पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई

भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि भलिबलकी कप्तान अरुणा शाहीले जित्नुभयो । उहाँले सर्वाधिक मत प्राप्त गर्दै उक्त अवार्ड जित्नुभएको हो । अरुणाले कूल ३७ दशमलव ५२ प्रतिशत प्राप्त गर्नुभयो । उक्त विधातर्फ दोस्रो स्थानमा सागमा करातेमा दोहरो स्वर्ण पदक जित्नुभएका मण्डेकाजी श्रेष्ठ रहनुभयो । उहाँले २८ दशमलव ४५ प्रतिशत मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहनुभयो । उहाँले १३ दशमलव १३ प्रतिशत मत प्राप्त गर्नुभयो । चौथो स्थानमा रहनुभएकी पौडीकी गौरीका सिंहले १३ दशमलव तीन प्रतिशत तथा पाँचौँ स्थानमा रहनुभएकी महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले सात दशमलव दुई प्रतिशत मत प्राप्त गर्नुभयो । अरुणालाई उक्त अवार्ड जिताउनका लागि पोखरामा अभियान नै शुरु गरिएको थियो ।

पोखरामा पुरुष भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । सागमा नेपालले रजत पदक जित्दा शाहीले उत्कृष्ट कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा पनि उहाँले नै कप्तानी गर्नुभएको थियो ।

यसैगरी उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फका सुवास तामाङले जित्नुभयो । उहाँले सागमा दुई स्वर्ण पदक जित्नुभएको थियो । सुवासले तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बू, भारत्तोलनकी सञ्जु चौधरी तथा जुडोकी पुनम श्रेष्ठलाई पछि पार्नुभएको हो ।

यसैगरी एउटै खेलबाट सर्वाधिक १२ स्वर्ण पदक दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँले करातेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्कीलाई उछिन्दै उक्त अवार्ड जित्नुभएको हो ।

टेवलटेनिसका ऐतिहासिक पदक विजेताद्वय गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । दुवै जना सन् १९९१ मा आयोजित पाँचौँ दक्षिण एशियाली खेलकूदका स्वर्ण विजेता हुन् । नेपाली महिला खेलाडीले सागमा जितेको त्यो नै पहिलो स्वर्ण पदक थियो ।

यस वर्षको स्पेसल अवार्ड एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा तेक्वान्दोकी आयशा शाक्यले संयुक्तरूपमा प्राप्त गर्नुभयो । दुवै जना १३औँ सागका स्वर्ण विजेता हुन् । उनीहरु आ–आफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउनुभएको थियो । यस्तै आयशाले १३औँ सागमा दुई स्वर्ण पदक जित्नुभएको थियो । उहाँले तेक्वान्दोको पुम्सेतर्फ एकल तथा टिम स्पर्धामा स्वर्ण जित्नुभएको हो ।

पारा एथ्लिट अवार्डबाट यस वर्ष ह्वीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरिएको छ । हरेक वर्षको विश्व खेलकूद पत्रकार दिवस, जुलाइ २ मा आयोजना गरिँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष छ महिनापछि धकेलिएको हो । हंशराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजन रहेको अवार्डका वर्ष खेलाडी पुरुष, महिला, युवा खेलाडी तथा वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नुभएको छ । अन्य विधाका विजेताले भने जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

दश विधामा अवार्ड प्रदान गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथलिट सम्मान, टिम अफ द इयर तथा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश गरिएको थियो । ललितपुरको सातदोबोटोस्थित कराते हलमा कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रूपमा आयोजना गरिएको थियो ।

Facebook Comments