हे बाले कवि हो विहान रवि झैं चम्केर आशा छर
आफ्नो ज्योति बढाइ साम्य तिमीले सारा अध्यारो हर
देऊ ज्ञान अबोध बाल बनिता सारा त ज्ञानी बनुन्
जो–जो शान्त र साम्रछन् नजरका साथी सबैले भनुन् ।।१।।
हाम्रोमा मधुरी रहेर दुनियाँ तिन्को भयो पूजन
तिम्रा खातिर युद्धमा अघि बढुन् तिम्रा सधैं लोचन
सारा शान्त रहेर यो सलनले दिग्भ्रान्त मेरो हर
ब्रम्हमा लिनहुन्छ आखिर सबै बाँच्ने त को नै छ र ? ।।२।।
राम्रा शब्द पढेर आज कतिले संसार जित्ने भए
तिन्का शब्द अझै नि ताज जतिकै ती ता खरानी भए
आस्था बाँचिरहन्छ नित्य सँगले यो देह मर्दा पनि
बैराग्यै नहुने र रोष भुलिने बाँचौ न हो जीवनी ।।३।।
भाई, बन्धु र इष्ट मित्रवरमा सद्भाव छर्दा पनि
आफै शान्त हुने र बाँचिरहने कस्तो अहो जीवनी
मेरो भूल भयो भने त धरती आकाश तिम्रै न हो
हेर्छन् चन्द्र उहाँ सदैव भुइँमा दोषी छ निर्दोष को ।।४।।
मायाका बलले छ याद घरको ताजा भएको सदा
विद्याका बलले अघाइ रहने एक्लो भएको हुँदा
एक्लोथ्यो वनपर्वमा घुमिरदा अध्यात्ममा यो गयो
साथीले कविको बयान नगरी बस्नै नसक्ने भयो ।।५।।