भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार-रञ्जिता अधिकारी

तुलसीपुर उपमहानगरपालिका–१५ का मदन चौधरीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएको छ । पालिकाबाट किसान परिचयपत्र पाएपछि उहाँलाई आफूले उत्पादन गरेको तरकारी बिक्रीमा कुनै समस्या छैन । सोही परिचयपत्र र तरकारी लिएर हरेक बिहान तुलसीपुर बजारमा तरकारी बिक्री गर्न जाने गर्नुहुन्छ ।

विगतदेखि किसान सूचीकरणका लागि माग हुँदै आएकामा तीनवटै तहका सरकारबाट काम सुरु हुनु किसानका लागि सकारात्मककार्य भएकामा उहाँ खुशी हुनुहुन्छ । किसान सूचीकरण गरी परिचयपत्र वितरण गर्दा पालिकामा आउने अनुदानको सही प्रयोग हुने र सबै किसानले पाउने आशा जागेको उहाँको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिका–१५ का स्यानी थरुनीले १७ कठ्ठा जमिनमा तरकारी खेती गर्नुभएको छ । किसान सूचीकरण भएसँगै उहाँले किसान परिचयपत्र लिनुभएको छ । सोही परिचयपत्रबाट तरकारीका बिउ, मल र कृषि यन्त्र पाएको उहाँले बताउनुभयो । सात जनाको उहाँको परिवारको खर्च तरकारी खेतीबाटै चलेको छ । पालिकाबाट किटनासक औषधि र अन्य सेवा सुविधाका पाएको उहाँको भनाइ छ ।

दाङका स्थानीय तहमा किसानमुखी कार्यक्रम सञ्चालनमा आएका छन् । तुलसीपुर उपमहानगरपालिकाले किसान सूचीकरण सुरु गर्न थालेको छ । पालिकाले प्रारम्भिक चरणमा एक हजार घरधुरीबाट किसान सूचीकरण सुरु गर्न थालेको हो । कृषि शाखाका प्रमुख धनराज गौतमले किसान सूचीकरणबाट मात्रै किसान र गैरकिसानका बारेमा जानकारी हुने बताउनुभयो । उपमहानगरपालिकाभित्र ४६ हजार घरधुरी रहेका छन् । सङ्घीय सरकारले किसान सूचीकरणको काम सुरु गरेअनुसार उपमहानगरपालिकाले सुरु गरेको हो । वास्तविक किसानको यकिन तथ्याङ्क नहुँदा सरकारले दिँदै आएको अनुदानमा समस्या देखिएपछि तथ्याङ्क लिन सुरु भएको कृषि शाखाका प्रमुख गौतमले बताउनुभयो ।

उहाँले वास्तविक किसानको तथ्याङ्क आएपछि राज्यले दिने अनुदानको सही सदुपयोग हुने र गैरकिसानले लाभ लिन नसक्ने बताउनुभयो । शाखा प्रमुख गौतमका अनुसार सूचीकरणमा किसानले उत्पादन गरेका अन्नबाली, फलफूल तरकारी, दुग्धजन्य वस्तु र मासुको विवरण समावेश गरिने भएको छ । सूचीकरणपछि किसानलाई ‘क्यूआर कोड’सहित परिचयपत्र दिइएको छ । हालसम्म ७० जना किसानले किसान परिचयपत्र लिइसकेको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार क्षेत्रमा बिक्री वितरणका लागि किसान परिचयपत्र वितरण गरेको छ । किसानले उत्पादन गरेका वस्तु बजार क्षेत्रमा बिहान ५ देखि ८ बजेसम्म परिचयपत्र राखेर बिक्री गर्ने गरेको कृषि शाखाका प्रमुख धनराज गौतमले जानकारी दिनुभयो ।

नगरप्रमुख टीकाराम खड्काले किसान सूचीकरणको सुरुआत गरिएको र पालिकाका १९ वटै वडामा गरिने बताउनुभयो । उहाँले सूचीकरण तथ्याङ्क आएपछि अनुदानको मल, बिउ र किसानलाई प्रदान गरिने सेवा सुविधाका विषयमा योजना निर्माण गर्न सकिने बताउनुभयो । नगरप्रमुख खड्काले सङ्घ, प्रदेश सरकारसँग समन्वय गरेर दुई वर्षभित्रै सूचीकरणको काम सकिने बताउनुभयो । उहाँले नगरभित्रका किसानलाई सूचीकरण गरेर पालिकाको सेवामा जोडिन आग्रह गर्नुभएको छ ।

जिल्लामा राप्ती गाउँपालिकाले किसान सूचीकरणको काम सुरु गरेको छ । गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ‘स्वरोजगारका लागि युवा लक्षित करार खेती’ कार्यक्रम लागू गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीका अनुसार अनुदान लिन इच्छुक कृषकले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । यसका लागि करार खेती कार्यक्रम सञ्चालन कार्यविधि २०७९ संशोधन २०८० को परिच्छेद ४ अनुसार अनुसूची २ मा आवेदन फाराम, अनुसूची ३ अनुसार कार्यक्रम प्रस्ताव, जग्गाधनी दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, भाडा सम्झौताको प्रतिलिपि, सार्वजनिक वा सरकारी जग्गाको हकमा सम्बन्धित निकायको अनुमतिपत्र र तीन वर्षको व्यावसायिक योजना अनिवार्य गरिएको छ ।

गाउँपालिकाका अनुसार कृषकले न्यूनतम पाँच कठ्ठादेखि अधिकतम् एक सय कठ्ठासम्म जग्गा भाडामा लिएर खेती गर्नु पर्नेछ । साथै, एकवर्र्षीय बालीको हकमा तीन वर्षको र बहुवर्षीय बालीका लागि १५ वर्षीय करार सम्झौता गर्नुपर्ने प्रावधान छ । कार्यक्रमअन्तर्गत नगदेबाली खेती गर्ने किसानलाई पहिलो प्राथमिकता दिइनेछ । छनोट भएका किसानले पहिलो वर्ष शत प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशतसम्म जग्गाको भाडा अनुदान पाउनेछन् ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बेरोजगार युवालाई स्वदेशमै कृषिमार्फत रोजगार सृर्जना गर्दै पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम लागू गरिएको बताउनुभयो । यो कार्यक्रम आर्थिक वर्ष २०७९÷८० देखि सञ्चालनमा ल्याइएको हो । हाल गाउँपालिकाका विभिन्न वडाका १७ जना कृषकले यस सुविधाबाट लाभ लिइरहेका छन् ।

लुम्बनी प्रदेश योजना आयोगका सदस्य डा सुदन वलीले तथ्याङ्कबिनाको कामले लक्ष्यमा पुग्न नसकिने बताउनुभयो । किसानले जुन उद्देश्यले खेती गर्न थाले, काम गर्न थाले त्यो उत्पादनलाई बजारसम्म पु¥याउन सकेनन् । बजारको दूरी कति छ ? बजारको माग कस्तो छ ? त्यसको बारेमा तथ्याङ्क विश्लेषण ल्याउन नसक्दा कार्यक्रम सफल हुन नसकेको उहाँको ठम्याइ छ ।

तथ्याङ्कलाई आधार मानेर काम गर्दा सम्भावना र अवसरलाई विश्लेषण गरेर काम अगाडि बढाउन सकिन्छ त्यसले प्रतिफल पनि दिन्छ । प्रदेश सरकाले अघिल्ला वर्षमा बिना तथ्याङ्क कृषिका कार्यक्रम ल्याउँदा किसानलाई घाटा व्यहोर्नु परेको थियो । प्रदेश सरकारले बङ्गुरपालन प्रोत्साहन कार्यक्रम ल्यायो तर त्यसमा सफल हुन सकेन । जुन उद्देश्यले कार्यक्रम ल्याइएको हो, त्यसको प्रतिफल नआउँदा किसानको मिहेनत र राज्यको लगानी खेर गएको थियो ।

पछिल्लो समय बेरोजगारीको सख्या बढदै गएको छ । कृषिबाट आत्मनिर्भर गराउने लक्ष्य र उद्देश्यले काम गर्नका लागि प्रदेश सरकारले काम थालनी गरेको छ । डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएको समयमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको कृषिको तथ्याङ्क लिएको र सबै स्थानीय सरकारलाई तथ्याङ्क लिन भनिएको छ, त्यसैको आधारमा वास्तविक किसानको पहिचान र खेती योग्य जमिनको पहिचान हुने छ । सोही अनुसारको कृषि प्राणालीले प्रतिफल दिने उहाँको धारणा छ ।

घोराही उपमहानगरपालिका कृषि तथा पशुपंक्षी शाखाले भूमि व्यवस्थापनका विषयमा छलफल मात्रै गरेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले खेती गर्न चाहने किसानले जग्गा नपाउने तथा जग्गा भएकाले खेती गर्न नसकेको अवस्थामा भूमि बैंकले पुलको काम गर्ने बताउनुभयो । उहाँले पालिकाभित्र खेतीयोग्य जमिन र खेती भएको जमिनको मात्रै विवरण नभई बालीअनुसारको विवरण पनि तयार हुने भएकाले आवश्यकताअनुसार बाली प्रवद्र्धनमा पनि यो योजनाले सहयोग पुग्ने बताउनुभयो । बगर संरक्षण, पाखो व्यवस्थित गर्न पनि यो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।

विचार : सम्पदाहरुको सङ्गमस्थल भक्तपुर-रेणु त्वानाबासु
भक्तपुरको नाम लिनासाथ धेरैले नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातापोल (पाँचतल्ले) मन्दिर, पचपन्न झ्याले दरबारको सहरका रूपमा मात्र सम्झन्छन् । दरबार क्षेत्र अथवा त्योभन्दा बढी हेरे, सुनेको भए–दतात्रय क्षेत्र । तर यतिमा मात्रै सीमित छैन भक्तपुर । ऐतिहासिक सहर त हुँदै हो, यसबाहेक यहाँको संस्कृति, परम्परा, मठमन्दिर, पाटीपौवा, जात्रापर्व, चालचलन र जीवनशैलीको विविधताले गाउँ र सहरको मौलिकपन एकै ठाउँमा भेटिन्छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहकै शब्दमा भक्तपुर एउटा खुला सङ्ग्रहालय हो । यो एउटा खुला विश्वविद्यालय पनि हो, जहाँबाट धेरै कुरा सिक्न सकिन्छ । भक्तपुर मूर्त र अमूर्त सम्पदाहरुको सङ्गमस्थल हो । यहाँ विश्व सम्पदामा सूचीकृत पाँचतल्ले मन्दिर, सुनको ढोका तथा यहाँका कलासंस्कृति मात्रै होइन, यो ठाउँ जीवन सिक्ने थलो पनि हो । अलेक्जेण्डर पावेलले आफनो पुस्तकमा पनि भक्तपुर नघुम्नु भनेको आधा संसार नघुम्नुजस्तो हो भनेका छन् ।

मौलिक घर

भक्तपुर नगरपालिका क्षेत्रमा भने प्रतिपर्यटक १५ अमेरिकी डलर प्रवेश शुल्क लाग्छ । यहाँ दैनिक सालाखाला एक हजार विदेशी पर्यटक घुम्न आउँछन् । भक्तपुरमा पर्यटकलाई आकर्षित गर्ने पक्षमध्येका एक हो, यहाँका घरका बनावट । भक्तपुरमा परम्परागत शैलीका घर धेरै देखिन्छन् । यहाँ धेरैले व्यावसायिक प्रायोजनका लागि यस्ता परम्परागत शैलीको देखिने घर बनाएका छन् । होटल, रेष्टुराँ सञ्चालन गरी पर्यटक तान्नका लागि यस्ता घर बनाएको धेरै देखिन्छन् । पुरानो सहरको जीवन्तताका लागि भक्तपुर नगरभित्र आधुनिक घर बनाउन नपाइने भक्तपुर नगरपालिकाको नियम छ । मोहडामा ढलान देखाउने नपाइने, माथिल्लो तल्लामा स्ल्याब नदेखिने गरी छाना राख्नुपर्नेलगायतका नियम नगरपालिकाको छ । यसका लागि अगाडिको मोहडामा लाग्ने खर्चमा कुल खर्चमा ३५ प्रतिशत खर्च सहयोगस्वरुप नगरपालिकालें उपलब्ध गराउँछ ।

पहिलो टेराकोटा भवन

भक्तपुरको सुकुलढोकाबाट पाँच मिनेटको दूरीमा टेराकोटा भवनको अवलोकन गर्न सकिन्छ । यो भवन पूरै इँटैइँटाले बनेको छ । माटोबाट बनेको आकृतिलाई पोलिसकेपछि निस्कने रुपलाई टेरोकोटा भनेर बुझिन्छ । यस भवन नै नेपालको पहिलो टेराकोटा भवन हो । अरु घर, मन्दिर, भवनहरूमा झ्याल, टोरण, टुँडालहरु काठको हुन्छ भने यो भवनमा रहेको झ्याल, टोरण, टुँडाल, आँखीझ्याल सबै इँटाको छ । यो शैलीको भवनलाई टेराकोटा भवन भनिन्छ । नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लको शासनकालमा हालको भक्तपुर नगरपालिका–६ तुछिमला टोलमा यसको निर्माण भएको थियो । न्यातापोल मन्दिर निर्माणपश्चात् बाँकी रहेको सरसामानको प्रयोग गरी यो भवन बनाएको हो भनिएको छ । यस भवनमा गणेशको मूर्तिका साथै आकाशभैरव र अवाल परिवारहरुको आँगनसमेत रहेको छ ।

त्यस्तै घरहरुको लाममा तौलाछें टोलमा अवस्थित तलातुन्छी गणेश द्यःछें हो । यसमा विश्वकर्मा भैल प्याख खलः विश्वकर्मा धिमे खलः, विश्वकर्मा धा बाजा खलः, डाफा भजन, बासुरी बाजा, लाखे प्याख खलः समावेश छन् । टेराकोटाको एक अलौकिक नमूना रहेको यस घरमा श्रीगणेशको मूर्ति इँटाले बनाइएको छ । घरको ढोकामा प्रजापतिहरुको पुर्खौली माटोको भाडा बनाउने कामको कलात्मक कला राखिएको छ भने दैनिक जीवनमा प्रयोग गरिएका पानी थाप्ने, रक्सी पार्ने, चिउरा कुट्ने, बत्ती कात्ने, जाँतोमा मकै पिस्ने, खर्पन बोकी खेत जानेलगायतका त्यतिबेलाका कामलाई कलात्मक कला टेराकोटामा उत्तारिएको छ । विभिन्न प्रजापतिका गुठीहरु पहलमा २०७८ सालमा यो भवनको निर्माण गरिएको थियो ।

टाइचिन चिउरा

भक्तपुरको अर्को पहिचान हो, टाइचिन चिउरा । नेवारी समुदायका हरेक भोजमा टाइचिन चिउरा नभई हुँदैन । यहाँको टाइचिन चिउरा विशेष मिठासको हुन्छ । ताजा तात्तातो टाइचिन चिउराले त खानाका पारखीहरुलाई लोभ्याउँछ । केही वर्षअघिसम्म टोलटोलमा टाइचिन चिउराको मिल देख्न सकिन्थ्यो । तर आजभोलि टाइचिन चिउरा कसरी बन्छ भनी हेर्नका लागि नागपोखरीस्थित वीरेन्द्र जतिले सञ्चालन गर्दै आएको मिल र भक्तपुर नगरपालिका–५ भुलाछें टोलतिर जान सकिन्छ ।

हाकुपटासी

भक्तपुरको अर्को आकर्षण हो हाकुपटासी (परम्परागत कालो फरिया) अर्थात नेवारी महिलाको परम्परागत पहिरन । यो यहाँको मौलिक पहिरन हो । पहिले भक्तपुरका ज्यापु समुदायका महिलाले आफ्नो लागि चाहिने लुगा आफँै बुनेर तयार पार्ने चलन थियो । पहिला यसको तान मेसिन हरेक किसानको घरघरमा हुन्थ्यो । हाकुपटासी बनाउन हाते तान, चर्खा, फेलु (धागो बेर्ने), तुकी आदि प्रयोग गरिन्छ । आजभोलि हाकुपटासी वा नेपाली कपडा उत्पादन हेर्नको लागि भक्तपुरको लिवाली, व्यासीस्थित औद्योगिक क्षेत्र वा आदर्श खोरेमा गएर अवलोकन गर्न सकिन्छ । हिजोआज विद्युतीय मेसिनले पनि बुन्ने गरिएको छ ।

बाजागाजा धिमे, धाँ, बासुरी

भक्तपुर अर्को पहिचान हो, बाजगाजा । जात्रापर्वलगायतका विशेष पूजाआजामा बाजा बजाएको सुन्न पाइन्छ यहाँं । चाडपर्वमा भक्तपुरभरि सार्वजनिक रुपमा नै बाजागाजाको गुञ्जायमान हुन्छ । टोलटोलमा बाजागाजा प्रशिक्षण लिनेको भीड लाग्छ ।

काष्ठकला

काष्ठकलाले भक्तपुरको अर्को पहिचान झल्काउँछ । यहाँका मयुर झ्याल तथा अन्य मठमन्दिरमा प्रयोग हुने काठको बुट्टाले पनि भक्तपुरको पहिचानलाई उजागर गरेको छ । मठमन्दिरमा फरकफरक बुट्टा कोरिएका काठको प्रयोग गरिएको पाइन्छ । यो भक्तपुरस्थित इनाचो, ताथली, बराही, च्याम्हसिँह, भक्तपुर औद्योगिक क्षेत्रभित्र प्रत्यक्ष हेर्न सकिन्छ । भक्तपुरको हरेका घरको झ्याल, मूलढोका तथा मठमन्दिरमा प्रयोग गरिने काठका तोरनले पर्यटकलाई आकर्षक बनाएको पाइन्छ । आन्तरिक वा बाह्य पर्यटकलाई मायाको चिनो काठको बनेको मयुरको झ्याल वा अन्य परम्परागत बुट्टेदार झ्याल दिने चलन छ ।

मूर्तिकला

भक्तपुरको प्रायः मन्दिरहरुमा ढुङ्गाबाट बनाइएको सिँह, बो सिँह अर्थात् उड्ने सिँह, विभिन्न देवीदेवताको मूर्तिहरु ढुङ्गाबाट बनाइन्छ । कतिपय मन्दिरहरु त ढुङ्गाले मात्र पनि बनेका छन् । यसले पुरानो भक्तपुुरलाई जीवन्त राख्ने काम गरेको छ । भक्तपुरको दरबारस्क्वारमा रहेको सिद्धिलक्ष्मी मन्दिर, नृत्य बात्सला मन्दिर ढुङ्गाले मात्र पनि बनेका छन् ।

सुकुल भोज

नेवार समुदायले खानाको परिकार र भोज गर्ने तरिका पनि अन्य समुदायको तुलनामा भिन्न छ । ती भोजमध्ये सुकुल भोजको भिन्नै विशेषता छ । सुकु भ्वय अर्थात् सुकुलमा लहरै बसेर खाने भोजको अवलोकन र खानेकुराको स्वाद लिन नेवार समुदायमा बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण गुठीको भोजमा लिन सकिन्छ । झ्व भ्वये अर्थात् सुकुल भोजमा चिउरा, लप्ते, अचार, हरियो लसुन, द्याकागु ला (झोल भएको राँगाको मासु), गेडागुडीका परिकार (केराउ, चना, सिमी, सिम्पु) काउली, आलु, छ्याला (तामाको झोल भएको तरकारी) तकोला (ठूलाठूला टुक्रा गरिएको राँगाको मासु), हरियो साग अमिलो, भुटन र दही समावेश गरिन्छ । भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला, गाजर र फलफूलको केही टुक्रा सलादको रुपमा राखिन्छ ।

सम्येबजी

चाडपर्व, भोजमा सम्यबजी छुट्दैन । सर्वप्रिय नेवारी परिकार हो, सम्यबजी । यो नेपाल भाषा अर्थात् नेवारी शब्द हो । जहाँ बजीको अर्थ चिउरा हो । भक्तपुरको सम्यबजीको स्वाद लिन भक्तपुरको स्थानीय खाजा पसल तथा रेष्टुराँमा सजिलै खान पाइन्छ । यसमा बजी (चिउरा) त्यसमा पनि टाइचिन बजी अर्थात् विशेष स्वादिलो चिउरा, कालो भटमास, अदुवा, लसुन, छुयाला (मासुको परिकार), अण्डा, आलु, बोडी र अचार हुन्छ । यो मौलिक नेवारी सम्यबजीमा हुने परिकारहरु हुन् । सम्यबजी सेटमा करिब १० थरि परिकार हुन्छन् । तर आजभोलि अरु थप परिकारहरुमा पनि राखेर सम्यबजी बनाइन्छ । चार्डपर्वमा सम्यबजीलाई प्रसादको रुपमा हातमा राखेर थोरै पनि खाने चलन छ ।

भादगाउँले कालोटोपी

भादगाउँले कालोटोपी भक्तपुरको मौलिक पहिचान हो र भक्तपुर सहरको पुरानो नाम हो भादगाउँ । सहरको यही पुरानो नामको पहिचान दिने गरी मल्लकालदेखि नै भक्तपुरमा भादगाउँले टोपी उत्पादन हुँदै आएको छ । नेवार समुदायमा पनि यो टोपी प्रसिद्ध छ । यसलाई पत्यक्ष रुपमा हेर्न भक्तपुरको कमलविनायक लाम्गालमा बाहिर बसेर टोपी बनाइराखेको हेर्न सकिन्छ । साथै, भक्तपुर नगरका बजारमा पनि ठाउँठाउँमा यस्ता टोपी बनाएको हेर्न सकिन्छ । यसलाई प्रवद्र्धन गर्न भक्तपुर नगरपालिकाले भक्तपुर भ्रमण आउने स्वदेशी तथा विदेशी पाहुनालाई भादगाउँले टोपी लगाएर स्वागत गर्ने गर्दछ ।

कसिमला पाँय् खेल

कसिमला पाँय् भक्तपुरको सबैभन्दा पुरानो परम्परागत खेलको रुपमा लिइन्छ । केही समय अगाडि यो लोप हुन अवस्थामा थियो । यसलाई बुढापाकाले मात्र खेल्ने गर्दथे । यसलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले यस खेललाई जीवन्त राख्न स्थानीय पाठ्यक्रममा समावेश गरेको छ ।
नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गराएपछि यस खेलले पुनर्जीवन पाएको छ । अहिले यो खेल बुढापाकाले मात्र नभई स्कुलमा विद्यार्थीहरूले पनि मन लगाएर खेल्ने गरेका हुन् । यस खेलले मनोरञ्जनका साथै बौद्धिक खुराक प्रदान गर्ने गर्छ ।

जुजु धौ

भक्तपुरको अर्का विशेषता हो जुजु धौ अर्थात् दहीको राजा । यहाँ अन्यत्र नपाइने जुजु धौ अर्थात् दही पाइन्छ । यहाँ जुजु धौ बनाएको प्रत्यक्ष अवलोकन गर्ने मुख्य ठाउँ हो भक्तपुरको जेँला । यहाँ अहिले पनि परम्परागत तरिकाले माटोको भाडामा भुस ओछ्याएर दही तयार गरिन्छ । भक्तपुरको सैँजु थरका समुदायले बनाउने चलन छ यस्ता दही । आजभोलि माटोको मट्का, कला तथा अन्य विभिन्न माटोको भाडामा नै दही बनाउने चलन सुरु भएको छ । नेपाल भाषामा जुजुको अर्थ राजा र धौको अर्थ दही । यस अर्थमा जुजु धौको अर्थ सबैभन्दा उत्कृष्ट दही भन्ने हो । भक्तपुरमा ६५ परिवार दही बनाउने पेशामा आबद्ध रहेको जुजु धौ एसोसिएसनको अनुमान छ ।

बुराँ्ज्या

भक्तपुरको मौलिक परम्परा हो बुराँज्या । बुराँज्या अर्थ केलाउँदा धानको मात्रा बढोस् जति खर्च गर्दा खेतमै नसकियोस् र अन्नदाता करुणामयको करुणा रहिरहोस् भनेर खेतमै जम्मा गरिराखेको कालो धानको थुप्रो घरको मूलीले गरिने पूजाआजालाई बुराँज्या बुझिन्छ । यो धान काटिसकेपछि करिब नौ दिनमा खेतमा परालको सुताभित्र सुरक्षित राखिएको धान निकाल्नेर घर भित्र्याउने सांस्कृतिक विधि पनि बुराँज्या हो । सरल भाषामा हाकुवा अर्थात् कालो धान बनाउने मौलिक परम्पराको रुपमा लिन सकिन्छ । कालो धान बनिसकेपछिको बुराँज्या कार्यक्रम गरी नातेदार, साथीभाइ, छरछिमेकलाई बोलाएर खेतमै प्रसादको रूपमा सम्येबजी खुवाएको हुन्छ भने कसैकसैले बुराँज्या पूजामा अन्नदाता करुणामयसँग सम्बन्धित हुँदा पूजा गरी खेतमै सम्येबजी खुवाई घरमा भोज खुवाउने चलन पनि छ ।

माटोको भाँडा

माटो भाँडा बनाइने भएकाले भक्तपुरलाई छुट्टै पहिचान दिएको छ । प्रजापति (थर) का स्थानीयले विभिन्न प्रकारका माटोका भाँडाकुँडाहरु बनाएको हेर्न सकिन्छ । यहाँ अहिले पनि परम्परागत प्रविधिअर्थात् हात चलाउने चाकाबाट नै माटोका भाँडाकुँडा, मूर्तिहरु देख्न सकिन्छ । कतिपयले मेसिनबाट चल्ने चाकाले पनि बनाएको पाइन्छ । साथै, पर्यटकको आकर्षणको लागि पर्यटकहरुले माटाको भाँडा बनाउन दिइन्छ । माटोका खुटुक्के, गार्गी, दियो, मूर्ति, फिल्टर, हिटर, गमला, प्लेट इत्यादि बनाइन्छ । प्रजापति थरका स्थानीयवासीको परम्परागत पेसामा पर्दछ ।

अन्तमा, कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो । ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको महत्व र यसको सदुपयोगबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र संवद्र्धन गरी भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने भक्तपुरको प्रयास जारी छ । भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक पार्दै चार दशकदेखि यहाँका मूर्त र अमूर्त सम्पदाहरु संरक्षणमा जोड दिंदै आएको छ । (लेखक ख्वप कलेज भक्तपुरका पत्रकारिताका सहप्राध्यापक पनि हुन्)

Facebook Comments