सशस्त्र प्रहरीलाई जग्गा निःशुल्क दिनेको नाम शिलालेखमा

खोटाङ/सशस्त्र प्रहरी बल नेपाल नं ७ गुल्म, हलेसीले आफ्नो गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने १७ जना जग्गादाताको नाम शिलालेखमा राखेको छ । सशस्त्र प्रहरीको २५औँ स्थापना दिवसको अवसर पारेर नं ७ गुल्मले ४३ रोपनी चार आना दुई पैसा एक दाम जग्गा निःशुल्क दिने जग्गादाताको नाम शिलालेखमा राखेको हो ।

विसं २०६७ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङ र ५ खाल्लेको सिमानामा पर्ने मझुवागढीमा स्थापना गरिएको गुल्मका लागि सबैभन्दा बढी सावित्रा विष्टले सात रोपनी दुई पैसा एक दाम जग्गा निःशुल्क दिनुभएको थियो ।

खड्गबहादुर कटवालले पाँच रोपनी दुई पैसा तीन दाम, भूपराज कटवालले पाँच रोपनी तीन दाम, भीमबहादुर कटवालले तीन रोपनी ११ आना दुई दाम, गोविन्दबहादुर कटवाल (क)ले तीन रोपनी पाँच आना दुई दाम, सीताराम कटवालले तीन रोपनी दुई आना तीन दाम, धनमाया कटवालले दुई रोपनी दश आना एक पैसा तीन दाम, छत्रबहादुर कटवालले दुई रोपनी दश आना, भक्तबहहादुर कटवालले दुई रोपनी जग्गा दिनुभएको थियो ।

त्यसैगरी, पुष्पबहादुर कटवालले दुई रोपनी, ध्रुवलाल कटवालले एक रोपनी एक आना दुई पैसा एक दाम, केशरबहादुर कटवालले एक रोपनी एक आना दुई पैसा एक दाम, ललितबहादुर कटवालले एक रोपनी दुई पैसा तीन दाम, चङ्खबहादुर कटवालले एक रोपनी, कृष्णबहादुर कटवालले १४ आना दुई दाम, खेमबहादुर कटवालले १३ आना दुई पैसा र बर्तकुमारी राजवंशीले १२ आना एक पैसा जग्गा निःशुल्क दिनुभएको थियो ।

सशस्त्र प्रहरी बलको गुल्मलाई निःशुल्क जग्गा दिनुहुने सबै जग्गादाताको सम्मानका लागि शिलालेख निर्माण गरेर औपचारिक रूपमा अनावरण गरिएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गादाताको नाम समावेश गरेर निर्माण गरिएको शिलालेखमा गुल्म स्थापना गर्नका लागि सहयोग गर्ने २५ जनाको नाम उल्लेख छ ।

गुल्म स्थापनाका लागि विशेष पहल गर्ने संविधानसभा सदस्य विशाल भट्टराई, पूर्वजिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, वरिष्ठ अधिवक्ता देवराज कटवाललगायत व्यक्तिको नाम सहयोगीका रूपमा राखेर सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले २५औँ स्थापना दिवसका अवसर पारेर यसअघि जिल्लाका ३५ जना ज्येष्ठ नागरिकलाई न्यानो टोपी वितरण गर्दै सम्मान गरिएको थियो । सशस्त्र प्रहरीले जाडो मौसमलाई मध्यनजर गर्दै ७० वर्षमाथिका ३५ जना ज्येष्ठ नागरिकलाई न्यानो टोपी प्रदान गरेको थियो ।

समाजमा ज्येष्ठ नागरिकप्रति सम्मान, सहकार्य र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक तथा अनुभवी व्यक्तित्व भएकाले उहाँहरूको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति सशस्त्र प्रहरी बल सदैव संवेदनशील र प्रतिबद्ध रहेको गुल्मपति न्यौपानेले बताउनुभयो ।

सशस्त्र प्रहरीले गत पुस १६ गते जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै पर्यटकीयस्थल मझुवागढीमा फलामे फलैँचा निर्माण गरेको छ । महिना दिनसम्म मनाइएको दिवस समापनका अवसरमा उत्कृष्ट काम गर्ने पदिक तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

Facebook Comments