‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर/ कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् । घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाँडीले ढाक्दै गएको छ ।

ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालयको नजिकै कुनै बेला १३ परिवारको बसोबास थियो । हाल विद्यालय अगाडिपट्टी कालुराम कार्की र तलपट्टी एक अर्को गरी केवल दुई परिवारको बसोबास छ । यहाँबाट तीन घण्टाको दूरीमा तमोर करिडोर सडक हुँदै धरान पुग्न सकिन्छ । विद्युत् पनि विस्तार भएकाले अँध्यारोमा बस्नुपरेको छैन । ढुकुरेमै नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन राखिएको छ । ढुकुरेभन्दा मुनि तमोर करिडोरमा पर्ने लखुवा दोभानदेखि तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारसम्मको सडक धमाधम कालोपत्रे भइरहेको छ । यहाँ विकास गाउँ पस्दैछ, तर मान्छे बसाइँ सर्दैछन् । गाउँमा मानिसहरु भेट्न मुस्किल छ ।

स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीका अधिकांश छिमेकीले बस्ती छोडिसकेका छन् । उहाँ भने गाउँ छोडेर नजाने अठोटमा हुनुहुन्छ । “मेरो घरछेउका पाँचवटा घर र अन्य गरी एउटै गाउँबाट ११ घर बसाइँ सरेपछि बस्ती सुनसान रहेको देखिसक्नुभयो । जङ्गलले ढाक्दै लगेको छ । बस्नेहरुको मनमा कुनै चमक छैन, न भविष्यप्रतिको कुनै आशा नै छ”, उहाँले भन्नुभयो ।

कार्कीका अनुसार यहाँ बसाइँ सर्नुको मुख्य कारणमा पानीको अभाव हो । “विसं २०७४ देखि केही वर्ष यहाँ वर्षा भएको छैन । वर्षा त हुन छाडेकै थियो, त्यसमाथि पिउने पानीका मुहान पनि सुक्दै गएका छन् । खानेपानीको हाहाकारजस्तै छ । त्यसैले पनि यहाँ बस्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

Facebook Comments