मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक) र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् । यो निर्णय ओपेक द्वारा जारी गरिएको आधिकारिक वक्तव्यमा उल्लेख छ ।
निर्णय भर्चुअल बैठकपछि सार्वजनिक गरिएको थियो, जसमा साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकस्तान, अल्जेरिया र ओमान ले सहभागी थिए । बैठकले विश्व बजारको अवस्था र भावी दृष्टिकोणको समीक्षा गरेको थियो ।

मध्यपूर्वमा जारी सैनिक सङ्घर्षका बीच, यी आठ ओपेक प्लस देशहरूले ऊर्जा आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षा अत्यन्त महत्वपूर्ण भएको औँल्याएका छन् । साथै, ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणहरूले आपूर्ति प्रणालीमा नकारात्मक असर पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले क्षतिग्रस्त ऊर्जा संरचनालाई पूर्ण क्षमतामा पुनःस्थापना गर्न महँगो र समय लाग्ने भएकाले सावधानी अपनाउन आवश्यक भएको बताए ।
ओपेक प्लसका यी आठ देशहरू अर्को बैठक मे ३ मा आयोजना गर्दै थप निर्णय गर्ने योजना बनाएका छन् ।

फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानमा गरिएको हवाई आक्रमणपछि मध्यपूर्वमा द्वन्द्वले क्षेत्रीय ऊर्जा आपूर्तिमा गम्भीर अवरोध सिर्जना गरेको छ । यसका कारण कच्चा तेल र परिष्कृत तेल उत्पादन तथा ढुवानीमा उल्लेखनीय गिरावट आएको छ ।
तेल आपूर्ति वृद्धि गर्ने यो कदमले विश्व ऊर्जा सङ्कटसँग जुध्ने रणनीतिक प्रयासको रुपमा हेरिएको छ ।

Facebook Comments