सात सय ८३ घरधुरीमा धारा जडान

जिल्लाको व्यास नगरपालिका–१४ वडाका ७८३ घरधुरीमा पानीको धारा जडान गरिएको छ । ‘एक घर एक धारा’ अभियानअन्र्तगत यस वडाका सबै घरधुरीमा खानेपानी पुर्याउने अभियान अन्तिम चरणमा पुगेको छ । वडाभित्र रहेका ८२९ घरधुरीमध्ये अधिकांश घरमा धारा जडान गरिसकिएको छ । आँपटोलका ४६ घरमा धारा जडान गर्न बाँकी रहेको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । पानीको अभाव रहेको रुम्सी, ठिन, कुलुङ, छाब्दी, बेलबास, मास्दी, सोधेर, बलेडाँडामा धारा निर्माणको कार्य भइसकेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । व्यास नगरपालिकाको रु ३९ लाख ५० हजार र स्थानीय श्रमदानसहित करिब रु ५० लाखको लागतमा खानेपानी अभाव रहेको नयाँ गाउँका सबै घरमा खानेपानी धारा जडान गरिएको उहाँले बताउनुभयो । एक गाग्री पानी लिनका लागि घण्टौँ लगाएर कुवा तथा धारामा जानु पर्ने बाध्यतालाई अन्त्य गर्न नगरपालिकाले खानेपानीलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको थियो । एक घर कार्यक्रमअन्तर्गत नयाँगाउँका ५५ घरमा बनेका धाराहरुको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले केही दिनअघि मात्रै उद्घाटन गर्नुभएको थियो ।

Facebook Comments