के प्रेम अन्धो छ हो ?

कविता

तिम्रो आँगन छेउबाट जहिले हिड्छन् सधैं किन्नरी
मेरो चञ्चलता त रोक्छ कसले ! रोकिन्छ यो के गरी ?
आँखा चित्र भरी मिठो छ मनको खाई अघाउन्न यो
हेर्दा दूर कतै छ प्यास मनको चाहेर पाउन्न जो ।।१।।

माटोमा पसिना भरेर मनको खेती सजाए पनि
खाई लाख मिठा मिठा चिजहरु आफै अघाए पनि
भोगी प्यास सधैं उठेर जहिले हेरेर त्यो प्रातमा
छोड्ला त्यो सपना त आउन कहाँ निन्द्रा भए रातमा ।।२।।

चाला सूर्य समान देखि मनमा झंकार आए पछि
खोलाले पनि गीत भर्छ सुरिलो संगीत पाए पछि
उर्जा आँगनमा बसेर परको हेर्दै छ बाटो तर
खाली आँगनमा छ एक बटुवा पुग्दैन आफ्नो घर ।।३।।

तारा सूर्य सबै समान नवमा को हो पराया भन ?
प्यारो हुन्छ पवित्र त्यो ह्दयको माया फुलेको वन
बाटो झंकृत हुन्छ ताल लयमा हिड्दा यता कामिनी
दिन्छे कर्म मिठा त भन्नु कसरी छे नै उ सौदामिनी ।।४।।

पर्खे रात बिहान हुन्छ सजिलै कालो हराए पछि
आफै भाग्छ निशा उषा नजिकको शक्ति हराए पछि
टाढा जा मनदेखि दूर परको बाटो हुँदै जा त जा
एक्लो हाँस्न मजा छ है रहरको चाहिन्न अर्को मजा ।।५।।

इच्छा के छ फलाउने रहरको खोल्दै छ आफ्नो कुरो
छोडी काम रमाउने रहर भो के प्रेम अन्धो छ हो ?
फुल्दा वागभरी विचित्र रुपका सौन्दर्य ती फूलमा
मेरो यो मनको गयो रहर जो आफै उसै भूलमा ।।६।।

Facebook Comments