टाइफुन काजिकी अघि भियतनामले दशौँ हजारलाई खाली गर्‍यो

टाइफुन काजिकीले देशको मध्य भागमा करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गर्ने अनुमान गरिएसँगै सोमबार तटीय भियतनामका दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

यस वर्ष भियतनाममा असर गर्ने पाँचौँ टाइफुन समुद्रमा सक्रिय छ र टोन्किनको खाडीमा ९.५ मिटर (३१ फिट) उचाइका छालहरू उठेका छन् ।

पाँच तटीय प्रान्तका तीन लाख २५ हजार पाँच सयभन्दा बढी बासिन्दालाई विद्यालय र सार्वजनिक भवनहरू अस्थायी आश्रयस्थल बनाई सुरक्षित राखिएको अधिकारीहरूले जनाएका छन् ।

भिन्हको वाटरफ्रन्ट सहर रातभर जलमग्न रह्यो । बिहानसम्म सडकहरू सुनसान बनेका थिए, पसल तथा रेस्टुरेन्टहरू बन्द थिए र बासिन्दा तथा व्यवसायीहरूले आफ्नो सम्पत्तिको प्रवेशद्वारमा बालुवा भरिएका बोराहरू राखेका थिए ।

सोर्‍ह हजारभन्दा बढी सैनिक परिचालन गरिएपछि बिहानैसम्म करिब ३० हजार मानिसलाई क्षेत्रबाट सुरक्षित निकालिएको थियो ।

टाइफुनको बाटोमा परेका दुईवटा घरेलु विमानस्थल बन्द गरिएका छन् र सबै माछा मार्ने जहाजहरूलाई बन्दरगाहमा फर्काइएको छ ।

“मैले हाम्रो सहरमा यति ठूलो टाइफुन आएको कहिल्यै सुनेको थिइनँ”, ६६ वर्षीय ले मान तुङले भिन्ह इनडोर स्पोट्र्स स्टेडियममा भन्नुभयो । त्यहाँ विस्थापित परिवारहरू चामलको साधारण नास्ता खाइरहेका थिए ।

“म अलिकति डराएको छु, तर अन्ततः हामीले यसलाई स्वीकार्नुपर्छ किनकि यो प्रकृतिको शक्ति हो— हामी केही गर्न सक्दैनौँ”, उहाँले सोमबार बिहान निकासी स्थलमा भन्नुभयो ।

भियतनामको राष्ट्रिय हाइड्रो–मौसम पूर्वानुमान केन्द्रका अनुसार टाइफुनले दिउँसो १ः०० बजे (०६०० जिएमटी) करिब १५७ किलोमिटर प्रतिघण्टाको हावासहित अवतरण गर्ने अपेक्षा गरिएको छ ।

– कहिल्यै यति ठूलो हुँदैन –

मानव–कारण जलवायु परिवर्तनले अझ तीव्र र अप्रत्याशित मौसम ढाँचाहरू उत्पन्न गरिरहेको वैज्ञानिकहरूको भनाइ छ । यस्ता अप्रत्याशित मौसमी ढाँचाहरूले विशेष गरी उष्णकटिबन्धीय क्षेत्रमा विनाशकारी बाढी र आँधीबेहरीको सम्भावना बढाएको छ ।

“सामान्यतया आँधीबेहरी र बाढी आउँछन्, तर यति ठूलो कहिल्यै हुँदैन”, ५२ वर्षीया विस्थापित गुयेन थी नहानले भन्नुभयो ।

आँधीको शक्ति अवतरण भएपछि क्रमशः कमजोर हुने अपेक्षा गरिएको छ ।

संयुक्त टाइफुन चेतावनी केन्द्रले टोन्किनको खाडी नजिकको महाद्वीपीय किनारमा पुग्दा समुद्रको गर्मी कम हुने भएकाले आँधी कमजोर हुने सम्भावना रहेको बताएको छ ।

आइतबार भियतनाममा दर्जनभन्दा बढी घरेलु उडानहरू रद्द गरिएका थिए भने टाइफुनले त्यहाँको दक्षिणी क्षेत्र पार गर्दै गएकाले चीनको उष्णकटिबन्धीय रिसोर्ट हाइनानमा करिब २० हजार बासिन्दालाई खाली गरिएको थियो ।

हाइनानको मुख्य सहर सान्याले रमणीय क्षेत्रहरू बन्द गरेको छ भने र व्यावसायिक गतिविधि रोकिएको छ ।

भियतनामको कृषि मन्त्रालयका अनुसार सन् २०२५ को पहिलो सात महिनामा प्राकृतिक प्रकोपका कारण एक सयभन्दा बढी मानिस मारिएका वा बेपत्ता भएका छन् ।

आर्थिक क्षति दुई करोड १० लाख डलरभन्दा बढी भएको अनुमान गरिएको छ । गत सेप्टेम्बरमा आएको टाइफुन यागीका कारण मात्र भियतनामले करिब तीन अर्ब ३० करोड डलरको आर्थिक क्षति व्यहोरेको थियो ।-भिन्ह (भियतनाम)(रासस/एएफपी)

Facebook Comments