लिई यस क्षेत्रमा परिचालन गर्ने कायलाई पनि प्राथमिकतामा राखी कार्य गरिरहको छ ।
जस अन्तरगत SAARC Development Fund (SDF) संग १५ मिलियनयू.एस.डलर बराबरको सहुलियत ऋण लिने कार्य करिब अन्तिम चरणमा पुगेको छ भने AIIB, IFC, JICA लगायत अन्य संस्थाहरुसँग पनि सहकार्यको लागि छलपल अगाडि बढाईएको छ ।
समग्रमा ९ वर्षको छोटो अबधिमा कम्पनीले लगानी तर्फ २३ वटा परियोजनाहरुमा २० अर्व २२ करोड नेपाली रुपैयाँ लगानी गरिसकेको छ भने बैदेशिक ठूला सरकारी कम्पनीहरु तथा बिदेशमा कामगर्ने नेपालीहरुसँगको सहकार्यमा जम्मा १०६१ मे.वा. क्षमताका ४ वटा जलविद्युत आयोजनाहरुको निमार्णगर्ने गरी अगाडि बढिरहेका छौ, जुन नेपालको जलविद्युत क्षेत्रको विकासमा राज्यले बिगतका करिब १०० वर्षमा प्राप्त गरेको अपलब्धी हो । साथै ९ वर्षको अबधिमा कम्पनीले रु ७ अर्ब ५५ करोड जम्मा आम्दानी गरेको छ र कर पछिको खुद नाफा रु ५ अर्ब २५ करोड रहेको छ ।त्यस्तै कम्पनीले हाल सम्म आफ्ना शेयर धनिहरुलाई रु ४ अर्ब १२ करोड लाभाशं वितरण गरी सकेको छ र नेपाल सरकारलाई करको रुपमा रु २ अबै ६४ करोड र लाभाशंको रुपमा रु २ अर्ब १६ बरोड गरी जम्मा रु ४ अर्ब ८० रकम भुक्तानी गरेको छ भने कम्पनीले रु १ अर्ब १० करोड जगेडा पुँजीको रुपमा संचित राखेको छ । यी उपलब्धिहरुका आधारमा हामी भन्न सक्दछौ कि कम्पनीले नेपाली बैंक तथा वित्तीय संस्थाहरु, बैदेशिक बैंक तथा वित्तीय संस्थाहरु, नेपाली निजी लगानीकर्ता, सरकारी निकायहरु र बैदेशिक ठूला सरकारी कम्पनीहरु सँग मिलेर जलविद्युत क्षेत्रको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ । विगत ९ वर्षमा भएको उल्लेखनीय उपलब्धी एक्लै गरिरहेका छैनौं र म जहिलेपनि कुनै पनि क्षेत्रको विकास एकल प्रयासमा नभै सामूहिक प्रयासबाट गर्नुपर्दछ भन्ने कुरामा विश्वास राख्दछु ।
३. तपाईको विचारमा कम्पनीले विगत ९ वर्षमा केही कमजोरी गरेको छ ?
मनको कुरो सोध्नु भयो । हामी जहिले पनि उपलब्धी सुनाउन र सुन्न आतुर हुन्छौं तर कमजोरी र सुधारका बारेमा भन्न डराउछौं । मलाई लाग्छ नेपालले जलविद्युत क्षेत्रमा पनि हामी त्यहि गल्ती गरिरहेका छौ । कमजोरीहरु सधैं लुकाएर राख्दा तिनलाई बाहिर ल्याएर ब्यापक छलफल गरी सुधारेर अगाडि बढने अवसरबाट बन्चित रह्यौ । यो कम्पनी पनि यसबाट अछुताे छैन । यस कम्पनीले ६ वर्षको अवधि सम्म एउटा मात्र लगानीकर्ताकाे रुपमा काम गरिरहेको थियो । यसले आफूलाई एउटा अर्को बैकको रुपमा ऋण लगानी गर्न संस्थाको रुपमा मात्र बुझ्यो । मलाई लाग्दछ यो ठूलो भूल थियो । किनकी नाफा कमाउने संस्था कम भए भनेर नेपाल सरकारले अर्को बैंकको रुपमा यसको स्थापना गरेको हैन । यसको उद्देश्य बढी भन्दा बढी पुँजी कमाएर यसका लगानीकर्तालाई बाड्ने मात्र पनि हैन । यसको मुख्य उद्देश्य स्वपुँजी लगानीका समस्याका कारणबाट अगाडि बढ्न नसकेको बढी भन्दा बढी आयोजनाहरुमा निजी प्रबद्र्धकहरुलाई स्वपुँजीमा सहजीकरण गरी जति सक्दो बढी राम्रा आयोजनाहरुलाई निर्माणको चरणमा पुर्याउनु हो । ऋण लगानी गर्नको लागि त अन्य बैंकहरु छदैछन् नि । हो ठूला आयोजनाहरुमा लाग्ने ठूलो ऋण लगानीलाई पनि समाधान गर्न सहुलियत ऋण र अनुदान लिई लगानी गर्नु पनि पर्दछ तर विगत ६ वर्ष करिब ६०% चुक्ता पुँजी अर्को बैकहरुले जस्तै ऋणमा लगानी गर्नु एक हद सम्म बाटो विराउन खोजेकै हो किनकी कम्पनीको प्रबन्ध पत्र हेर्नु भयो पनि त्यसको मूल संकल्प ऋण भन्दा स्वपुँजीमा लगानी गर्दै नेपाली प्राइभेट सेक्टर र सरकारी निकायहरुबाट विकास भईरहेका आयोजनाहरुमा सहकार्य गर्ने देखिन्छ । हामीले यसलाई सुधारेर अगाडि बढी सकेका छौ र स्वपुँजी लगानीको थालनी गरिसकेका छौ ।
४. स्वपुँजीमा लगानी नगर्दा कमजोरी भयो भन्नु भयो कसरी ?
स्वदेशी निजी क्षेत्रलाई जलविद्युत जस्तो लामो (७–१२) वर्ष सम्मको returned Period भएको लगानीकाे क्षेत्रमा आकर्षित गर्ने भन्ने अनि त्यसको लागि आवश्यक पर्ने ठूलो स्वपुँजी लगानीको समस्यालाई नजर अन्दाज गर्ने अनि कसरी हुन्छ ? मानौ एउटा २ MW को जलविद्युत परियोजना छ र त्यसको प्रति MW मुल्य २० करोड लिदा पनि कुल लागत ५ अर्व हुन्छ र ७०ः३० को अनुपात राख्दा १.५ अर्व यसको स्वपुँजी लगानी हुन्छ । तपाई यसो जलविद्युत क्षेत्रमा लागेको लगानीकर्ताहरुलाई नियालेर हेर्नुस आफ्नो १.५ अर्व रुपैयाँ लगानी गरेर ७–१२ वर्ष प्रतिफलको लागि कुर्ने सक्ने र्धेर्यता कतिमा छ । कागजमा पैसा लगानी गरेको देखाउँदै, आयोजनाका लागत बढाउँछौ अनि बैंकबाट बढी ऋण ल्याउँछौ, त्यसैले स्वपुँजीको लगानीको समस्या टार्दछौं र अझ त्यसमा भ्याएसम्म आफ्ना घरायसी समस्या र मनका रहरहरु पनि त्यही ऋणको पैसालाई घुमाउरो बाटोबाट परिचालन गरेर पुरा गर्दछौ । म यसमा निजी प्रबद्र्धकलाई मात्र दोष दिन्न किनकी अरु उपाय नभएपछि उहाहरुलाई यो बाध्यकारी माध्यम भएको छ । यसैले आयोजनाको उत्पादन मूल्य बढाएको छ, हामीमा अपारदर्शी काम गर्ने प्रवृतिलाई बढुवा दिएको छ र समग्र क्षेत्रलाई गलत बाटोतर्फ लगिन थालेको छ । त्यसैले आयोजनामा स्वपुँजी लगानीमा देखिएको समस्यालाई बेलैमा सम्बोधन गर्न पर्दछ र यस कम्पनीको मूख्य दायित्व यसतर्फ हुनु पर्दछ जस्तो लाग्दछ । त्यस माथि कम्पनीले विगतमा गरेको ठूलो भूल IPO जारी गरी जनताको पैसा उठाएर ब्याजमा ऋण लगानी गर्ने पनि देखाएको छ । आफै ५-७ वर्ष डिपोजिट राख्ने बैंकले नै ९% – १०% सम्म ब्याज दिएका छन् भने त्यो पैसा IPO मार्फत उठाएर ८–९% मा ऋण लगाएर जनताको आंकाक्ष पुरा गर्न सकिन्छ ? IPO जारी गरी पैसा उठाएपछि कम्पनीले स्वपुँजी लगानीमा बढी भन्दा बढी ध्यान दिनु पर्दथ्यो । त्यहाँ कम्पनी विगतमा चुकेको थियो तर हामी त्यसमा सुधार गरेर अगाडि बढिसकेका छौ । अव यो कमजोरी दोहोरीने छैन ।
५. कम्पनीको भावी कार्ययोजना बारेमा केही बताईदिनुस त ?
कम्पनीले आफ्नो स्थापनाको मूल उद्देश्य प्राप्तिको लागि ५ वर्ष व्यवसायिक योजना तयार गरि सञ्चालक समितिबाट स्वीकृती पश्चात् त्यसको कार्यान्वयमा लागेको छ । कम्पनीले आ.ब. २०७८/०७९ को अन्त्य सम्म करिब ३३३९MW क्षमताका बिभिन्न २३ वटा आयोजनाहरुमा करिब ६५ अर्व नेपाली रुपैयाँ स्वपूजी लगानी गर्ने र त्यस मध्ये ११ अर्व परिचालित गरिसक्ने लक्ष्य राखेको छ । त्यस्तै २८१० MW बराबर क्षमताका १४ वटा आयोजनाहरुमा करिब ४९ अर्व नेपाली रुपैयाँ ऋण लगानी गर्ने र त्यस मध्ये १३ अर्व परिचालित गरिसक्नेलक्ष्य राखेको छ । समग्रमा ४३६७ MW बराबर क्षमताका ३७ वटा आयोजनाहरुमा करिब ११४ अर्व नेपाली रुपैयाँ लगानी गर्ने र त्यस मध्ये २५ अर्व परिचालन समेत गरी नेपाल सरकारको नीति तथा कार्यक्रम मार्फत जलविद्युत क्षेत्रको विकासमा लिएको लक्ष्य प्राप्तिको लागि खरो रुपमा अगाडि बढ्दै छ । यसको अतिरिक्त कम्पनीले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट माननीय मन्त्रीज्यूको अध्यक्षतामा जारी भएको स्वेतपत्रमा उल्लेख गरिए अनुसार स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुसँग भएको पुँजीलाई जलविद्युत क्षेत्रको विकासमा लगानी गर्ने अवसर जुटाउने उद्देश्यका साथ अगाडि सारिएको जनताको जलविद्युत कार्यक्रममो सफल कार्यान्यनको लागि पनि अग्रपंङ्तीमा रहेर कार्य गर्ने छ ।
६. माथि उल्लेखित लक्ष्य प्राप्तिको लागि ठूलो पुँजीको परिचालन गर्नुपर्ने देखिन्छ । जुन त्यति सजिलो देखिदैन त्यसका लागि के कस्तो नीतिहरु अवलम्बन गर्नेछ कम्पनीले ?
सहि कुरो गर्नुभयो लक्ष्य ठूलो छ र त्यसका लागि पुँजी जुटाउनु उत्तिकै चुनौतिपूर्ण छ । तर म असम्भव देख्दिन । पक्कै हो कार्यक्षमता र कार्य कुशलता अनि क्रियाशीलता बढाउनु पर्दछ । कम्पनीले पुँजी परिचालनको लागि तल उल्लेखित ४ वटा नीतिहरु अवलम्बन गर्ने लक्ष्य राखेको छ ।
(क) नेपाली जनता र बजारमा रहेको पुँजीलाई व्यवस्थित रुपमा जलविद्युत क्षेत्रमा परिचालन गर्न लगानीका दिर्घकालिन औंजारहरु Power Bond जारी गर्ने लक्ष्य लिएको छ ।
(ख) ठूलो परियोजनाहरुको विकासमा अभाव हुने पुँजीको परिचालनको लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहयोगमा बैदेशिक बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ऋण तथा अनुदान भित्र्याउने कार्य गर्ने छ ।
(ग) नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चाहने बैदेशिक लगानीकर्ता/कम्पनीहरु सँगको सहकार्यमा केहि ठूला आयोजनाहरुको विकासमा सहभागी भई ऋण भित्रयाउने लक्ष्य लिएको छ ।
(घ) विदेशमा रहेका नेपाली दाजुभाइलाई आफ्नो आम्दानीको निश्चित हिस्सा जलविद्युत क्षेत्रमा लगानी गर्न अवसर जुटाई उहाँहरुलाई दिर्घकालीन आय–आर्जन अवसर प्रदान गर्दे उहाँहरुलाई राष्ट्र निर्माणको अभियानमा आफ्नो सहभागिता रहेको अनुभूती गराउन राम्रा आयोजनारुहरुको छनौट गरी कार्य अगाडि बढाउने नीति लिएको छ ।
७. कम्पनी पब्लिक कम्पनी हो र यसको सर्वसाधारण शेयरधनीको संख्या अनुसार काम गर्न सकेन भन्ने गुनासो छ नि ? के भन्नुहुन्छ यस बारेमा ?
यस कम्पनीमा २०% सर्बसाधारण जनताको लगानी छ , त्यो साँचो हो । फेरि के पनि साँचो हो भने यस कम्पनीको प्रकृति खाली मुनाफा मात्र कमाएर बाड्ने होइन । यो अलि फरक उद्देश्यका साथ खोलिएको कम्पनी हो । जुनकुरा कम्पनीले IPO जारी गर्दा सम्बन्धित सरकारी निकायबाट स्वीकृति पश्चात् सर्वसाधारणको लागि प्रकाशित शेयर खरिद पूर्व अध्ययनको लागि जारी गरिएको निर्देशिकाबाट पनि थाहा पाउन सकिन्छ । जसमा कम्पनीले २०७५ सालमा बल्ल ४.६८% मुनाफा बाड्ने लक्ष्य प्रष्टसँग उल्लेख गरेको छ । कुनै पनि शेयरमा लगानी गर्नु पूर्व त्यसबाट भविष्यमा हुने जोखिमको आंङ्कलन गर्नु स्वयं लगानी कर्ताको दायित्व हुन्छ । त्यसमाथि कम्पनी ४.६८% मुनाफा दिने लक्ष्य पूर्व नै ५% देखि १०% सम्म मुनाफा दिइ रहेको अवस्थामा आफ्नो शेयर सम्बन्धि अज्ञानका कारण अनावश्यक अपेक्षा राखेर पुरा नहुँदा असन्तुष्टि देखाएर कम्पनीलाई दोष दिनु न्यायोचित देखिदैन किनकी कम्पनीले आफैले IPO जारी गर्दा गरेको प्रक्षेपण भन्दा बढी मुनाफा दिएको छ । अर्को कुरा के चाहि साँचो हो भने विगतमा व्यवस्थापन बेलैमा प्रबन्धपत्रमा उल्लेख गरिएको प्रावधान अनुसार आयोजनाहरुमा स्वपुँजी लगानी गरेको भए धेरै राम्रो हुने थियो । त्यो कमजोरी विगतमा भएकै हो र हामीले त्यसलाई सञ्चाएर अघि बढी सकेका छौ भन्ने कुरा मैले पहिले नै भनि सके ।त्यसैले अब कम्पनीको भबिस्य राम्रो छ ।
८. कम्पनीलाई अर्को आरोप पनि छ नि ? कम्पनीले ठूलो रकम आयोजनाहरुमा नलगाई बैंकमा राखेर व्याज असुली गरी राखेको छ भनिन्छ नि । यस बारेमा के भन्नुहुन्छ ?
यो स्रोहै आना गलत र नाकारात्मक सोच भएकाहरुबाट लगाइएका / प्रचार गरिएकाे कुरा हो । मैले कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य सुरु गरेको तीन वर्ष पुरा भयो । त्यसवेला १० अर्व चुक्ता पुँजी मध्ये करिब ५ अर्व मात्र लगानी थियो र २५ करोड मात्रपरिचलित थियो । अहिले त्यसको आकार लगानी तर्फ २० अर्व पुगेको छ भने त्यस मध्ये ५५ अर्व परिचालित धईसकेको छ ।
कम्पनीले निर्माण सम्बन्धमा विश्वव्यापी रुपमा अपनाइने मार्गदर्शक सिद्धान्तहरुलाई नै अवलम्बन गरेर काम गरेको छ । कुनै पनि आयोजनाको निर्माण गर्नुपूर्व सो आयोजना सम्बन्धमा गरिएका विभिन्न अध्ययनहरुका आधारमा आवश्यक लागत अनुमान अनुसारको पुँजीको व्यवस्था गरी सम्बन्धीत निकायबाट स्वीकृत गर्ने र त्यसको आधारमा निर्माण कार्य अगाडि बढाइने र निर्माण कार्यमा भएको प्रगतिको आधारमा भुक्तानी दिने र कार्य प्रगति हुन बाँकी रहेका हिस्साको रकम कार्य प्रगति नभएसम्म भरपर्दाे बैंक वा वित्तीय संस्थामा निश्चित व्याजदर प्राप्त गर्ने गरि राखिन्छ । यो विश्वव्यापी अभ्यास हो र हामीले त्यही गरिराखेका छौं । यस सम्बन्धमा लगाइएका आरोप सहि मान्ने हो भने त यात आवश्यक स्रोतको सुनिश्चितता बिना योजना थाल्नु पर्ने हो, यात कुनै पनि योजनाको रकम कार्यप्रगति आधारमा नभै सिधै सबै निर्माणकर्तालाई दिनुपर्ने हो र त्यो पनि हैन भने कार्य प्रगति हुन बाँकी रहेको हिस्साको बजेटको रकम बिना व्याजमा बैंकमा राख्नुपर्ने हो । मलाई लाग्छ, एउटा इन्जिनियरिङ्ग विधाको विधार्थीका हिसाबले तथा मेरो १८ वर्ष लामो निर्माण क्षेत्रको कार्य अनुभव र एक वित्तीय संस्थाको प्रमुखको हिसाबले माथि उल्लेखित तिनै कुरा गलत छन् र हामीले गर्दै आएको निर्माणकार्य सुरु गर्नु पूर्व स्रोतको सुनिश्चितता, कार्यप्रगतिका आधारमा भुक्तानी र भुक्तानी हुन बाँकी रहेको रकम सुरक्षित बैंकमा निश्चित व्याजदरमा राख्ने कार्य शत प्रतिशत ठिक छ । त्यसैले कम्पनी माथि यस सम्बन्धमा लगाईएको आरोप पुर्वाग्राही, तथ्य नबुझिकन अनी नकारात्मक सोच भएका मान्छेहरुबाट आउने सोचको रुपमा लिनु पर्दछ । यस कुरालाई सुन्नु चाहिँ पर्दछ तर धेरै महत्व नदिइ आफूलाई हतोत्साहित नगराई आफ्नो गन्तव्य तर्फ लागि रहनु पर्दछ । म र मेरो मातहतका सबै कर्मचारीले यसरी नै काम गरिरहेका छौ । हामीले लगानीको निर्णय भएका आयोजनाहरुले कार्य प्रगतिका आधारमा माग भएको रकम बढिमा दुई दिन भित्र भुक्तानी गरेका छौ र यस पद्धतिलाई निरन्तरता दिन हामी संकल्परत छौ ।
९. जलविद्युत क्षेत्रको विकासमा तपाईले देख्नुभएका प्रमुख समस्याहरु के–के हुन ?
कुनै पनि क्षेत्र समस्या रहित हुँदैन र जलविद्युत क्षेत्रपनि त्यसबाट अछुतो छैन र समस्याहरु सुधार्नै नसकिने खालका पनि छैनन् । म गलत पनि हुन सकुला तर मेरो विचारमा यस क्षेत्रको विकासमा रहेका बिद्यमान समस्याहरु यी छन् ।
पहिलोः प्रशारण लाइनको व्यवथित विकास नहुनु र निर्माण भईरहेका प्रशारण लाइनको आयोजनाहरुमा भइरहेको ढिला सुस्ती अत्यन्त सम्बेदनशील छ । यसले तिन प्रकारका असर पारेकोछ । पहिलो लगानीकर्ताले आफ्नो यथोचित प्रतिफल प्राप्त गर्न सक्दैन र उ निरुत्साहित हुन्छ । दाेस्रो विद्युत प्राधिकरण जो प्रशारण लाइन बनाउने निकाय हो सो कार्य गर्न नसके वापत जरिवाना तिर्दा संस्थाको आर्थिक सवलता घट्छ र तेस्रो उत्पादित विजुली खेर जाँदा सोही बराबरको भारतबाट खरिद गर्दा राज्यले ठूलो रकम भुक्तानी गर्नुपर्ने हुन्छ जस्ले राज्यको व्यापार घाटा अझ बढाउँछ । यसको समाधान भनेको जिम्मेवारी लिएको व्यक्ति वा संस्था उत्तरदायी हुनुपर्दछ । राज्यका विभिन्न निकाय विचको समन्वय तथा कार्य गर्ने तौरतरिकामा सुधार ल्याउनु पर्दछ र स्थानीय जनता विकासको सहजकर्ता बन्नु पर्दछ ।
दोस्रोः जलविद्युत क्षेत्रमा दोस्रो ठूलो समस्याको रुपमा आवश्यक पुँजीको अपर्याप्तता हो । राज्यले यो क्षेत्रको विकासमा जुन लक्ष्य लिएको छ त्यसको प्राप्तिको लागि स्वदेशी पुँजी मात्र पर्याप्त छैन । बैदेशिक पुँजीको परिचालन निर्वाध रुपमा आवश्यक देखिन्छ । बैदेशिक बैंक तथा वित्तीय संस्थाहरु यस क्षेत्रमा लगानीको लागि सहुलियत ऋण दिन तयार पनि देखिन्छ तर यसका लागि राज्यले जुन तदरुकता देखाएकोछ त्यो पर्याप्त छैन । यसको लागि दुई निमनकारी निकायहरु अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको सहजीकरण प्रर्याप्त छैन । मेरो विचारमा राज्यले लक्ष्य मात्र तोकेर हुँदैन सो कार्यान्वयनको लागि उचित समन्वय आवश्यक छ । त्यसले मेरो विचारमा आगामी १० वर्षमा १५ हजार MW उत्पादन गर्ने हो भने सो को लागि आवश्यक पुँजी परिचालनको लागि अर्थ मन्त्रालयको नेतृत्वमा, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, राष्ट्र बैंक र लगानी बाेर्ड र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका प्रतिनिधिहरु सम्मिलित एउटा छुट्टै संयन्त्र आवश्यक छ । यससंयन्त्रलेजलविद्युत क्षेत्रको विकासको लागि आवश्यक पुँजी परिचालनमा देखिएका समस्यालाई समयमै छलफल गरी आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई सुझाव दिन्छ ।
तेस्रोः जलविद्युत आयोजनाहरुको विकासमा आवश्यक पर्ने जनशक्ति, निर्माण कम्पनीहरु, र आधुनिक निर्माण औजारहरु अप्रर्याप्तता हो । यसको लागि राज्य अल्पकालिन रुपमा विदेशी विज्ञहरुको परिचालन गरि स्वदेशी जनशक्तिलाई समेत काम गर्ने अवस्था सिर्जना गरि उनिहरुको क्षमता विकास गर्दै लाने लक्ष्य राख्नुपर्दछ । त्यसको लागि यस क्षेत्रको अध्ययन अनुसंन्धान तथा अनुगमन/सुपरिवेक्षणमा संलग्न सरकारी निकायहरु तथा निजी क्षेत्रबाट क्रियाशील संघ संस्थाहरु र निर्माण कार्यमा सम्लग्न निर्माण व्यबसायीहरुको बृद्धि विकासको बारेमा तथा नयाँ प्रबिधि भित्र्याउने कुरामा राज्यले विशेष महत्वका साथ सोच्नु पर्दछ ।
चौथोः स्थानीय सरकार र जनताहरुकाे अबरोध हो । वास्तवमा स्थानीय सरकार र जनताहरुलेआयोजनाको निर्माण चरणमा सहजकर्ता भूमिका निर्वाह गर्नुपर्दछ नकी बाधक । यसको समाधानको लागि स्थानीय सरकार र जनताहरुलाई निमाणधिन आयोजनाहरुबाट हुने आम्दानीबाट उनिहरुले पनि लाभान्वित हुने तरिकाले आयोजनाहरुको सेयर संरचना बनाएर जानु पर्दछ र आयोजना निर्माण तथा संचालनका बिभिन्न चरणमा बढी भन्दा बढी स्थानीय जनताहरुलाई रोजगारीका अबसर दिएर अगाडि बढनु पर्दछ ।
१०. माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीज्यूको अध्यक्षतामा मन्त्रालयले स्वेतपत्र जारी गरेको छ र सरकारले त्यसको आधारमा नीति तथा कार्यक्रम मार्फत ऊर्जा क्षेत्रको विकासमा राखेको १० वर्षमा १५ हजार मे.वा. जलविद्युतको उत्पादन तथा सो संग संम्बन्धित अन्य लक्ष्यहरु महत्वकांक्षी हुन् नि । तपाईलाई के लाग्दछ ?
मेरो विचारमा स्वेतपत्र तथा सरकारको नीति तथा कार्यक्रम मार्फत ऊर्जा क्षेत्रको विकासको लागि सरकारले नीतिहरु र राखेको लक्ष्य अत्यन्त महत्वकांक्षी लाग्दैन र पुरा गर्न नसकिने खालका छन् जस्तो लाग्दैन तर एउटा कुरा साँचो के हो भन्ने राष्ट्र बैंक, मन्त्रालयहरु, सम्बन्धित विभागहरु, सरकारी कम्पनीहरु र प्राइभेट क्षेत्रको कार्यशैलीहरु अहिले जे छन त्यसैलाई निरन्तरता दिएमा र नयाँ तरिकाले नसोचेमा वा सुधार नगरेमा पक्कै ती लक्ष्य प्राप्ति गर्न सकिदैन । हामीले हाम्रा कार्यशैलीहरुमा सुधार गर्नुपर्ने देखिन्छ । जस्तै अर्थ मन्त्रालय, राष्ट्र बैंकले ऊर्जा क्षेत्रले राखेका लक्ष्य प्राप्तिको लागि आवश्यक पर्ने बैदेशिक पुँजी भित्र्याउनको लागि Regulatory Body को रुपमा मात्र काम गर्ने मानसिकताबाट हाम्रो काम सो कार्यमा सहजीकरण गर्न पर्ने हो भन्ने सोच्नु आवश्यक छ । विद्यमान कानुनी प्रावधान देखाएर बैदेशिक पुँजी भित्र्याउन सकिदैन भन्नु भन्दा त्यस्ता कानुनी प्रावधानहरुलाई परिवर्तन गर्न तिर अग्रसर हुनुपर्दछ । USD मा PPA गर्दा बर्वादै हुन्छ भन्ने मानसिकताबाट माथि उठेर Dolar मा PPA गर्ने तर यसबाट हुनसक्ने Foreign Currency Excahange Risk लाई सम्बोधन गर्न Hedging FundEstablish र त्यसको प्रभावकारी कार्यान्वयनको Mechanism बनाउन तर्फ ध्यान दिनु पर्दछ । नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागले सरकारले स्थापना गरेका कम्पनीहरुलाई प्रर्तिस्पर्धिको रुपमा भन्दा सहयोगी संस्थाको रुपमा लिनु पर्दछ । निजी प्रबद्र्धकहरुले विभिन्न कालखण्डमा कानूनी रुपमा आफ्नो हातमा लिएका आयोजनाहरु आफूले बनाउन सकिदैन भने त्यस्ता आयोजनाहरुको अनावश्यक मुल्य राखेर बागेनिङ्ग गरी राख्ने र अड्काएर राख्ने कुरामा सुधार हुनुपर्दछ । यी त केही प्रतिनिधि मूलक कुरा मात्र हुन, हामीले सुधार गर्नुपर्ने थुप्रै क्षेत्रहरु छन् र हामी सबै साच्चीकै सच्चिएर काम गर्न चाहेमा स्वेत पत्र र सरकारको निति तथा कार्यक्रमले राखेका लक्ष्यहरु हासिल गर्न सकिन्छ र हामीले सक्नुपर्दछ । यसमा छुट हुनुहुँदैन ।
११. तपाईको कार्यशैलीका केहि टिप्सहरु बताइदिनुस न ।
सबै व्यक्तिको आफ्नो आफ्नो टिप्स हुन्छन मेरो प्रमुख ५ कुरा छन ।
पहिलोः म कहिलेपनि एक्लै काम गर्न चाहन्न, टिममा विश्वास गर्दछु । सफलतामा अनावश्यक हिस्सा खोज्दिन र असफलतामा आफूले पनि हिस्सा पाउनु पर्दछ भन्ने मान्यताका साथ काम गर्दछु ।
दोस्रोः म देश, जनता र आफु कार्यरत संस्थाको हित सधै केन्द्रमा राखेर काम गर्दछु र गर्नुपर्दछ भन्ने विश्वास गर्दछु ।
तेस्रोः भागवत गीताको निस्काम कर्म भन्ने मर्मबाट प्रेरित छु । काम गर्दे जानु पर्दछ, त्यसको फल अवस्य मिल्दछ ।गरेकाे कार्यको फलको बारेमा अनावश्यक चासो र आशक्त हुनु पर्दैन भन्ने कुरामा विश्वास गर्दछ ।
चौथौंः म डराएर काम गर्दिन र कहिल्यै पनि असुरक्षित महसुस गर्दिन किनकी गलत नियत गरेर कहिल्यै काम गर्दिन त्यसो भएपछि डराउनु पर्देन भन्ने लाग्दछ ।
पाँचौंः केहि सफलता प्राप्त गरेको महसुस भएर अहंकार बढेको भान भयो भने आफ्नो उमेर समूहका मानिसले गरेका प्रगति हेर्दछु र अझै काम गर्ने भोक जगाउछु । तर अभाव र असफलताले गर्दा नैरास्यता आउन थालेमा आफ्नै उमेर समूहका तर आफूजति पनि गर्न नसकेकालाई हेरेर आफूलाई सन्तोष दिएर सम्हाल्दै आफूलाई नोक्सान हुन नदिई काममा निरन्तरता दिन्छु ।
अन्त्यमा, केही भन्नु छ ?
देशमा जलविद्युत विकासको प्रचुर सम्भावना छ। विद्युतीय उर्जा भनेको बत्ति बाल्ने मात्र हो भन्ने मानसिकताबाट अगाडि बढेर सबै क्षेत्रको व्यवसायिक तथा यान्त्रिकिकरणमा त्यसै विद्युतीय उर्जाको उपयोगबाट हुन्छ भन्ने परिकल्पना गर्ने हो भने करिब १० हजार में.वा. सम्मको विद्युतीय उर्जाको लागि आन्तरकि बजारनै पर्याप्त देखिन्छ । यद्यपि उत्पादित इनर्जीको निर्यात गरी व्यापार घाटाको कुरालाई उत्तिकै ध्यान दिएर आघि बढ्नु पर्दछ । त्यसैले हामी सबै राज्यले जलविद्युत क्षेत्रमा राखेको लक्ष्य प्राप्तिको लागि सम्भव भए सम्मका सबै प्रयास गरेर अगाडि बढ्नु पर्दछ । नत्र हामी राष्ट्रलाई अन्याय गर्दछौं, हामी आफैंलाई अन्याय गदैछौं र भावि सन्ततिको लागित क्षमा गर्न नसकिने अन्याय गर्ने छौं ।