सीपयुक्त भएर मात्र विदेश जाऔँ-क्यानडास्थित सेन्टेनियल कलेजका प्राडा धरेल

काठमाडौँ/वैदेशिक रोजगारीमा जाँदा सीपयुक्त भएर मात्र जानुपर्ने विज्ञले बताएका छन् । क्यानडामा रोजगारीका सम्भावनाका विषयक एक छलफल कार्यक्रममा आफ्ना धारणा राख्दै क्यानडास्थित सेन्टेनियल कलेजका प्राडा तुलसी धरेलले सीप भए जुनसुकै ठाउँमा पनि जिन्दगी सहज हुने बताउनुभयो ।

उहाँले सीप नजानेमा कहीँ पनि अवसर नपाइने उल्लेख गर्दै सीपयुक्त भएर विदेश जाँदा दुःख नपाइने बताउनुभयो । विगत २५ वर्षदेखि क्यानडाको कलेजमा अध्यापन गराउँदै आउनुभएका डा धरेलले क्यानडालगायत विश्वका अधिकांश पश्चिमा मुलुकहरुमा दक्ष जनशक्तिको खाँचो रहेको र त्यसमा पनि स्वास्थ्य क्षेत्रका जनशक्तिको माग बढी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “झन्डै एक लाखजति नेपालीहरु रहेको अनुमान गर्न सकिन्छ । रोजगारी, रेष्टुरेन्ट व्यवसाय, घरजग्गा कारोबार, सौन्दर्य पेसा आदिमा नेपालीहरु काम गरिरहेका छन् । नेपालको शिक्षाको स्तर राम्रो छ त्यसैले पनि दक्ष जनशक्ति त्यहाँ जाँदा काम नपाउने भन्ने हुँदैन ।”

क्यानेडियन मार्केटिङ एसोसिएसनका काउन्सिल सदस्य समेत रहनुभएका डा धरेलले नेपालीहरु उच्च स्तरको पेसामा काम गरिरहेको बताउँदै क्यानडा केही वर्ष यता रोजगारी तथा अवसरको राम्रो गन्तव्य बनेको बताउनुभयो ।

उहाँले दक्ष जनशक्ति विदेश पलायन भए भनेर नकारात्मक धारणा पाल्न नहुने बताउनुभयो । “दक्ष जनशक्तिलाई पठाउनुपर्छ । जीवनस्तर पनि उकासिन्छ र राष्ट्रको पनि इज्जत बढ्छ । दक्ष जनशक्तिलाई विदेश पठाउनुहुन्न भनेर नकरात्मक सोच राख्नुहुन्न”, उहाँले भन्नुभयो ।

Facebook Comments