ट्रस पुलले जोड्दै गागले र महत गाउँ

सूर्यविनायक नगरपालिका–९ नङ्खेलको गागले गाउँ र महत गाउँलाई ट्रस पुलले जोडिने भएको छ । डोके खोलाको शिरमा रहेको गागले गाउँका बासिन्दालाई वडा कार्यालयदेखि स्वास्थ्यचौकीसम्म आउन पनि अरनिको राजमार्ग पलाँसे निस्किएर घुमेर महत गाउँ हुँदै जानुपर्नेमा अब ट्रस पुलले निकै सहज बनाइदिने भएको हो । आज पुल शिलान्यास कार्यक्रममा पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले ट्रस पुल निर्माण सम्पन्न भएसँगै दुई गाउँ जोडिने बताउँदै यहाँका बासिन्दालाई बजार जानसमेत सहज हुने बताउनुभयो । सङ्घीय सरकारअन्तर्गत डोलिडारबाट विनियोजित रु २७ लाखको लागतमा ट्रस पुल निर्माण सम्पन्न हुने बताउँदै सांसद बस्नेतले भन्नुभयो, “ग्रामीण क्षेत्रको विकासका लागि म अहोरात्र खटिएको छु, यो वडामा मात्रै यस वर्ष पलाँसे महत गाउँ जोड्ने डोके खोला पुल, भातेढिकुरबाट नङ्खेल जाने भारआली नङ्खेल पुल र नलिन्चोक खड्का गाउँ जोड्ने त्रिवेणी खोला पुल गरी तीनवटा ठूला पुल निर्माण सम्पन्न भएको छ ।” ठूला सडकका कारण गोरेटो र घोरेटो बाटो नासिँदै गएको चर्चा गर्दै उहाँले ती ऐतिहासिक सडकको उत्खनन गरी जोगाएर पदमार्गका रूपमा विकास गर्दै ग्रामीण पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । चित्तपोलमा रहेको कैलाशनाथ महादेव र महतगाउँ हुँदै काक्राबारी जोड्ने गरी रु एक करोडको लागतमा उपत्यकाकै ठूलो झोलुङ्गे पुल निर्माण गरेको भन्दै उहाँले यसले आन्तरिक पर्यटकलाई आकर्षित गरेको बताउनुभयो । झोलुङ्गे पुलबाट महत गाउँ, काक्राबारी हुँदै ललितपुरको लाकुरीभञ्ज्याङ जोड्ने पदमार्गका लागि पर्यटन मन्त्रालयले बजेट विनियोजन गरेको भन्दै उहाँले कार्यक्रम भए बजेट ल्याउने जिम्मा आफ्नो भएको बताउनुभयो । कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले ट्रस पुल निर्माण चालु आवभित्रै सम्पन्न हुने उल्लेख गर्नुभयो । उहाँले पुल निर्माणपछि गागले गाउँका बासिन्दालाई वडा कार्यालय, स्वास्थ्यचौकी आउन सहज हुने र महत गाउँका बासिन्दालाई पञ्चकन्या मन्दिर जान, खेती गर्न जान आउन सहज हुने बताउनुभयो ।

Facebook Comments