मैले ज्ञान लिए र हासिल गरे वेदान्तको ज्ञान नै
सारा सृष्टि बुझें छ बुझ्नु अब के भन्ने भएको भ्रमै
एकै ज्ञान दियो बिहान जव त्यो निन्द्रा त खुल्दै थियो
टाढा जा अबता नदे दुख अहो ! भन्दै थियो ज्ञान पो ।।१।।
वस्त्रादी रिसले नला अब त भो मैलो नबोक्ने म है
जुत्ता नै पनि लाजले निहुरियो आयू पुरा भो कि झैं
सासैले त भन्यो नहिड् त दुनियाँ गल्दै गएको छु म
त्राणै त्राण भयो गलेर बल यो यस्तै भएको छु म ।।२।।
कस्ले के भनिदिन्छ जीवन कथा यो मृत्यु शैया न हो
निन्द्रा हो सपना र खास उसको चैत्यन्य जो लुप्त भो
जे सोचे पनि हुन्छ ज्ञान अथवा विज्ञान जो प्राण हो
सारा सृष्टि बिहान हो र भवको बेअर्थ भो ज्ञान जो ।।३।।
पैसा खै पद खै ! र सान सब त्यो ऐले कता गो कता
सारा यी घरमै त छोडिन गए पायो भनौं के म ता ?
सारा बस्त्र खुले जुहारत छुटे जाँदा महाप्रस्तकै
स्वास्नी साथ छुटी र पुत्र सँगमै आयो त घाटै तकै ।।४।।
मानौ उच्च भयो र दूर चिनियो मर्दै नमर्ने छ के ?
सारा याद त मात्र घाट तक हो बिर्से भुले भो अरे
ठूलो मान थियो भनेर जलले भिज्दैन के देह हो
आगोले पनि छोड्छ पोल्न त भने बन्ला खरानी र को ? ।।५।।