काठमाडौं । २०७५ साल फागुन १० गते देखि औपचारिक रूपमा स्थापित रहेको साहित्यसुधाले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । सो अवसरमा संस्थाकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षता, प्रा.डा.कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्य, प्रभा भट्टराई तथा हरिभक्त सिग्देल ‘महेश’को विशिष्ट आतिथ्य तथा संस्थाका संरक्षक डा.रामप्रसाद ज्ञवाली, सल्लाहकार कलानिधि दाहाल, साहित्यकार डा.वासुदेव काफ्ले, पर्शुराम परासर लगायतको उपस्थितिमा भुवन घिमिरेको प्रविधि (जूम) संयोजनमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घोषक संस्थाका सहसचिव कृष्णदेव रिमालले गर्नुभएको थियो । सो कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेश घिमिरे ‘मार्मिक’ले स्वागत मनतव्य दिनुभएको थियो । संस्थाकी सचिव इन्दिरा दाहालले संस्थाको त्रिवर्षीय कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा डा.हरिप्रसाद सिल्वाल, डा.प्रियम्वदा काफ्ले, जानुका गुरागाईँ, वीरेन्द्र नेपाल, मिरा काफ्ले पोखरेल, दिव्यलक्ष्मी पोखरेल, राजेन्द्र घिमिरे, होमप्रसाद गौतम र अनुज्ञा रेग्मीले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिले संस्थाको कार्यका आधारमा संस्थाको मुक्तकण्ठले प्रशंसा गर्दै आजको यो करीव साढे दुई घण्टाको समय आफ्नालागि सफल भएको बताउँदै वाचित कविताको टिप्पणी समेत गर्नुभएको थियो । उहाँले आपूmले कसैलाई उपहार दिएको साहित्यिक कृतिका पानाहरू सडकमा चटपटे बेच्न प्रयोग भएको फेलापरेको प्रसङ्ग उठाउँदै त्यसपछि कसैलाई पनि व्यक्तिगत रूपमा कृति उपहार नदिन र बरु त्यसको उपयोग हुने पुस्तकालयहरूमा उपहार दिन आग्रह गर्नुभयो ।
संस्थाका संरक्षक डा.रामप्रसाद ज्ञवालीले हामी साहित्यकारहरूले देश सङ्कटमा परेको यस घडीमा आफ्ना धारिला सिर्जनाका माध्यमबाट जनजागृति ल्याउनुपर्ने र यस बेला हामीले सही निर्णय गर्न गराउन नसकेमा त्यसबाट उत्पन्न हुने खतराबाट उन्मुक्ति पाउन निक्कै ठूलो वलिदान गर्नुपर्ने कुरामा सचेत गराउनुभयो ।
शुभकामना मन्तव्यका क्रममा सल्लाहकार कलानीधि दाहालले संस्था चलाउन चुनौती रहेको बताउनुभयो भने प्रभा भट्टराई, हरिभक्त सिग्देल ‘महेश’, नगाधिराजले कविता समेत वाचन गर्नुभएको थियो । सोही कार्यक्रममा हरिभक्त सिग्देलले साहित्यसुधा नेपालमार्फत आपूmले वार्षिक रूपमा एकजना साहित्यकारलाई रु. ११,१११/राशिको पुरस्कार दिने घोषणा समेत गर्नुभयो ।