घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु-बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

घोडाघोडी (कैलाली)/पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा पैदलयात्री घोडाघोडी –२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । घाइते पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

-बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु-
बागमती/पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्युु भएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments