तेस्रोलिङ्गीका बारेमा सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एमी पुरस्कार विजेता हास्यव्यङ्ग्य लेखकको गिरफ्तारीले बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको विषयमा विवाद चर्किएको छ ।
सन् १९९० को दशकको चर्चित प्रहसन ‘फादर टेड’का सह–निर्माता आयरल्यान्डका लेखक ग्राहम लाइनहानलाई लण्डनको हिथ्रो विमानस्थलमा पाँच जना सशस्त्र प्रहरीको टोलीले सोमबार पक्राउ गरेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी नाइजेल फराजले बुधबार क्यापिटोल हिलमा कंग्रेसलाई प्रमाण पेश गर्दै यो मुद्दा छलफलमा ल्याउनुभएको छ ।
“ग्राहम लाइनहान प्रकरण बेलायतमा स्वतन्त्रताविरुद्धको युद्धको अर्को उदाहरण हो,” उहाँले सदनको न्यायिक समितिलाई प्रमाण दिनुअघि भन्नुभयो ।
“अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भइरहेको छ र म अमेरिकालाई सतर्क रहन आग्रह गर्दछु,” उहाँले भन्नुभयो।
लण्डनको महानगरीय प्रहरीका अनुसार सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टका कारण हिंसा भड्काएको आशङ्कामा अमेरिकाबाट उडानमा आएका एक व्यक्तिलाई सोमबार पक्राउ गरिएको छ। प्रहरीले पोष्टका सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ ।
“‘एमपीएस एभिएसन युनिट’का अधिकारीहरूले उहाँलाई पक्राउ गरेका हुन्,” प्रहरीले भनेको छ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विमानस्थलमा खटिएका अधिकारीहरूले बन्दुक बोक्नु सामान्य कुरा हो। पक्राउको समयमा कुनै पनि बिन्दुमा यी उठाइएको वा प्रयोग गरिएको थिएन।
– अधिनायकवाद –
लाइनहानका अनुसार एक्समा पठाइएका तीन वटा म्यासेजसँग सम्बन्धित मुद्दामा यो पक्राउ गरिएको हो ।
एक्समा संप्रेसित तीनमध्ये एक पोस्टमा लाइनहानले भन्नुभएको छ, “यदि ‘पार–लैङ्गिक’ पुरुष महिलामात्र भएको ठाउँमा छ भने उसले हिंस्रक, अपमानजनक कार्य गरिरहेको मानिने गरिएको छ।
उहाँले भन्नुभयो, “एक दृश्य बनाइन्छ, प्रहरीलाई बोलाइन्छ र यदि अन्य सबै असफल भयो भने उसलाई मुक्का हानिन्छ।”
स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले बुधबार बीबीसीको टुडे कार्यक्रममा भन्नुभयो, “हामी चाहन्छौँ प्रहरीले ट्वीटभन्दा सडकमा प्रहरी परिचालनमा ध्यान केन्द्रित गरोस् ।”
उहाँले थप्नुभयो, “यदि वर्षौंदेखि असल नियतका साथ संसद्ले प्रहरीमाथिको बढीभन्दा बढी अपेक्षालाई तह लगाएको छ र जनताको ध्यान र प्राथमिकतालाई कमजोर बनाएको छ भने त्यो पक्कै पनि हामीले हेर्नुपर्ने कुरा हो ।”
गिरफ्तारीले फेरि एकपटक बेलायतको अभिव्यक्ति स्वतन्त्रता कानूनमा ध्यान केन्द्रित गरेको छ।
ह्यारी पोटरकी सर्जक जेके रोलिङले लाइनहानको गिरफ्तारीलाई ‘नितान्त निन्दनीय’ र ‘अधिनायकवाद’ को संज्ञा दिनुभएको छ ।
प्रविधि अर्बपति तथा एक्सका मालिक एलन मस्कले बेलायत ‘प्रहरी राज्य’ भएको संक्षिप्त तर कडा प्रतिक्रिया जनाउनुभएको छ ।
बेलायतको ग्रीन पार्टीका नयाँ नेता ज्याक पोलान्स्कीले उक्त गिरफ्तारीलाई ‘समानुपातिक’ भन्दै बचाउ गरे पनि ती अधिकारीहरू किन सशस्त्र थिए भन्ने आफूलाई थाहा नभएको बताएका छन्।
हालै बेलायतमा अभियान समूह प्यालेस्टाइन एक्सनलाई समर्थन गरेको आरोपमा सयौँ व्यक्ति पक्राउ परेपछि अभिव्यक्ति स्वतन्त्रताको चर्चा चुलिएको छ । बेलायतको एक एयरबेसमा आक्रमण गरी विमानमा रङ फ्याँकेपछि आतङ्ककारी समूहका रूपमा यसलाई प्रतिबन्ध लगाइएको थियो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गत फेब्रुअरीमा ह्वाइट हाउसमा भएको भेटमा प्रधानमन्त्री केइर स्टार्मरसँग यो विषय उठाउनुभएको थियो ।
लाइनहानले लोकप्रिय हाँस्यव्यङ्ग्य ‘ब्ल्याक बुक्स’ र ‘द आईटी क्राउड’ पनि सह–लेखन गर्नुभएको थियो, जुन एमी र बाफ्टा दुवैबाट सम्मानित गरिएको थियो।
हालसालै, उहाँनी आफ्नो लिंग–आलोचनात्मक विचारहरूको लागि परिचित हुनुभएको छ र उहाँले लेखेको सन्देश प्रकरणपछि ‘ट्रान्सफोबिक’ भएको भनेर आलोचना गरिएको थियो।
उहाँलाई बिहीबार लण्डनको अदालतमा अर्को मुद्दामा उपस्थित गराइने छ, जसमा उहाँमाथि तेस्रोलिङ्गी व्यक्तिविरुद्ध उत्पीडन र आपराधिक क्षतिको आरोप लगाइएको छ।-लण्डन(रासस/एएफपी)