आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्धल केरुङले जित्नुभएको छ । जेनियम युवा क्लब धुलाबारी झापाले आज आयोजना गरेको साइक्लिङ प्रतियोगितामा केरुङले चालिस किलोमिटरको यात्रा एक घण्टा २८ मिनेटमा पूरा गरी प्रथम उपाधि जित्नुभयो । उहाँले नगद रु ३५ हजारसहित ट्रफी र गिफ्टह्यम्पर प्राप्त गर्नुभएको छ ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट सहभागी भएको प्रतियोगितामा दोस्रो उपाधि ताप्लेजुङका आशिष गुरुङले र तेस्रो उपाधि ताप्लेजुङका प्रवीण राईले हाता पार्नुभएको छ । उहाँहरू दुवैलाई क्रमशः नगद रु ३० र रु २५ हजारसहित ट्रफी र गिफ्टह्याम्पर प्रदान गरिएको छ ।
त्यस्तै चौथो हुने सचिन रिमाललाई रु तीन हजार, पाँचौँ हुने आकाश श्रेष्ठलाई रु दुई हजार तथा छैँटौँ हुने विष्णुकुमार राई, सातौँ हुने प्रसिद्ध बस्नेत, आठौँ हुने सुदीपकुमार गडेरी, नवौँ हुने युद्व राई र दशौँ हुने अजय राई (भूपू) लाई जनही रु एक हजार नगदसहित ट्रफी र गिफ्टह्याम्पर प्रदान गरिएको क्लबका अध्यक्ष धनराज थापाले बताउनुभयो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ प्रदेशसभाका सदस्य गोपालचन्द्र बुढाथोकीले पुरस्कार वितरण गर्नुभएको थियो ।
‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ आज धुलाबारीदेखि शुरु भई शरणार्थी शिविर, शान्तिनगर, बहुवन, बेसीँबजार, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, नकलबन्दा, काँकरभिट्टा, इँटाभट्टा हुँदै ४० किलोमिटरको दूरी पार गरी पुनः धुलाबारीमा आएर प्रतियोगिता समापन भएको थियो ।