संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्था (आइएइए) ले मङ्गलबार यसका निरीक्षकहरूले सिरियाको एक पुरानो साइटमा युरेनियमको निशान फेला पारेको जानकारी दिएको छ । यो अघिल्लो सरकारले गोप्य आणविक कार्यक्रम सञ्चालन गरेको स्थल हो भन्ने विश्वास गरिएको छ ।
पूर्वराष्ट्रपति बशर अल–असदको नेतृत्वमा सिरियाले अघोषित व्यापक आणविक कार्यक्रम चलाएको आशङ्का गरिँदै आएको थियो । यसमा उत्तर कोरियाले निर्माण गरेको भनिने देइर अल–जौर प्रान्तस्थित अघोषित आणविक रिएक्टर पनि समावेश थियो ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल मारियानो ग्रोसीले पहिले एसोसिएटेड प्रेससँग भन्नुभएको थियो, “सिरियाको केही गतिविधि एजेन्सीको दृष्टिमा सम्भवतः आणविक हतियारसँग सम्बन्धित देखिन्छ ।”
गत वर्ष आइएइएका निरीक्षकहरूले देइर अल–जौरसँग ‘कार्यात्मक रूपमा सम्बन्धित’ भनिएका तीन स्थानमा वातावरणीय नमूना सङ्कलन गरेका थिए । तीमध्ये एक स्थानमा लिइएका नमूनामा ‘मानवजनित प्राकृतिक युरेनियम कणहरूको महत्त्वपूर्ण सङ्ख्या’ भेटिएको प्रवक्ता फ्रेडरिक डाहलले विज्ञप्तिमा बताउनुभयो ।
उहाँका अनुसार यीमध्ये केही युरेनियम कणहरू युरेनियम अयस्कलाई युरेनियम अक्साइडमा रूपान्तरण गर्ने प्रक्रियासँग मेल खान्छन्, जुन रिएक्टरसँग सम्बन्धित गतिविधिको सङ्केत हुनसक्छ ।
ग्रोसीले सोमबार एजेन्सीको निर्देशक बोर्डलाई प्रस्तुत गरेको प्रतिवेदनमा यी निष्कर्षहरू समावेश गर्नुभएको छ ।
देइर अल–जौर साइटबारे सार्वजनिक जानकारी भने सन् २००७ मा इजरायलको हवाई आक्रमणपछि मात्र बाहिर आएको हो ।
मध्यपूर्वमा एक मात्र आणविक हतियार भएको देश मानिने इजरायलले आफ्नो कार्यक्रमबारे आधिकारिक घोषणा भने गरेको छैन । आक्रमणपछि सिरियाले उक्त स्थललाई समतल बनायो र आइएइएका प्रश्नहरूको पूर्ण जवाफ कहिल्यै दिएन ।
आइएइएको टोलीले गत वर्ष असद सत्तामा रहँदा केही चासोका स्थलहरूको भ्रमण गरेको थियो । असदको पतनपछि अन्तरिम राष्ट्रपति अहमद अल–साराको नेतृत्वमा बनेको नयाँ सरकारले एजेन्सीसँग सहकार्य गर्ने सहमति जनाएको छ र निरीक्षकहरूलाई युरेनियम भेटिएको ठाउँमा पुनः प्रवेशको अनुमति दिएको छ ।
निरीक्षकहरूले त्यहाँ थप नमूना सङ्कलन गरेका छन् । डाहलले भन्नुभयो, “यी सबै नमूनाका नतिजा तथा देइर अल–जौर साइटको योजनाबद्ध भ्रमणबाट प्राप्त जानकारीको मूल्याङ्कन गरिनेछ र आवश्यकता परेमा थप फलो–अप गतिविधि सञ्चालन हुनेछ ।”
यसै वर्ष जुनमा दमास्कस भ्रमणका क्रममा ग्रोसीले एपीसँग राष्ट्रपति अल–साराले भविष्यमा सिरियामा आणविक ऊर्जा विकास गर्ने चासो देखाउनुभएको बताउनुभएको थियो ।
उहाँका अनुसार यस क्षेत्रमा अन्य धेरै मुलुकहरू पनि कुनै न कुनै रूपमा आणविक उर्जाको खोजीमा छन् । सिरियाले विशेषगरी साना मोड्युलर रिएक्टरमा चासो देखाएको हुनसक्ने उहाँले उल्लेख गर्नुभयो । यी परम्परागत ठूला रिएक्टरहरूभन्दा सस्तो र प्रयोगमैत्री हुने बताइन्छ ।
ग्रोसीले भन्नुभयो, “आइएइए सिरियाको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन सहयोग गर्न इच्छुक छ, जसलाई करिब १४ वर्ष लामो गृहयुद्धले गम्भीर रूपमा कमजोर पारेको छ । यस अन्तर्गत रेडियोथेरापी, आणविक औषधि र क्यान्सर उपचार (ओन्कोलोजी) पूर्वाधार पुनर्निर्माणमा सहयोग उपलब्ध गराउन सकिन्छ ।”-भिएना(रासस\एपी)