म
पैसा भोकै कति बसिरहूँ भन्न थाल्यो मलाई
राँको बालौ कि अब तँ छिटो पर्खि अल्छी तलाइँ
खान्छस् के के सहर भरका होटलैमा डुलेर
कस्तो मोटो भइकन गयो देह तेरो फुलेर ।।१।।
आत्मा
काँटा चम्चा वरपर उसै देख्छु सारा छरेका
खाली पेटै घरतिर अहो ! बाबु रोईरहेका
बाँझो खेती फलफुल सबै झर्न थाले कुहेर
बस्ने छानो पनि झरि गयो छाउनी त्यो चुहेर ।।२।।
म
पानी धारो वन सरि भयो धाउने छैन कोही
भैंसी बाख्रा सब मरिसके गोठ खाली म देख्छु
चल्नै गाह्रो पयर बल खै हेर्छु मेरो हरायो
बाबा आमा म त परपरै भन्नु छोरो हरायो ।।३।।
आत्मा
हाम्रो पालो सकि नसकिनै नित्य खेती गरेर
राख्नै पर्ने बल समयको पूर्ण कोठा भरेर
के के खाने नविन फलको स्वाद हुन्थ्यो त राम्रो
सारा खेती विलय पथमा जे छ खाँदा नराम्रो ।।४।।
म
मेरो बाटो समथर थियो हाँस्न घुम्दा मजाले
सारा यादै नविनत भयो के भनौँ खै म ऐले
आत्मा तेरो मनसँग मिले यादमा डुब्नु पर्छ
खेले मैले समयसँग नै चाहनै भुल्नु पर्छ ।।५।।
(मन्दाक्रन्ता)
Facebook Comments