नियमित छ खानेपानी

सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको कुम्मायकमा तमोरको पानी यासोककोडाँडासम्म ल्याई वितरण थालिएपछि जनजीवन केही सहज बनेको छ । आयोजनामा नियमित प्राविधिक जटिलता आए पनि समितिले नियमित खानेपानी वितरण गरिरहेको छ । “अहिले खानेपानी नियमित आपूर्ति भइरहेको छ । ठाउँ र अवस्था हेरेर दैनिक वा दुई दिनमा एकपटक खानेपानी वितरण गर्छौँ”, अध्यक्ष निरौलाले भन्नुभयो, “आयोजनाको नियमित सञ्चालनमा कुम्मायक गाउँपालिका र सङ्घीय खानेपानी आयोजना कार्यालय इलामले सहयोग गरिरहेका छन् ।”

विगतमा मुख्य प्रसारण लाइनको काम सम्पन्न भई करिब दुई हजार घरसम्म खानेपानी विस्तार भएपछि विसं २०७६ फागुन ११ गते सो खानेपानी आयोजनाको शुभारम्भ भएको थियो । खानेपानीका मुहान सुक्दै गएपछि साविकको यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२÷७३ बाट बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण सुरु भएको थियो । यी गाविसहरूलाई सरकारले विसं २०६८ मै सुक्खाग्रस्त क्षेत्र घोषित गरेको थियो । रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार २६६ स्थानीयवासी लाभान्वित हुने सरकारी प्रक्षेपण छ ।

कुम्मायक–५ स्यावरुम्बाको लुबुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पु¥याइ खानेपानी वितरण भइरहेको हो । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुबुघाटबाट विभिन्न सात स्थानमा रहेका पम्पिङ स्टेशन (ट्याङ्की)हरुको सहायताले डाँडासम्म पानी पु¥याइएको हो । आयोजनाको प्रसारण लाइनतर्फ मुहानमा एउटा ट्याङ्की, पम्पिङ स्टेशन सातवटा, खोल्सा क्रसिङ र कार्यालय भवन एक–एक वटा, पानीट्याङ्की ११ वटा र गार्ड घर १० वटा निर्माण भएका छन् । तमोर नदीबाट डाँडासम्म पानी ल्याउने प्रसारण लाइन १७.४ किलोमिटर रहेको छ भने वितरण पाइपलाइन १९२.५१ किलोमिटर छ । वितरण लाइनतर्फ अग्नि नियन्त्रक १५ वटा, खोल्सा क्रसिङ ३४ वटा, भल्भ च्याम्बर ११५ छन् ।

यी सबै संरचना दुई वर्षअघि नै निर्माण पूरा भएका थिए । आयोजना सञ्चालनका लागि यासोक बजारबाट लुबुघाटसम्म ८.८ किलोमिटर ११ केभी विद्युत् प्रसारण लाइनसमेत विस्तार भएको छ । आयोजनाको प्रसारण लाइन प्रेरा स्वामी नारायण जेभी ललितपुर तथा वितरण लाइन कन्काई–महादेव खिम्ती–स्वामी नारायण जेभी सुनसरीले निर्माण गरेका हुन् ।

Facebook Comments