पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ औराहा बस्ने २७ वर्षीय सल्टु महतोलाई बाह्र बोरको एकनाले घरेलु बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-१ औराहागाउँ बस्ने मंगलबहादुर भ्लोनको घरबाहिर गोली पड्किँदा उनकै घरभित्र रहेको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको घटना सम्बन्धमा अनुसन्धानको क्रममा उक्त घटनामा महतोको संलग्नता रहेको खुल्नआएपछि प्रहरीले उनलाई उनकै घर नजिकै नालीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरि वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध २ सय ९१ एम्पुल नुर्फिन, २ सय ९१ एम्पुल फेनारगन र २ सय ९१ एम्पुल डाइजेपाम सहित भारत विहार मोतीहारी थाना रामगढवा बेलाहा-१० बस्ने २२ वर्षीय असरफ अलीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।