संसद् दिवस:सभामुख,राष्ट्रियसभाका अध्यक्ष,उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षको सन्देश

काठमाडौँ/सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ ।

, २०८२ को अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, सङ्घीय संसदका वर्तमान तथा पूर्व सदस्यहरू, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गर्नुभयो ।

सन्देशमा भनिएको छ, “शासन व्यवस्थामा नीति निर्माण, कानून निर्माण तथा कार्यान्वयनको प्रभावकारी निगरानी जस्ता महत्वपूर्ण कार्य संसदमार्फत सम्पन्न गरिन्छ, संसदले व्यवस्थापकीय कार्यविधिको माध्यमबाट जनताको अभिमतअनुरूप नीति र कानून सुनिश्चित गर्दछ ।”

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संसद् दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो साझा उद्देश्य संसद््लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्दछ, यसका लागि सांसदहरूको क्षमतामा वृद्धिसँगै संसद्ीय अभ्यासमा आधुनिक प्रविधिको प्रयोग, विषयगत अनुसन्धान, जनतासँगको सम्बन्ध र कार्यपालिकामाथिको निगरानीको भूमिकामा सुधार आवश्यक छ ।”

सन्देशमा भनिएको छ, “संसद् जनप्रतिनिधिहरूको सर्वोच्च थलो हो, संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहन्छ, संसद्ले कानुन बनाउँछ, बजेट स्वीकृत गर्छ, सरकारको गतिविधिमा निगरानी गर्छ र आम नागरिकका अधिकार सुनिश्चित गर्ने कानूनी व्यवस्था गर्दछ ।”

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना
उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ ।

संसद् दिवस, २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने बिषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन हामी सबैमा हुनुपर्छ, संसद् कमजोर हुँदा जनताका आवाजहरु दबाइन्छन् यसैले संसदीय सर्वोच्चताका लागि हामी सबै लाग्न जरुरी छ ।”

संसदीय अभ्यासको प्रभावकारीताबारे समीक्षा गर्नुपर्छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद्को जनउत्तरदायी, पारदर्शी र प्रभावकारीताबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ६७औँ संसद् दिवसको अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्न सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्छ, संसद् बलियो हुँदा मात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ, र जनताले सुशासन अनुभव गर्न पाउँछन् ।”

Facebook Comments