काठमाडौँ/ ऐजेन्स फ्रान्स प्रेस (एएफपी) का दक्षिण एसियाका निर्देशक फिलीप अल्फ्रोय र बिक्री तथा बजार शाखा प्रमुख कपिल चौधरीले आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको भ्रमण गर्नुभयो ।
व्यावसायिक भ्रमण तथा द्विपक्षीय सम्बन्ध विस्तारका क्रममा भएको उच्चस्तरीय भेटघाटका अवसरमा एएफपीको सेवा प्रवाहको अवस्था, समाचार सामग्रीको प्रयोग, सुधार गर्नुपर्ने पक्ष, आपसी सहयोग र सहकार्य लगायतका विषयमा छलफल भएको थियो ।
भेटवार्ताका अवसरमा प्राथमिकताका साथ एएफपीको समाचार सामग्री प्रयोग गरेकामा धन्यवाद दिँदै एएफपीका हङकङस्थित निर्देशक फिलीपले राससको मागबमोजिम नेपाल र नेपाली समुदायसँग जोडिएका विषयवस्तुलाई यथासक्य उचित स्थान दिई समाचार सामग्री सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एएफपी टोलीले विश्वव्यापी रुपमा देखिएको आर्थिक सङ्कटको प्रभाव आफ्नो सञ्चार गृहमा पनि परेको उल्लेख गर्दै छ दशकभन्दा बढीदेखि निरन्तर रुपमा व्यावसायिक सम्बन्ध रहेको रासससँगको सहयोग र सहकार्यलाई निरन्तरता दिन तयार रहेको स्पष्ट गर्नुभयो । क्षेत्रीय निर्देशक फिलीपले राससकर्मीका लागि यसअघि दिँदै आएको वैदेशिक तालिम रोकिएको सन्दर्भमा यथार्थ बुझी सकारात्मक प्रयास गरिने विश्वास दिलाउनुभयो ।
सोही अवसरमा भ्रमण टोलीले राससको सङ्ग्रहालय र पुस्तकालयको अवलोकन गर्न पाएकामा खुसी व्यक्त गर्दै सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिई द्विपक्षीय व्यावसायिक सम्बन्धलाई अझ सुदृढ र फलदायी बनाउनुपर्नेमा जोड दिनुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले भ्रमण टोलीलाई स्वागत गर्दै नेपालमा विदेशी समाचार संस्थाको समाचार एकद्वार प्रणालीमार्फत राससले मात्र उपलब्ध गराउने कानुनी व्यवस्था रहेको जानकारी गराउनुभयो ।
राससले सदैव उच्च प्राथमिकता दिई एएफपीको समाचार सामग्री सम्पेषण गर्दै आएको स्पष्ट गर्दै उहाँले नेपालका आमसञ्चार माध्यमहरूमा एएफपीका समाचार सामग्री बढी प्रयोग हुने गरेको उल्लेख गर्नुभयो ।
कार्यकारी अध्यक्ष झाले समाचारमा विविधता र व्यावसायिकतालाई जोड दिँदै आधुनिक सञ्चार उपकरणको व्यवस्थासहित बदलिँदो परिवेश र सन्दर्भका बीच क्षमता अभिवृद्धि तालिम, व्यवस्थित पुस्तकालय र मिडिया सङ्ग्रहालयलाई सुदृढ गर्ने पक्षमा आफूहरू क्रियाशील रहेको जानकारी दिनुभयो ।
यसैगरी एएफपी र राससबीच छ दशकभन्दा लामो समयदेखि निरन्तर रुपमा व्यावसायिक सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गर्दै कार्यकारी अध्यक्ष झाले केही वर्षदेखि रोकिएको तालिम कार्यक्रमलाई निरन्तरता दिन र निःशुल्क रुपमा भिडियो सेवा उपलब्ध गराउन एएफपी टोलीसमक्ष अनुरोध गर्नुभयो ।
सो अवसरमा राससका महाप्रबन्धक सन्दीप राई, प्रधानसम्पादक उत्तम सिल्वाल, आलेख तथा विचार समाचार प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो, कार्यकारी सम्पादक एवम् मातृभाषा संयोजक शरच्चन्द्र भण्डारी र लेखा शाखा प्रमुख रुद्रमणि अधिकारीको उपस्थिति थियो ।