चौथो एपाक IPv6 काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधार सुदृढ हुने अपेक्षा

काठमाडौं/सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक IPv6 काउन्सिल मीट भव्यरूपमा सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार डिजिटल पूर्वाधार र इन्टरनेट इकोसिस्टमसम्बन्धी व्यापक छलफलसँगै सम्पन्न भएको हो।

सम्मेलनको पहिलो दिन IPv6-संचालित एआई डाटासेन्टर, इन्टरप्राइज ICT को भविष्य, IPv6 को विकासक्रम, साइबर सुरक्षा, जोखिम व्यवस्थापन तथा नेपालको सार्वभौम डिजिटल रोडम्यापजस्ता विषयमा प्रस्तुति र छलफल गरिएको थियो।

कार्यक्रमका क्रममा सुबिसु लिमिटेड र एशिया–प्रशान्त क्षेत्रमा IPv6 प्रवर्द्धनमा सक्रिय एपाक IPv6 काउन्सिलबीच महत्त्वपूर्ण सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एपाक IPv6 का तर्फबाट प्रा. एमेरिटस डा. सुरेश्वरन रामदास र सुबिसुका सीईओ बिनय मोहन साउदले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय तथा स्वदेशी विज्ञहरूले IPv6 कार्यान्वयन, DNSSEC प्रविधि, वित्तीय क्षेत्रमा IPv6 का चुनौती तथा रणनीतिका विषयमा आफ्नो धारणा राखेका थिए। साथै डिजिटल पूर्वाधार र इन्टरनेट इकोसिस्टमसम्बन्धी प्यानल छलफल तथा कार्यशाला पनि आयोजना गरिएको थियो।

आयोजक सुबिसु लिमिटेडका सीईओ बिनय मोहन साउदले सम्मेलनले स्वदेशी तथा विदेशी विज्ञबीच अनुभव आदान–प्रदान गराउँदै नेपालको नीति निर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले नेपाल विश्वस्तरका नवीनतम प्रविधिसँगै अघि बढिरहेको सन्देश सम्मेलनले दिएको बताए।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले IPv6 प्रयोगमार्फत कनेक्टिभिटी विस्तार गर्न सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले IPv6 नै भविष्यको मार्ग भएको उल्लेख गर्दै माइग्रेसनसम्बन्धी परामर्शपत्र पनि प्रस्तुत गरिएको जानकारी दिए।

सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिने दिशामा यस सम्मेलनलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Facebook Comments