साधारण सेयरधनी सुरक्षित संस्थापक निर्धक्क

आयोगद्वारा विद्युत सम्बन्धी सेयर निष्कासन निर्देशिका २०७८ जारी

‘विद्युत कम्पनीको सेयर सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८’ विद्युत नियमन आयोगले जारी गरेको छ । विद्युत कम्पनीको (उत्पादन, प्रशारण, वितरण र व्यापार गर्नसमेत) सेयरको सार्वजनिक निष्काशन गर्न आयोगबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थालाई स्पस्ट, पारदर्शी तथा प्रभावकारी रुपमा कार्यान्वयन गर्न बान्छनीय भएकोले आयोग ऐन २०७४ को ४३ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरेको आयोगले जनाएको छ ।


पूर्वस्वीकृति लिनुपर्दा सेयर निष्काशनबाट प्राप्त हुने कुल रकमको उपभोगको सम्बन्धमा स्पष्ट वित्तीय योजना संचालक समिति तथा साधारणसभाबाट पास गरेको हुनुपर्नेछ । संचालक समितिले हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्ताव आयोगको सहमति लिइ साधारण सभामा पेश गरेको हुनुपर्ने तथा नेपाल स्टक एक्सचेन्जमा सूचीकृति भएको सेयर बिक्रि गर्न आयोगबाट पूर्व स्वीकृत लिनु पर्ने छैन भनि व्यवस्था गरेको छ ।


मुख्य कम्पनीको हैसियतमा एकाउन्न प्रतिशत वा सो भन्दा बढी सेयर रहने गरी मातहतका आयोजना वा आफ्नो सहायक कम्पनीको आयोजना वा नयाँ कम्पनी स्थापना गरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद सेयर निष्काशन गर्न सक्ने छ । आफू मुख्य कम्पनी हुने बाहेक अनुमति प्राप्त कम्पनीले निर्माण गरिरहेको वा गर्न गइरहेकोमा ५० प्रतिशत भन्दा कम सेयर लगानी गर्ने प्रयोजनमासमेत हकप्रद सेयर निष्कासन गर्न सक्नेछ । यसमा उक्त आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुरा गरेको हुनुपर्नेछ ।


त्यसकाे पूर्व स्वीकृतिका लागि दरखस्त दिदा मुख्य कम्पनी र सहायक कम्पनी विद्युत उत्पादनको व्यवसायिक उत्पादन सुरु गरिसकेको, मुख्य कम्पनीले सहायक कम्पनीकाे चुक्ता पुँजीको ५१ प्रतिशत वा बढी अंश ग्रहण गरिएको, पिपिए भएको, वित्तीय व्यवस्थापन भएको, उत्पादन अनुमति प्राप्त गरेको हुनुपर्ने र मुख्य कम्पनी धितोपत्र बजारमा सूचीकृति भएकाे हुनुपर्ने छ ।

धितोपत्र बजारमा सेयरको खरिद बिक्रि सम्बन्धमा साधारण सेयरधनीलाई मर्का नपर्ने गरी आफ्नो सेयर प्रचलित कानून बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सक्नेछन् । संस्थापक सेयर धनीले यस निर्देशिकाको अधिनमा रही प्रचलित कानून बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सक्नेछन् ।


बिभिन्न सम्बन्धित क्षेत्रबाट हकप्रद सेयर निर्देशिका २०७६ लाई समय सापेक्ष र लचिलो बनाउनु पर्ने माग उठिरहेको परिपेक्षमा आयोगले ऊर्जा मन्त्रालय, एचआइडिसियल, प्रवद्र्धकहरु, बैंकर्स, विज्ञ र सरोकार पक्षसँग व्यापक छलफल गरी अग्रगामी निर्देशिका जारी गरेको जनाएको छ । सर्वसाधारण सेयर धनीलाई सुरक्षीत हुने र संस्थापक सेयर धनीलाई निर्धक्क भइ सहज वातावरणमा व्यवसाय बढाउदै जान मिल्ने गरी नयाँ निर्देशिका जारी भएको जानकारहरुको भनाइ छ ।
आयोगको यहि असोज ७ गते बसेको बैठकले नयाँ निर्देशिका स्वीकृत गरी १० गते सार्वजनिक गरेको हो ।

Facebook Comments