कवितामा भाव र बिम्बको खेल हुन्छ, अनि मात्र कविता कविता जस्तो बन्छ । भावनाले यहाँ काम गर्दैन । उङ्छवास थपिएन भने । उङ्छवास ल्याउनका लागि चमत्कार चाहिन्छ । जुनकुरा साधनाले मात्र पुरा गर्छ । यसमा रहर र लहडले कुनै काम गर्दैन ।
‘समयको बयान’ आधुनिक कविताको यात्रामा आएको एउटा बिम्ब हो । जसले अहिले चलिरहेको समयको बयान गर्छ । गाउँबाट बिहान उठेर देखिने सूर्योदयको आकार सहरको कुनै पनि चौरबाट देखिदैन । त्यसैले त होला सूर्योदय र अस्तका लागि मानिसहरु नगरकोट र श्रीअन्तु जान्छन् । यही पहाडी स्वादलाई कविताले रसस्वादन गराउँछन् । र, त गाउँको वयान यसरी हुन्छ शब्दमा–
एक अर्कामा रीस र डाहा थिएन
वर्सौका लागि मुग्लान जाँदा पनि अविश्वास थिएन
अभावले अँगेनुमा आगो नबल्दा पनि गुनासो थिएन । (सम्बन्ध)
गाउँको आत्मिय खुसी सहरको देखावटीमा कहिँकतै पाइँदैन ।
आखिर कहिल्यै नछुटिने भनेको
आफ्नै छाया त रहेछ
जो लाशसँगै जान्छ चितामा
र, खरानीसँगै धुवाँ बनेर उडी जान्छ हावामा । (छुटी जानेहरू)

साथको कुरा पनि अचम्मको हुन्छ, जसलाई मनको अन्तर कुन्तरमा सजाएर राखिन्छ त्यो पनि फगत खरानीमा रूपान्तरण भएर जान्छ । यहाँ भन्दा पर कसैको अस्तित्व छैन ।
कवितामा गाउँको संझना छ । बाको अर्ति छ । बाको मन्त्रको प्रभाव छ । बाले घर चलाएको अनुभव छ । जो अहिले आफै बा भएको छ । बाको निवृतिभरण पछि । अनि उसले बुझेको छ बाको अवस्था ।
प्रेम होस् या प्रेमको तस्विर उस्तै घुमेको छ हरेकको मन र जीवनमा । घडीको सुइ जस्तै । जसले तरंग पैदा गर्छ । यहीँ जीवनको अन्तिम सत्य मृत्यु र सार्थकताको ज्ञान सल्बलाउँछ । आमा जस्तै शान्त जून भएर । तर फरक छ प्राकृतिक र सौन्दर्य चेतनाका हिसाबले । यो कुरा कविताले बोलेका छन् ।
पहाडको एक उचाइ हुन्छ, निश्चित आकारमा अडिएको । त्यहाँ माथि पुगेर हेर्दा पुन अर्को पहाड देखिन्छ । यो स्वभाविक हो । तर हामीले हेर्दा तलबाट त्यो लुप्त पहाड देखिएको हुँदैन । हाम्रो बाह्य आँखामा आएको सुन्दर बस्तुको त्यो आकृति कवितामा छ । रूप र सौन्दर्यका हिसाबले पनि कविता अमरछन् ।
गाउँको माटो खोटाङबाट बोकेर समथर मैदान विराटनगर आएका मीनकुमार नवोदितको कविचेत अझैं खोटाङमै रमेको छ । त्यहाँको पाखोमा भएको सौन्दर्यले चिन्ता जगाइरहेको छ । त्यही भएर त कवितामा माटोको सुगन्छ र ममताको रंग पाइन्छ । नत्र यो कोलाहलमा कस्ले चिन्छ ।
बेपत्ता भयो मुस्कान
खुसी खोज्न गएको बतास फर्किएन कहिल्यै
बरु मृत्युलाई काँधमा बोकेर फर्कियो आँधी । (गाउँ सम्झेर गाउँ)
यस कृतिमा पसिनाको मुल्य, आदिवासीका दुख, फेरिदैँ गएको समय र ओझेल परेका आफ्न्तको वेदना छ । साँच्चै नढाटी भनूँभने समयले बोकाएको भारी र श्रमको आवृति बारम्बार आएको छ । यसरी हेर्दा कवित्वको चेतना निकै माथि छ । हुनत उनी यो पुस्ताका उम्दा कवि हुन् ।
समाचारमा भट्याएका समाजका बिकृति अहिलेको हाम्रो आवरण हो । हाम्रो गिर्दो विरासदको साक्षी हामी आफु नै बस्नु परेको छ । यो कवितामा देखाएको सवल पक्ष हो । कवितामा विषयको पुनरावृति छ । त्यो अरु विषय नभएर हैन, लेख्नै पर्ने भएर लेखिएको हो भन्ने दावा कविताले गरेका छन् । पाठकका लागि कति एउटै विषय जस्तो लागेपनि फरक स्वादले त्यो कुरालाई भुलाएको छ ।
समयसँगै मान्छेको मन यसरी हुनेछ परिवर्तन
गीता, त्रिपिटक, कुुरान र बाइबललाई सल्काएर
मन्दिर, गुम्बा, चर्च र मस्जिदमा लगाउनेछन् आगो । (भविष्यवाणी)
कवितामा आएको विचारलाई जीवनको सार्थकतामा गाँसेको यो सुन्दर माला हो । जसलाई विन्नका लागि लामो त्याग र समय चाहिन्छ । कविको कवित्वको सम्मान गर्दै, कृतिको सफलताको शुभकामना ।