आज राससको ६५ औँ वार्षिकोत्वस

राससलाई युगानुकूल, प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै लगिनेछ:कार्यकारी अध्यक्ष झा

काठमाडौँ/मुलुकको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आज ६५ औँ वार्षिकोत्वस मनाउँदैछ ।

विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार समिति नेपाल संवाद समिति र सगरमाथा संवाद समिति एकापसमा गाभिएर रासस स्थापना भएको हो ।

राससले नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय, फोटो, श्रव्यदृष्य, मातृभाषा समाचार सेवालाई अविच्छिन्न रुपमा उत्पादन र सम्प्रेषण गर्दै आएको छ । हाल चौबिसै घण्टा नेपाली समाचार सेवा सञ्चालित छ ।

वार्षिकोत्सवसमा अवसरमा आज उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा विशेष समारोहको आयोजना हुँँदैछ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिले राससको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

राससलाई युगानुकूल, प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै लगिनेछ:कार्यकारी अध्यक्ष झा
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समयको मागअनुरुपको गुणस्तरीय सेवा थप्दै राससलाई समयानुकूल बनाउन र सूचना प्रविधिसँगै तीव्ररुपमा थपिएका नयाँनयाँ माध्यम र आम सञ्चारमाध्यमको बीचमा आफूलाई गर्विलो सेवाप्रदायक समाचार समितिका रुपमा स्थापित गराउनु आजको आवश्यकता रहेको बताउनुभएको छ ।
राससको ६५औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहुँदै कार्यकारी अध्यक्ष झाले समयको गतिअनुसार सेवाको विविधीकरण र विस्तारमा जोड दिँदै आएको राससले प्रविधिको प्रयोगसँगै सेवालाई २४ सै घण्टा विस्तार गरेर नेपाली पत्रकारितामा समय सीमा (डेडलाइन)को परम्परागत मान्यतामा परिवर्तन गर्ने प्रयत्न गरेको उल्लेख गर्नुभएको छ ।

राससको समाचार सेवाको यात्रा केबल यात्रा मात्र नभएर सत्यतथ्य, आधिकारिक एवं विश्वसनीय सूचना सम्प्रेषण गरेर मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र समग्र रुपान्तरणको माध्यम हुनु पनि हो भन्नुहुँदै उहाँँले राससलाई युगानुकूल, प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउँदै अघि बढनुपर्ने आजको खाँचो र हाम्रो साझा धर्म र दायित्व भएको बताउनुभएको छ ।

Facebook Comments