राष्ट्रिय गौरवको आयोजना सुनकोसी मसिन ड्राइभर्सनको काम अगाडि बढिरहेको छ । यो आयोजना सुनकोसी र तामाकोसी नदीको दोभानभन्दा ७०० मिटर तल बाँध बाधेर तराइको मरिन उपत्यकामा झारिने छ । यसरी मरिनमा झरेको पानी ४० किलोमिटर तल वागमती नदीमा पुगेपछि नहरमार्फत बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी तराईका पाँचवटा जिल्लामा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने उद्देश्यले यो आयोजना संचालन गर्न लागिएको हो ।
वर्षाको समयमा वागमतीको पानीले त्यस क्षेत्रको भूभागमा सिंचित गर्न सहयोग गरेपनि सुख्खा याममा पानीको मात्र कमि भएका कारण यी क्षेत्रका खेती योग्य जमिन बाँझो रहने समस्या थियो । यही समस्याको निवारण गर्नका लागि यो परियोजना संचालनको तयारी गरिएको हो । यो आयोजना संचालनमा आएपछि पानीको कमिले खेती गर्नबाट बञ्चित हुने समस्याको निवारण हुनेछ ।
यो आयोजनाले मुख्य रुपमा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी तराईका पाँचवटा जिल्लालाई सिंचित गर्ने लक्ष्य छ । यसले १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्याउने छ । यसको मुख्य उद्देश्य सिंचाइ गर्ने नै हो । अहिले रौतहट र सर्लाहीमा सिंचाइ विभागले निर्माण गरेको वागमती सिंचाइ योजनाबाट ४५ हजार ६ सय हेक्टरमा सिंचाइ भइरहेको छ । ‘यो क्षेत्रमा वर्षाको समयमा प्रयाप्त मात्रामा पानी भएपनि सुख्खा समयमा पानीको कमी हुने हुनाले पूर्वाधार विकास भएका क्षेत्रमा सिंचाइको प्रयाप्त सुविधा पुग्न सकेको छैन । १३.५ किलोमिटर लामो सुरुङ मार्गबाट पानी त्यहाँ पुग्नेछ । भने टनेल ५.५ मिटर गोलाकार हुनेछ । यसै मार्गबाट वागमती सिंचाइ योजनाले ओगटेको ४५ हजार ६ सयमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने छ । पानीलाई ड्राइभर्ड गरेर वागमतीका नहरहरुलाई पुन निर्माण र विस्तार गरी १ लाख २२ हजार हेक्टरमा जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुर्याउने परियोजना प्रमुख शुशील चन्द्र आचार्यले बताउनु भयो । ’
आचार्यका अनुसार ‘सुनकोसीको पानीलाई अहिले प्रयोग गर्न नसकिरहेको अवस्था छ । तराईमा पुगेपछि सुनसरी मोरङ सिंचाइ आयोजना र भारतीय नहरबाट कोसी पम्प सिंंचाइ आयोजना छ । सुनकोसी नदीको ६७ मिटर क्यूसेक पानीलाई प्रयोग गर्ने लक्ष्य छ । त्यसको ड्राइभर्सनका लागि संरचनाहरु निर्माण गर्नु पर्ने हुन्छ । हेडर्स, टनेल जस्ता कार्यहरु गर्नु पर्ने उहाँको भनाइ छ । ’
यहाँको पानी मरिन नदीमा मिसाउदा ६४ मिटर हेड निस्कन्छ । जसबाट ३१ मेगावाट विद्युत निकाल्न सकिन्छ । यसको अलवा खानेपानीका लागि केही पानी त्यहीबाट उपयोग गर्न सकिन्छ । खानेपानीलाई त्यति धेरै पानीको आवश्यकता पर्दैन तर यो अत्यावश्यक पनि छ । यसका लागि खानेपानी मन्त्रालयसँग छलफल भइरहेको आचार्यको भनाइ छ । यस आयोजनाले खानेपानीको समस्यालाई समाधान गर्न सघाउपुर्याउने छ ।
‘आयोजना निर्माण गर्नका लागि हेर्डस, टनेल र विद्युत गृह बनाउनु पर्ने हुन्छ । मरिनमा पानी मिसाएपछि वहावका कारण कटान हुन सक्छ । त्यसका लागि नदी नियन्त्रणका कार्यहरु गर्नुपर्ने हुन्छ । यसको अलवा आयोजना अन्तर्गत हुने वातावरणीय क्षतिलाई कम गर्न वा न्यूनिकरणका लागि वातावरणीय व्यवस्थापनका कार्यहरु गर्नुपर्छ ।’ यी सबै कामहरु गर्न आयोजना लागि परेको आचार्यको भनाइ छ ।
हेर्डसको विस्तृत सर्वे, डिजाइनको काम एनइए इन्जिनियरिङ संस्थाले गरेको हो । त्यसको विस्तृत सर्बे डिजाइन र लागतको ड्राफ्ट कपी परियोजनालाई पाप्त भइ हाल अध्ययनको क्रममा रहेको परियोजना प्रमुख आचार्यले बताउनु भयो । अब यसको अध्ययन पछि सुझाव दिने काम हुन्छ । टनेल निर्माणको कामको सर्वे, डिजाइन आयोजना आफैले गरिरहेको छ । अहिले टनेल निर्माण कार्यको खरिद पकृया अगाडि बढेको आचार्यको भनाइ छ ।
हेर्डस निर्माण गर्दा पानीको सतह माथि उठ्छ । त्यसले सुनकोसी र तामाकोसीको दोभानमा सिन्धुली र रामेछापको केही क्षेत्र डुवानमा पर्छ । ‘सिन्धुलीमा १२ हेक्टर र रामेछापमा ३२ हेक्टर जमिनमा यसले असर पार्छ । सिन्धुली जिल्लाको जग्गा प्राप्ती र मूल्याङ्कन कुरा टुङ्गोमा पुगेको छ । यसको मुआब्जा वितरणको काम भइरहेको छ । रामेछापको मूल्याङन प्रकृयामा रहेको छ ।’
पावर हाउस निर्माण गर्ने, टिबिएम निर्माण गर्ने र मदन भण्डारी राजमार्गलाई पनि यसले छुने भएको हुनाले त्यसको पुन रेखाङ्कन गर्नु पर्ने आचार्यले बताउनु भएको छ । यी सबै कामहरु ठेक्का प्रकृयामा रहेको उहाँको भनाइ छ । पावर हाउस र टिबिएमका लागि आवश्यक पर्ने जग्गा प्राप्तीको काम सम्पन्न भइसकेको छ ।
इआइए प्रतिवेदन गत वर्ष नै स्वीकृत भइसकेको छ । यस प्रतिवेदनले औल्याएका आधारमा वातावरणीय प्रभाव मूल्याङकन कामहरु सम्पन्न गर्दै यसै वर्ष निर्माण कार्य सुरु गर्ने तयारी रहेको छ । यो आयोजना अबको पाँच वर्षमा सम्पन्न हुने आचार्यको दावी छ ।
Facebook Comments