भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बन्दै

जनकपुरधाम/भूमिगत सिँचाइ प्रणाली कृषि उत्पादकत्व बढाउनका लागि प्रभावकारी हुँदै गएको छ । मधेस प्रदेश सरकारले सिँचाइ सुविधा पुर्याउने उद्देश्यले धनुषा तथा महोत्तरीलगायत जिल्लामा स्थापना गरेका भूमिगत सिँचाइ प्रणालीले किसानलाई ठूलो राहत भएको जनाइएको छ ।

आकासे पानीको भरमा नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था नभएको अवस्थामा किसानका लागि यो प्रविधि वरदान साबित भएको महोत्तरीको बर्दिवास नगरपालिका—२ का किसान रमेश साहको भनाइ छ । यस प्रविधिबाट खेती सिँचाइ मात्र नभइ दैनिक उपभोगमा पनि सहज भएको उहाँले बताउनुभयो ।

जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालयमार्फत यहाँका ग्रामीण क्षेत्रमा डिपट्युवेल तथा पावरड्रिल जडान गरिएका छन् । प्राप्त विवरणअनुसार एउटा डिपट्युवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ । महोत्तरी र धनुषामा हालसम्म ३५ वटा डिपट्युवेल जडान भएर एक हजार ४०० बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको कार्यालयका इन्जिनियर अमलेश यादवले जानकारी दिनुभयो ।

एउटा डिपट्युवेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म रु एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ । यस्तै, दुई जिल्लामा मात्रै हाल ५० वटा पावरड्रिल निमार्ण भई सञ्चालनमा रहेको इन्जिनियर यादवले जानकारी दिनुभयो । कार्यालयबाट प्राप्त विवरणमा गत आर्थिक वर्षदेखि थप ८१ पावरड्रिल निर्माण प्रक्रियामा छन् ।

“एउटा पावरड्रिलबाट नौ बिघा जमिनमा सिँचाइ हुने गरेको छ । एउटा पावरड्रिल निमार्णदेखि सञ्चालनसम्ममा रु १६ लाख लाग्ने गरेको छ । हालसम्म करिब रु एक करोड २९ लाख ६० हजारमा निर्माण गरिएका ती ५० वटा पावरड्रिल निर्माणले चार सय ५० बिघा जमिन सिञ्चित भइरहेको छ”, इन्जिनियर यादवले भन्नुभयो ।

दुवै जिल्लामा डिपट्युवेल तथा पावरड्रिलबाट एक हजार ८५० बिघा जमिनमा सिँचाइ भइरहेको कार्यालय प्रमुख नयन पोखरेलले जानकारी दिनुभयो । भूमिगत सिँचाइ सुविधा विस्तारका लागि विसं २०४१ मा स्थापना भएको कार्यालयले निरन्तर यस क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो । “हामीले लामो सयमदेखि भूमिगत सिँचाइ सुविधाका लागि काम गरिरहेका छौँ । सङ्घीयता कार्यान्वयनमा आएवपछि प्रदेश सरकारको मातहतमा रहेर काम गरिरहका छौँ । मधेश प्रदेशमा प्राकृतिक रूपमा बहने नदी तथा खोलामा पानीको अभाव छ । भूमिगत सिँचाइ प्रणाली नै यहाँको उपयुक्त विकल्पको रूपमा रहेको छ । त्यसको उपयोग गरी सिँचाइ सुविधा विस्तार गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

पछिल्ला वर्षमा पानीको सतह कम हुँदै गएको र जडान गरिएका डिपट्युवेलका महत्त्वपूर्ण पाटपुर्जा चोरी हुँदा समस्या भइरहेको ईन्जिनियर यादवले बताउनुभयो । “एक दर्जनभन्दा बढी डिपट्युवेलको ट्रान्सफरमर चोरी भएकाले केही समस्या भएको छ । ट्रान्सफरमरमा रहेको तामाको क्वायल पनि चोरी हुने गरेको छ । यस विषयमा प्रहरी प्रशासनमा पटकपटक जानकारी गराएका छौँ, तर पनि समस्या समाधान हुनसकेको छैन”, उहाँले भन्नुभयो ।

Facebook Comments