काठमाडौँ/पूर्वसचिव कृष्णहरि बाँस्कोटाको पुस्तक ‘खुसीको गोरेटो’माथि आज यहाँ अन्तरसंवाद गरिएको छ ।
सकारात्मक सोच, विनयशील, नैतिकता, चरित्रवान्, मन सफाजस्ता विषयलाई व्यावहारिक रूपमा प्रयोग गर्न प्रेरित गरिएको उक्त पुस्तकको लोकार्पणपछि अन्तरसंवाद गरिएको हो । सो अन्तरसंवादमा पूर्वमुख्यसचिव एवं साहित्यकार डा विमल कोइरालाले खुसीको गोरेटो पहिल्याउन सक्नु जीवनको महत्त्वपूर्ण पाटो भएको बताउनुभयो ।
मानिसहरू सफल भए पनि खुसी हुन नसकेको प्रसङ्ग उल्लेख गर्दै डा कोइरालाले भन्नुभयो, “खुसी हुन सकियो भने सफलता प्राप्त हुन्छ तर सफलताले खुसी दिँदैन ।”
पुस्तकबारे समीक्षा गर्दै जीवन विज्ञानका विशेषज्ञ, जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माले विश्वका जुनसुकै पद भए पनि मानिसले अन्तिममा खोज्ने खुसी नै भएको बताउनुभयो ।
अग्रज पत्रकार वविता बस्नेतले अहिलेको समाजमा नराम्रो कुरा विक्छ भन्ने भाष्य चिर्दै लेखक बाँस्कोटाले खुसीको गोरेटो पुस्तकमार्फत राम्रो र असल कुरा बिक्छ भन्ने देखाउनुभएको बताउनुभयो । पत्रकार बस्नेतले भन्नुभयो, “खत्तमै भयो, बर्बाद नै भयो, केही गर्न सकिएन भनेर निरास हुने मान्छेलाई पनि यो पुस्तक पढेपछि जुरुक्कै उठेर केही गरौँ जस्तो बनाउँछ ।”
लेखक बाँस्कोटाले मानिस समयसँगै परिवर्तनशील हुनुपर्ने उल्लेख गर्दै सदा खुसी र सुखी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आदर चाहिनेले अरुलाई पनि आदर दिन सक्नुपर्ने बताउनुभयो । उहाँले जीवनका अनुभव भोगाइहरू समेटेर पुस्तक तयार पारेको उल्लेख गर्नुभयो ।