काठमाडौं/समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि जापानको टोकियो जाने भएको छ ।
नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्सको जुडोमा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने छन् ।
टोली प्रमुखमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठ, व्यवस्थापकमा रोजिना श्रेष्ठ र प्रशिक्षकमा सन्जित डङ्गोल रहेका छन् । घरमा शोक परेका कारण प्रशिक्षक डङ्गोल भने नोभेम्बर १४ तारिखमा जापान जाने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामीलगायतको उपस्थिति रहेको थियो । डेफलिम्पिक्समा नेपालले जुडो बाहेक कराते, एथलेटिक्स, तेक्वान्दो, ब्याडमिन्टन र टेबलटेनिसमा पनि सहभागिता जानाउने छ ।